Logo
Logo

कमजोर सुरक्षा व्यवस्थाः दिनदहाडै हत्या हुन्छ, हत्यारा पक्राउ पर्दैनन्


- दृष्टि न्युज/संवाददाता


गुल्मी, ११ माघ । गुल्मीमा पछिल्लो समय आपराधिक गतिविधि बढ्दो छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेतापनि आपराधिक गतिविधि रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीका सबै स्थानीय तहमा आपराधिक घटना बढेको छ । हत्या जस्ता गम्भीर अपराधमा संलग्न पक्राउ नपर्दा गुल्मीको सुरक्षा व्यवस्था कमजोर हुँदै गएको छ ।

पछिल्लो समय भएका आपराधिक घटनाः
घटना १ : २०७७ भदौ ३ गते मुसिकोट नगरपालिका–२ का पाको उमेरका पुरुषले ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको उजुरी पर्यो । तर, अझै पक्राउ परेका छैनन् ।
टना २ : २०७७ असोज २० गते राती ईस्मा गाउँपालिका–३, घर्तीफाँटका २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या भयो । हत्यारा अझै पक्राउ परेका छैनन् ।
घटना ३ : २०७७ मंसिर १० गते रुरु गाउँपालिका–४ का एक व्यक्तिलाई बालिका बेचबिखको आरोप लाग्यो । तर, आरोपित अझै पक्राउ परेका छैनन् ।
घटना ४ : २०७७ पुस २४ गते ईस्मा गाउँपालिका–३ दर्लामचौरका १९ वर्षीय माधव पछाई निर्घात कुटिए । कुटपिटमा संलग्न पाँच जनामध्ये दुई जना पक्राउ परे पनि तीन जना अझै फरार छन् ।
घटना ४ : २०७७ माघ ३ गते रेसुङ्गा नगरपालिका–१४ पराल्मी रातामाटामा दिनदहाडै भरुवा बन्दुक प्रहार गरी ४७ वर्षीय तुलबहादुर विकको हत्या भयो । तर, हत्यारा अझै फरार छन् ।
घटना ५ : २०७७ पुस २३ गते चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाहको बाख्रा फर्ममा अज्ञात समूहद्वारा आगजनी भयो । संलगन अझै पत्ता लागेको छैन ।
घटना ६ : २०७७ पुस २७ गते मालिका गाउँपालिका–७ घमिरमा मुमानन्द लम्सालको केरा खेतीमा फँडानी भयो, पाइप र सिँचाइ सामग्रीमा क्षती पुग्यो । यस घटनामा संलगन पनि अझै पत्ता लागेको छैन ।

यस्ता दर्जनौ घटनाले गुल्मीको सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टि हुन्छ । विक र कुँवरका हत्यारा पत्ता नलाग्दा स्थानीयमा त्रास बढेको छ । यि बाहेक अरु पनि आपराधिक घटना भएका छन्, जसले समाजलाई नै त्रसित बनाएको छ । झारफुकको नाममा डामेर ईस्मा–३ का ६४ वर्षीय रामबहादुर मुखियाको हत्या भयो, २ जना घाइते भए । विपन्न मुखिया परिवार अहिले पनि शोकमा छ । हत्याराको अत्तोपत्तनै छैन ।

यसरी निरन्तर आपराधिक गतिविधि हुँदा पनि प्रहरीले अझै खास उपलब्धी हासिल गर्न सकेको छैन । घटनास्थल पायक पर्ने ठाउँमा नभएको र स्थानीयबाट समन्वय नहुँदा समस्या भएको भन्दै प्रहरी पन्छिदैछ ।

स्थानीय भन्छन्– ‘पछिल्लो समय हत्यासँगै अनौठो प्रकृतिका घटना बढेको छ । आरोपित गाउँमै खुलेआम डुलिरहेका छन् । तर, प्रहरीले पक्राउ गर्न सकेको छैन । अपराधि पक्राउ नपर्दा अपराधिको मनोबल बढेको छ । सुरक्षाखतरा बढ्दै गएको छ ।’

जिल्लामा अपराधका घटना दैनिक बढ्दै गएपछि नागरिक समाज र सरोकारवालाले जिल्लामा शान्ति सुरक्षाको माग गरेका छन् । पछिल्लो समय भएका घटना र प्रहरीले देखाएको उदासिनताप्रति आक्रोश व्यक्त हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्