Logo
Logo

एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठकमा माधव पक्ष सहभागी नहुने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले शनिबारको केन्द्रीय कमिटी र संसदीय दलका दुवै बैठक बहिस्कार गर्ने भएको छ । शुक्रबार बानेश्वरमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले दुवै बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरेको भन्दै नेपाल पक्षले उक्त दिनको निर्णय खारेज नभएसम्म ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय भएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले बताएका छन्।

यस्तै, विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको माधव–झलनाथ पक्षको आरोप छ ।

ओलीले शनिबार बिहान साढे १० बजे संसदीय दलको बैठक राखेका छन् भने त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्ने तय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्