एमाले विग्रहको प्रस्थानविन्दु « Drishti News – Nepalese News Portal
Logo

एमाले विग्रहको प्रस्थानविन्दु


शम्भु श्रेष्ठ


विश्वका कतिपय देशहरुले लोकतन्त्रको माध्यमबाट आर्थिक समृद्धि हासिल गरेर सुखी र समृद्ध जीवन बिताइरहेका छन् । त्यसको एउटै कारण हो, राजनीतिक स्थिरता र सुशासन ।

नेपालमा पनि राजनीतिक स्थिरताबिना आर्थिक समृद्धि हासिल गर्न सकिन्न भन्ने मानसिकताले नेपालको संविधान २०७२ मा संसद् विघटनको कल्पना गरिएको छैन । तर, उल्टै दुईतिहाइको नेकपाको सरकारले दुई–दुई पटक संसद् भंग गर्यो । यो कदम असंवैधानिक छ भनेर सर्वोच्च अदालतबाट दुईपटक संसद् पुनःस्थापना भयो । त्यसपछि पनि राजनीतिले सोझो बाटो समाएन ।

सत्तारुढ नेकपा एमालेभित्रको विवाद सतहमा आयो । एमाले अध्यक्षका हैसियतले आफ्नो पार्टीभित्रका असन्तुष्ट नेताहरुलाई समेट्नु पर्नेमा उल्टै भड्काउने काम गरे । जसबाट ओली सत्ता बहिर्गमनमा परे । २०७४ फागुन ३ गते माओवादीको समर्थनमा प्रधानमन्त्री भएका ओलीले माओवादीबिना सरकार चलाउने सोच राखे र जनता समाजवादी टुक्र्याउन विधेयक ल्याए । वास्तवमा यो असंवैधानिक कदम थियो ।

दुईतिहाइको सरकार संविधान बमोजिम हिँडेको भए ओली बहिर्गमनमा पर्ने थिएनन् । तर, उनले आफू संविधान अनुकूल होइन, आफू अनुकूल संविधानलाई हिँडाउन खोज्दा देशको राजनीति भद्रगोल भयो ।

नेकपा एमाले पार्टी अमूक नेताले एकै रातमा बनाएको होइन, यसका पछाडि सात दशक पुरानो इतिहास जोडिएको छ । नेकपा एमाले सशक्त पार्टी बनेकोले नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव भएको हो । अब त्यो पार्टी नै छिन्नभिन्न भएपछि कम्युनिष्ट आन्दोलन कमजोर बनेको छ ।

विश्वका जति पनि लोकतान्त्रिक देशहरु छन्, ती सबै देशहरु संविधानअनुसार चलेकोले खासै समस्या छैन । जुनसुकै पार्टीको सरकार बने पनि ती देशका सरकारले देश र जनतालाई शिरमा राखेर काम गरे । फलस्वरुप, हाम्रै छिमेकी देश चीन र भारतले ७० वर्षमा आर्थिक समृद्धि हासिल गर्यो । अझ चीनको आर्थिक विकासले कम्युनिज्मको माध्यमबाट पनि आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण विश्वलाई देखाइदियो ।

यसबाट के देखिन्छ भने राजनीति विचारधारा जे सुकै भए पनि अन्तिम गोल भनेको आर्थिक समृद्धि नै हो । हामीले पनि ००७ सालदेखि अहिलेसम्म जे जति राजनीतिक परिवर्तन गर्यौं, त्यसको अन्तिम लक्ष्य आर्थिक समृद्धि नै हो । तर, हामीसँगसँगै राजनीतिक परिवर्तन भएका मुलुकहरु आज विश्वकै धनी देशमा दर्ज हुँदै गर्दा हामी भने गरिबीको रेखामुनि बाँच्न बाध्य छौँ । त्यसको उत्तर राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार, मनपरीतन्त्र र हाम्रा नेताहरुको व्यक्तिगत स्वार्थ नै प्रमुख कारण हो ।

नेपालमा राजनीतिक क्रान्तिद्वारा आर्थिक समृद्धि हासिल गर्ने भनेर थुप्रै पार्टीहरु खुलेका छन् । तीमध्ये प्रमुख पार्टी नेपाली काँग्रेस र नेकपा एमाले हुन् । जो ०४८ सालपछि निरन्तर सत्तामा छ । तिनीहरु असफल भएकै कारण मुलुकले यो दुर्गति भोग्नुपर्योे । कम्युनिष्ट पार्टी सत्तामा पुगेपछि उसले आफ्नो सिद्धान्त, विचार र आदर्श बिर्सियो । नेपाली काँग्रेस असफल हुनुको पछाडि पनि विचार शून्यता नै हो ।

लोकतन्त्र र संविधान रक्षाका लागि अहिले यी दुई पार्टी एक ठाउँ उभिएका छन् । सरकारको नेतृत्व नेपाली काँग्रेसले गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभाजनको संघारमा छ ।

राजनीतिक दलका नेताहरुको स्वार्थका लागि गरिने यस्ता क्रियाकलापले सरकारलाई क्षणिक लाभ त होला, अन्ततः त्यसले राजनीतिक अस्थिरता निम्त्याएर लोकतान्त्रिक प्रणाली नै भत्काउने खतरा पनि छ । किनभने, नेकपा एमाले पार्टी अमूक नेताले एकै रातमा बनाएको होइन, यसका पछाडि सात दशक पुरानो इतिहास जोडिएको छ ।

नेकपा एमाले सशक्त पार्टी बनेकोले नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव भएको हो । अब त्यो पार्टी नै छिन्नभिन्न भएपछि कम्युनिष्ट आन्दोलन कमजोर बनेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन कम्युनिष्टहरुले बलिदानी दिएका छन् । जनताका बलिदानीबाट प्राप्त संविधानको रक्षा गर्न पनि कम्युनिष्ट पार्टी बलियो हुनुपर्छ ।

आफ्नो घरको आगो निभाउन छाडेर अर्काको घरमा आगो झोस्न हिँडेका ओलीहरुको हालत के भयो, सबैले देखेका छन् । अहिलेका राजनीतिक विग्रहको प्रस्थानविन्दु २०७७ वैशाख ८ गतेको घटना नै हो । आफूसँग करिब दुईतिहाइ मत हुँदाहुँदै अर्काको पार्टी फोड्ने नाममा अध्यादेश जारी गर्ने र दुई÷दुई पटक संसद् भंग गर्ने कामलाई कसैले ठिक भन्न सक्दैन ।

एउटा कमजोरी छोप्न अर्को कमजोरी दोहोर्याउँदै गर्दा ओली भड्खालोमा जाकिएका छन् । ७० वर्षको कम्युनिष्ट इतिहासमा नेकपा एमाले अहिलेजस्तो कमजोर कहिले पनि बनेको थिएन । अब एमालेलाई पुनःजीवन दिन माधवकुमार नेपालहरुको प्रतिगमनविरोधी पार्टी सशक्तरुपमा अगाडि बढ्नुपर्छ । जनताको आशा पनि यही नै हो ।

प्रतिक्रिया दिनुहोस्