Logo
Logo

नेपाली भूमिमा रहेको तालमा भारतको दाबी, सरकार मौन


- दृष्टि न्युज/संवाददाता


कञ्चनपुर, १४ माघ । नेपाली भूमि अतिक्रमण गर्न भारतले छाडेको छैन । अझ नेपालको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै भारतले तालमा पनि कब्जा गर्ने नियत देखाएको छ ।

कञ्चनपुरको पुर्नवास नगरपालिकामा पर्ने प्याराताललाई भारतले आफ्नो भन्दै लामो समयदेखि विवाद गरेपनि नेपाली पक्ष भने मौन रहेको छ । तत्कालिन जिल्ला विकास समिति कञ्चनपुरले विक्रम संवत् २०२२ सालदेखि माछा मार्न ठेक्का दिंदै आएको थियो । तर, भारतले आफ्नो भन्दै दाबी छाडेको छैन । तर, नेपाल सरकार मौन बसेको छ ।

विक्रम संवत् २०६१/६२ मा आएको नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले प्याराताल भारततिर पार्ने गरी सीमास्तम्भ गाडेको स्थानीयको भनाइ छ । झण्डै चार दशकदेखि प्यारातालको विषयमा नेपाल–भारतबीच देखिएको विवाद सुल्झिने कुनै सुरसार देखिएको छ । प्यारातालमा २०३५ सालयता भारतीय पक्षले पनि उक्त तालमा आफ्नो पनि दाबी गर्दै विवाद गरिरहेको छ ।

पुर्नवास नगरपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जैसीले तीन वर्षयता पुर्नवास नगरपालिकाले प्यारातालमा माछा मार्ने ठेक्का दिँदै आएको बताए । नेपाली सीमास्तम्भ भित्रै पर्ने सो तालमा भारतले आधा आफ्नो भएको दाबी गर्दै आएको छ । वडाध्यक्ष जैसीले भने, ‘नगरपालिकाले ठेक्का दिए पनि भारतीय पक्षले त्यति सहजै माछा मार्न भने दिएको छैन ।’

तालसँगै छेउमा रहेको भारतीय दुधुवा नेशनल पार्कका वन्यजन्तुको पानीको प्यास मेटाउने एक मात्र ठाउँ प्याराताल हो । त्यसैको प्रयोजनका लागि भारतीय पक्षले नेपाली तालमा आँखा गाडेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार २०६१ सालदेखि नेपाली भूमिमै भारतले सीमा स्तम्भ गाडेर आफ्नो भूमि बन्दै नेपाली भूमि कब्जा गरेको थियो ।

स्थानीय सीमा रक्षकहरुले सो ठाउँबाट भारतीय एसएसबीलाई लखेटेका थिए । सो घटनापछि भारतले तालबारी आएर विवाद भने गर्न सकेको छैन । तर, ताल आफ्नो भएकाले माछा मार्न पाइदैन भन्दै विवाद गर्न छाडेको छैन । त्यही भूमिमा कच्ची सडक बनाउन वडाले अढाइ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

स्थानीयका अनुसार तालभन्दा करीब ५०० मिटर दक्षिणसम्म नेपाली भूमि रहेपनि भारतीय पक्षले त्यहाँ आवागमन गर्न रोक लगाएको छ । करीब तीन किलोमिटर लम्बाइमा प्याराताल फैलिएको छ । माछाको ठेक्का पाएका स्थानीयले भने माछा मारेर ५० प्रतिशत भारतीय पक्षलाई दिनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

पर्यटकीय र जलाधार क्षेत्रको महत्वपूर्ण सम्भावना बोकेको यस ताल पछिल्लो समय स्थानीय निकायले संरक्षणमा ध्यान नदिएको स्थानीयवासीको भनाइ छ ।

ताल छेउमै पर्यटन बोर्डको सहयोगमा वनभोज स्थल बनाइएको छ । प्याराताल क्षेत्रको पारी (दशगजा) क्षेत्रमा पर्ने साविक सीमास्तम्भ नं १९५ अझै तालभन्दा वर जङ्गलमै मर्मतसम्भारका लागि भनेर राखिएको छ । अर्को १९६ नम्बरको सीमास्तम्भ लामो समयदेखि हराएको छ ।

पुर्नबास नगरपालिकामै पर्ने आनन्द बजारमा सीमास्तम्भ नम्बर २०० छैन । भारतले सो क्षेत्रमा एउटा रुखलाई सीमास्तम्भ मानी त्यसैलाई दाबी गर्दै आइरहेको छ ।

सोही रुख नजिकै गत वर्ष कल्भर्ट बनाउने विषयमा भारतीय सुरक्षाकर्मीको गोली चलाउँदा पुनर्वासका गोविन्द गौतमले शहादत प्राप्त गरेका थिए । सीमास्तम्भ १९६ देखि सीमास्तम्भ नं २०० सम्म नेपाल–भारतबीच लामो समयदेखि सीमा विवाद हुने गरेको छ ।

पुर्नवास नगरपालिकाका प्रमुख जीवनराम थापाले प्यारातालको विवाद सुल्झाउन केन्द्रमा पटकपटक ज्ञापनपत्रसहित आग्रह गर्दा पनि केही पहल नभएको बताए । आफ्नो भूमि फिर्ता ल्याउन काठमाडौंमा प्रयास गर्दापनि संघीय सरकारले नसुनेको स्थानीयपालिकाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्