Logo
Logo

पूर्वजनमुक्ति सेनालाई बालुवाटारमा रेडकार्पेट !


- मिलन लिम्बू


प्रधानमन्त्री केपी शर्मा ओली माओवादीप्रति कहिले पनि सकारात्मक बन्न सकेनन् । ‘जनयुद्ध’देखि नै उनी माओवादी जनयुद्धप्रति आक्रामक थिए । माओवादीको नेतृत्वमा १० वर्षसम्म जनयुद्ध भयो । वर्तमान राज्यव्यवस्था स्थापित गर्ने मुख्य घटनाक्रम ‘जनयुद्ध’ भनेर दुनियाँले स्वीकार गरे । तर, ओलीका लागि जनयुद्ध शब्द नै घृणित बन्यो । त्यतिबेला उनले जनयुद्धको विरोधमा दिएको अभिव्यक्ति सुन्दा पनि उनी क्रान्ति विरोधी तत्व हुन् भन्ने बुझिन्थ्यो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि माओवादी र जनयुद्धप्रति ओलीले बोली बन्द गरेका थिए । मनमा अनेक घृणा र तुषहरु भएपनि ओकल्न नमिल्ने, नसक्ने परिबन्ध थियो । पार्टी विभाजनपछि ओली झनै कडारूपमा माओवादीविरुद्ध खनिएला भन्ने आँकलन गरियो । तर, उल्टो भयो । ओली त माओवादीसँग माया–प्रेम पो गर्न थाले !

सबैभन्दा पहिले माओवादी र जनमुक्ति सेनाबारे ओलीको विषवमन स्मरण गरौं– ओलीको नजरमा माओवादी जंगली हुन्, बाँदर हुन्, हिंस्रक हुन्, हत्यारा हुन् । जनमुक्ति सेना ‘गुरिल्ला’ हुन् । यति धेरै घृणा गर्ने तिनै ओलीले पछिल्लो एक सार्वजनिक कार्यक्रममा पूर्वजनमुक्ति सेनाबारे ठूलै चिन्ता व्यक्त गरे । जनयुद्ध भन्नसमेत नसक्ने ओलीका लागि पूर्वजनमुक्ति सेना प्रिय लाग्न थालेपछि लोक चकित छ ।

अचम्मको कुरा त के भने पूर्वजनमुक्ति सेनाका कमाण्डरलाई सरकारी निवास वालुवाटारमै स्वागत गर्न नैतिकरूपमा ओली कसरी तयार भए होलान् ? कसरी भन्न सके होलान् ‘तपाइँहरु ढुक्क हुनुस्, जनयुद्धको अवधिमा तपाइँहरुले पुर्याउनु भएको योगदान र त्यागको सम्मान हुनेछ । हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौ । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’

प्रधानमन्त्री ओलीले त्यसो भनिरहँदा पूर्वजनमुक्ति सेनाका कमाण्डरको अनुहार कस्तो थियो होला ? चकित भएर गमे या आशावादी भए ? तीन छक्क पर्नु छ !

त्यसपछि माओवादीसँग प्रेम
वर्तमान राज्यव्यवस्था नै समाप्त पार्ने योजनासहित असंवैधानिक कदम चालेका ओलीविरुद्ध सिंगो जनता सडकमा खनिएका छन् । ओलीको असंवैधानिक कदमकै कारण इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको संघारमा हुँदा पूर्वमाओवादीसहित तत्कालिन नेकपा एमालेका ठूलो तप्का ओलीसँग रहन तयार भएनन् । तर, जनयुद्धका कमाण्डर रामबहादुर थापा ‘बादल’ ओलीसँगै रहन तयार भए । बादल ओलीसँगै रहने विषयले सबैलाई अचम्मित तुल्यायो । त्यसपछि ओली एकाएक माओवादी र जनयुद्धप्रति प्रेमिल बन्न पुगे !

ओलीको असंवैधानिक कदमको विपक्षमा रहेका मन्त्रीहरुले राजिनामा दिएपछि केही भगौडा र अवरवादी पूर्वमाओवादीलाई ओलीले भकाभक मन्त्री बनाए । पूर्वजनमुक्ति सेनालाई फकाउँनसम्म भ्याए । रमाइलो त यो पनि हो कि ओली पनि बेलाबखत ‘जनयुद्ध’ भन्न थालेका छन् !

प्रधानमन्त्री ओली ‘तिकडम’मा माहिर मानिन्छन् । छक्का–पन्जा गज्जब जान्ने नेता हुन । उनका केही गुण यस्ता छन्, जुन अरु नेतासँग छैन । एक महिना जति ‘हनुमान’ शैलीमा प्रसंसा गरे खाली बस्नु पर्दैन । कुनै न कुनै ठाउँमा ‘सेट’ गरिदिन्छन् । उनका लागि वर्षौ त्याग–तपस्या गर्नेभन्दा क्षणभर प्रसंसा गर्ने खास हुन्छन् । यसका अनेक उदारण छन् । लोकलाई छर्लङ्ग छ ।

प्रचण्डभन्दा ओली राम्रो भन्ने पूर्वजनमुक्ति सेनाका कुनै कमाण्डर निकट भविश्वयमै कुनै ठाउँको जागिरे भए भने अचम्म नमान्दा हुन्छ । ओलीको विशिष्ट गुण भनेको मानिसलाई ‘युज एण्ड थ्रो’ गर्नु नै हो ।

शान्ति प्रक्रियामा आएपछि माओवादीबाट केही गल्तीहरु भएका छन् । त्यही गल्तीका कारण जनयुद्धसँग जोडिएका धेरै मानिस असन्तुष्ट भए । माओवादी आन्दोलन र नेतृत्वप्रति बितृष्णा छायो । ‘आदेश देउ प्रचण्ड गोली खान तयार छु ।’ भन्नेहरु प्रचण्डसँग रुष्ट छन् । यो कार्यकर्ताको दोष नभइ नेतृत्वबाट भएको गल्तीको परिणाम हो । त्यही परिवेशलाई आफ्नो पक्षमा पार्न खोज्दैछन् ओली ।

जनमुक्ति सेनाप्रति ओलीले विगमा गरेका विषबमन कसरी बिर्सनु ? पछिल्लोपटक भने ओलीले एकाएक पूर्वजनमुक्ति सेनाका कमाण्डर कालिबहालुर खामको अवस्थाबारे गोहीको आँसु झारे । प्रचण्डलाई सोध्न भ्याए– कालिबहादुर खाम कहाँ छन् ? तिनको व्यवस्थापन गर्नु पर्दैन ? कुनै समय ओली नै हुन कालिबहादुर खामलाई हत्यारा साबित गर्न खोज्ने । बारम्बार बोलेका थिए, ति हत्यारालाई पक्राउ गर ।

जनयुद्धसँग जोडिएको मुद्धामा माओवादी नेता बालकृष्ण ढुङ्गेललाई जेलन हाल्नुपर्छ भनेर ओलीकै अगुवाईमा अभियान नै चलेको थियो । आज उनै बालकृष्णलाई बालुवाटारमा रातो कार्पेटमा स्वागत गर्न तयार हुने अचम्म हैन त ? तर, ओलीको यो नाटक कहिलेसम्म ?

माओवादी गल्तीको फाइदा उठाउन खोज्दै ओली
ओलीको असंवैधानिक कदमविरुद्ध नेकपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए– ‘ओलीले पूर्वजनमुक्ति सेनाको जिम्मा लिनु पर्दैन । जनयुद्धको कमाण्डरको हैसियतले मैले जिम्मा लिने हो ।’

प्रचण्डले पूर्वजनमुक्ति सेनाको कमाण्डरको हैसियतले जनयुद्धसँग जोडिएकाको जिम्मा लिने भने पनि विगत त्यस्तो छैन । शान्ति प्रक्रियामा आएपछि कार्यकर्ता व्यवस्थापनमा प्रचण्ड र समग्र नेतृत्वबाट भएको गम्भीर गल्ती आलै छ । जनयुद्धका जनमुक्ति सेनाहरु असन्तुष्ट हुनाको प्रमुख कारण राजनीतिक सम्झौताको नाममा ‘अयोग्य’को बिल्ला भिराएर पठाउनु प्रचण्डसहित समग्र नेतृत्वको गल्ती थियो । प्रचण्डकै भाषामा भन्ने हो भने आज त्यसैलाई माओवादी र माओवादी आन्दोलन सिध्याउने अस्त्रको रुपमा ओलीले प्रयोग गर्न खोज्दैछन् ।

‘जनयुक्ति सेनाको क्यान्टनमेन्टमा ठूलो भ्रष्टाचार भयो ।’ एक समय ओलीको सबैभन्दा मनपर्ने गीत थियो । दिनहुँजसो गाइरहे । ‘हेग’ पुर्याउँछु भनेर प्रचण्डलाई बारम्बार धम्काइरहे । माओवादी आन्दोलनका सयौँ नेता कार्यकर्तालाई जनयुद्धकालिन मुद्धा उठाएर जेल जाके ! माओवादी सिध्याउन अनेक अभियान चलाए । उनै ओली आज जनमुक्ति सेनाको किन प्रिय बन्न खोज्दैछन् ?

ओलीसँगै ‘सती’ जालान् बादल ?
असंवैधानिक कदमले ‘प्वाँख’ पलाएका ओली उड्न खोज्दैछन् । जनयुद्धका प्रिय कमाण्डर ‘बादल’ ओली उडानको बलियो सारथी बन्न पुगेका छन् । त्यसैलेको आडमा पूर्वजनमुक्ति सेनाका कमाण्डरलाई वालुवाटारमा स्वागत गर्न ओली तयार भएका हुन् । बादलको पछि लागेर कमाण्डरहरु लाइन लाग्छन् भन्ने ओलीले भ्रम पालेका छन् । बादलजस्तै यति ठूलो परिवर्तनका हिमायती कमाण्डहरु आफुसँगै ‘सती’ जान्छन् भन्ने ओलीको बुझाइ हुनसक्छ । लाग्दैन कि, कमाण्डरहरु जनयुद्धमा प्रचण्डको एक आदेशमा जस्तै ओलीको कदममा साथ दिन तयार हुन्छन् ।

बन्दुक मात्र होइन बिचारसहितका सेना भनेर कहलिएका कमाण्डरहरु नै हुन भने त्यति लाचार पक्कै हुँदैनन् । आँखै अगाडि ढलेका सयौँ योद्धाको रगतले लेखेको संविधान र संविधानमा सुरक्षित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै समाप्त पार्ने ओलीको कदममा कमाण्डरहरु पछि लाग्नेछन् भनेर कल्पना पनि गर्न सकिँदैन । यदि, बादल जस्तै ओलीसँगै ‘सती’ जान कोही कमाण्डर तयार भए तिनलाई भन्नु केही छैन । तर, एक आदेशमा मार्न र मर्न तयार भएर जनयुद्धमा संगै लडेका हजारौँ योद्धाले किन मतियार भयौँ ? भनेर प्रश्न गर्दा ति कमाण्डरसँग जवाफ हुने छैन ।

दुई–चार कमाण्डर ओलीको ‘सम्मोहन’मा पर्नुले वर्तमान राजनीतिक संकटमा तात्विक फरक त पर्दैन । ओलीकै भाषामा भन्ने हो भने एक–दुई फर्सी कुहिँदैमा बोटै मर्दैन । पूर्वजनमुक्ति सेनाका कमाण्डरलाई आफ्नो पक्षमा देखाएर जनयुद्धका कमाण्डर प्रचण्ड र उनका अहिलेका सारथी माधवकुमार नेपाललाई ‘इमोसनल थ्रेट’ गर्न खोज्दैछन् । जुन प्रभावहिन अस्त्र मात्र हो ।

युद्धको समयमा सेनाको महत्वपूर्ण भूमिका हुन्छ । ओलीको ‘रेड कार्पेट’ स्वागतमा परेका पूर्वजनमुक्ति सेनाका कमाण्डरले पनि जनयुद्धमा कुनै न कुनै रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन । तर, शान्तिपूर्ण राजनीतिमा जनमुक्ति सेनाको भूमिका क्यान्टनमेन्टमा सिमित भयो । धेरै त सेना समायोजनमार्फत नेपाली सेनाको रुपमा जिम्मेवारी निर्वाह गर्दैछन् । बाँकी रहेका केहीलाई भेला पारेर पूर्वमाओवादीको ठूलो तप्का ओली पक्षमा छन् भनेर प्रचार गर्नु ‘मूतको न्यानो’मात्र हो । अलि पछि चिसै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्