Logo
Logo

ओलीको तानाशाही प्रवृत्ति एमाले विभाजनको कारण


युग पाठक, राजनीतिक विश्लेषक


काठमाडौं । एमाले विभाजनलाई केपी ओली र माधव नेपालबीच उत्पन्न टकरावको परिणाम मात्रै भन्न उपयुक्त नहोला । मतभेदहरूले पार्टीहरूमा किचलो हुनु स्वभाविक हो । तर, विभाजन नै हुने परिस्थिति असामान्य भन्नु पर्छ । त्यसो भए एमाले विभाजनमा सैद्धान्तिक वैचारिक आधार होला ? यसै विषयमा राजनीतिक विश्लेषक युग पाठकसँग दृष्टिन्यूजका सन्तोष साहले गरेको ‘सटीक संवाद’ प्रस्तुत छ ।

एमाले विभाजनको कारण के होला ?

जब विचारको ठूलो खाडल बन्छ तब एउटै पार्टीका नेता ध्रुवीकृत हुन्छन् । केपी शर्मा ओलीको नेतृत्वमा प्रतिगमनको एउटा ठूलो खेल खेल्न खोजिएको थियो । ओलीले सोही योजनामा पार्टीभित्र जबरजस्त ढंगले प्रतिगमन लागू गराउन अभ्यास गरे । पार्टीभित्र आफूलाई सर्वशक्तिमान बनाउँदै प्रतिगमनलाई सुगठित ढंगले अगाडि बढाउन कोसिस गरेका थिए । अहिले पनि गरिरहेका छन् ।

सोही विन्दुबाट एमाले विभाजनको यात्रा प्रारम्भ भयो । अग्रगमन र प्रतिगमनको रूपमा एमाले ध्रुवीकृत भयो । २०६२/२०६३ को जनआन्दोलन, अन्तरिम संविधान, नयाँ संविधान निर्माण र कार्यान्वयनको प्रक्रियाबाट पछि हट्न नचाहने शक्ति प्रतिगमनविरुद्ध उभियो । अहिले प्रतिगमन नचाहने तप्का एमालेबाट बाहिरिएर अर्को धार निर्माणमा लागेको हो । ओलीले प्रतिगमनकारी विचार पार्टीभित्र जति जबरजस्त ढंगले लागू गर्दै जान्छन् त्यति नै जबरजस्त ढंगले थप फुट हुँदै जाने सम्भावना छ । त्यही वैचारिक टकरावले नै एमाले विभाजन भएको हो ।

एमाले विभाजनले कम्युनिष्ट आन्दोलनमा कस्तो प्रभाव पर्छ ?

सात दशककोे कम्युनिष्ट आन्दोलन स्वयम् कुन प्रकारको कम्युनिष्ट आन्दोलन हुन पुग्यो र पछिल्लो समयमा यो कहाँ छ ? भनेर हेर्नुपर्ने हुन्छ । कम्युनिष्ट पार्टीहरूको आन्दोलनको रूपमा जहाँ आइपुगेको छ, त्यसलाई एक ठाउँमा राखेर हेर्ने हो भने त्यो एउटा संयुक्त कम्युनिष्ट आन्दोलनको रूपमा विकसित गर्ने कोसिस नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण गर्दा भएको थियो । तर, नेकपा खोरज हुँदा एमाले र माओवादीको रूपमा विभाजन भयो । अहिले एमालेभित्र पनि विभाजन भएकाले स्वभाविक रूपमा मुलधारको कम्युनिष्ट आन्दोलन कमजोर हुने नै भयो । कमजोर हुने क्रम अझै जारी रहने देखिन्छ ।

एमाले विभाजनको मुख्य कारक को हो ?

केपी ओली स्वयम् हुन् । व्यक्तिगत रूपमा भन्नुहुन्छ भने केपी ओली नै हुन् । प्रवृतिको रूपमा ओलीको तानाशाही प्रवृत्ति नै हो । उनी सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गरेर आफूलाई सर्वशक्तिमान नेताको रूपमा उभ्याउन चाहन्छन् । त्यसकारण उनको तानाशाही प्रवृत्ति यसको प्रमुख कारण हो ।

व्यक्तिगत रूपमा भन्दा एमाले विभाजनका कारक केपी ओली हुन् । वैचारिक रूपमा भन्ने हो भने ओलीको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता विरोधी विचार नै विभाजनको मुख्य कारण हो ।

वैचारिक रूपमा भन्ने हो भने ओलीको संघीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षता विरोधी र समावेशीता विरोधी विचार एमाले विभाजनको कारक तत्व हो । समाज कस्तो हुन्छ भने समान्यतया एउटा वैचारिक बाटो निर्माण गरेर त्यो वैचारिक अन्र्तगतको राजनीतिक व्यवहार, शासन पद्धति निर्माण गर्दै अगाडि बढ्छ ।

जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन, मधेस विद्रोह, जनजाति आन्दोलन, थारु आन्दोलन, दलित आन्दोलन, महिला आन्दोलन लगायतको जगमा नयाँ संविधान निर्माण भएको हो । संविधान अपूरो छ, अधुरो छ र कयौं प्रशंगमा खोट रहेता पनि त्यो संविधानले मुलभूत दार्शनिक विचार दिएर हिँडेको छ, त्यसको विरुद्ध ओली उभिएका छन् । ओलीले बोक्ने जुन विचार हो त्यसलाई हामीले एक शब्दमा ‘प्रतिगमन’ भनेका हौं, भन्छौं ।

त्यो विचारले धर्मनिरपेक्षताको ठाउँमा पुरानै पहाडी हिन्दु वर्चस्व स्थापना गर्ने, गणतन्त्रको ठाउँमा कुनै न कुनै रूपको राजतन्त्रको चरित्र बोकेको राज्यसत्ताको परिकल्पना गर्ने र समानुपातिक समावेशी प्रतिनिधित्व समाप्त पार्दै निश्चित कुनै जाति वर्गको मात्र आदिपत्य कायम गर्छ ।

समावेशीकरणको माध्यमबाट आदिवासी जनजाति, मधेसी, थारु, महिला, दलित लगायत उत्पीडित वर्गलाई राज्यको मुलप्रवाहमा पु¥याउने संविधान र समाजको परिकल्पनाविरुद्ध विभिन्न ढंगले भ्रष्टिकरण गर्दै, अपराधिकरण गर्दै त्यसको विरुद्धमा धु्रवीकरण गर्न खोज्दैछन्, ओली । त्यही प्रसंगमा ओली संघीयता विरोधी हुन् ।

ओलीको प्रतिगमनकारी विचार महेन्द्रीय राष्ट्रवाद, महेन्द्रीय नश्लवादको निरन्तरता हो । उनी समाजलाई त्यही फर्काउन खोजिरहेका छन् । देशलाई पश्चगमनतिर लैजान खोजिरहेका छन् । तर, एमालेको एक तप्का त्यसका लागि तयार हुन सकेन । अग्रगमन र प्रश्चगमनको रूपमा एमाले ध्रुबीकृत भयो । एमाले विभाजनको मुल वैचारिक कारण चाहिँ यही हो ।

एमाले विभाजनलाई कसरी लिने ?

पार्टी विभाजनको इतिहास कम्युनिष्ट पार्टीमा मात्रै छैन । सबै पार्टी कुनै न कुनै कालखण्डमा विभाजन भएका छन् । पार्टीमा मात्रै नभइ विभिन्न संस्थाहरूमा पनि टुटफुट हुने गर्छ । टुटफुटमा मुख्यतः वैैचारिक कुरा नमिलेपछि हुने हो । टुटफुट हुँदै आउने कुरा समाजको एउटा आम चरित्रसँग पनि मिल्ने हुन्छ ।

अर्को कुरा के हो भने, समाजलाई क्रान्तिकारी रूपान्तरणतर्फ अगाडि लैजाने र त्यो रूपान्तरणलाई विभिन्न स्वरूप र परिस्थिति अनुकुल विभिन्न लक्षणसहित नेतृत्व गर्दै लैजानुपर्नेमा एक प्रकारको क्रान्तिकारी गति सृजना गरेर आयो भने बिचमा आइपुगेपछि, बाटो परिवर्तन गरेपछि, अलमलिने र त्यो लडाइँलाई नयाँ ढंगले क्रान्तिकारी परिवर्तनका लागि संरक्षित गर्दै लैजानुपर्नेमा भुत्ते भएर बस्ने खालको चरित्र सबै पार्टीहरूमा छ ।

कम्युनिष्ट पार्टीमा पनि यो चरित्र छ । कम्युनिष्ट पार्टी जुन वैचारिक धारातलमा उभिन्छ, त्यो धारातलले एउटा प्रकारको नयाँ समाजको परिकल्पना गरेको हुन्छ । समाजलाई एउटा नयाँ ढंगले रूपान्तरण गर्ने एक्सन त्यसले माग गर्छ ।

तर, त्यो एक्सनमा कमजोर हुने र त्यो परिकल्पनाका निमित्त निरन्तर काम गरिराख्ने उत्साहमा कमी आउने, कुनै आन्दोलन वा विद्रोहमा रहँदासम्म त्यसका निमित्त रचनात्मक पनि हुने, बलिदानी पनि हुने तर जब आन्दोलन सकिएर अर्को रूप लिन्छ त्यति बेला अर्को तरिकाको आन्दोलन हुन्छ । नेतृत्वले त्यो बुझ्न सकेका छैनन् ।

आन्दोलन भनेको हामीले आँखा आगाडि देख्ने जुलुस वा सशस्त्र विद्रोह मात्रै हुँदैन । समाज परिवर्तनको निरन्तर गतिमा पनि अर्को रूपमा आन्दोलन हुन्छ । वैचारिक होला तर आन्दोलन त जारी नै रहन्छ । त्यो जारी राख्नुपर्ने कुरा चाहिँ जमेको पोखरी जस्तो हुने परिस्थिति आउँछ । त्यसपछि पार्टीहरू फुट्ने क्रम सुरु हुन्छ । कम्युनिष्ट पार्टीहरूले त्यही नियति भोगेका हुन् ।

कम्युनिष्ट शक्तिहरूबीच तत्काल एकता सम्भव छ ?

विचारको कुरा हो । विचार मिल्ने पार्टीहरू एकआपसमा मिल्ने हो । ठिकठिकै विचार मिल्ने तर सम्पूर्ण विचार नमिल्नेहरू चाहिँ चुनावमा कार्यगत एकता गर्छन् । अब सम्भावनाको कुरा गर्दा फुट्ने सम्भावना सधैं हुन्छ । जुट्ने सम्भावना पनि सधैं हुन्छ । पछिल्लो इतिहास हेर्दा फुट्ने र जुट्ने दवैै सम्भावना प्रवल देखिन्छ ।

अहिले पनि विभिन्न चिरामा विभाजित कम्युनिष्ट पार्टीहरू चुनावमा कार्यगत एकता गर्लान् । कुनै पार्टी चाहिँ मिलेर, एकीकरण गरेरै अगाडि बढ्न सक्छन् । अहिले पनि सम्भावना त्यस्तै देखिन्छ । अहिले चाहिँ माओवादी र माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी मिल्ने सम्भावना देखिन्छ । अरु साना कम्युनिष्ट पार्टी पनि त्यो धारमा मिलेर जाऔं भन्ने पक्षमा देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्