Logo
Logo

ओली उन्मादमा एमाले विघटन हुने खतरा



भनिन्छ– कम्युनिष्ट पार्टीमा फलामे अनुशासन हुन्छ । अर्थात्, कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता अनुशासनहीन हुँदैनन्, हुनुहुँदैन । तर, परिस्थिति त्यस्तो छैन । आचरणगत दृष्टिकोणमा कम्युनिष्टहरु विचलित छन् । अराजक छन् । कम्युनिष्ट पार्टीहरुमा अनुशासन गौण बनेको छ ।

अनुशासनहीन गतिविधिले प्रसय पाएको छ । त्यसको पछिल्लो उद्दाहरण नेकपा एमाले बनेको छ । जननेता मदन भण्डारी, मनमोहन अधिकारी र माधवकुमार नेपाल नेतृत्वमा हुँदासम्म फलामे अनुशासनमा बाँधिएको एमाले अहिले असनको साँढेजस्तो बनेको छ ।

एक समय थियो, कांग्रेसका नेताहरुले पनि आफ्ना कार्यकर्तालाई राजनीतिक आचरण एमालेबाट सिक्नु, संगठनात्मक अभ्यास एमालेको अनुसरण गर्नु, भन्थे । अवस्था त्यस्तै थियो । एमालेका नेता कार्यकर्ता कम्युनिष्ट आदर्शमा इमानदार थिए । उनीहरुको संगठनात्मक संरचना बलियो थियो । एमालेको व्यवस्थित र चुस्त संगठनात्मक संरचना नेपाली राजनीतिमा अनुशरणयोग्य थियो । तर, आज ? एमालेजस्तो अराजक, विधि पद्धतिविहीन पार्टी अरु छैन ।

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक पंक्तिमा पुग्दा एमालेका मदन भण्डारीले कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाए । कम्युनिष्ट आदर्श र मुल्यमान्यतामा रहँदा एमाले देशकै ठूलो कम्युनिष्ट शक्तिको रुपमा स्थापित पनि भयो । तर, जुन दिनदेखि एमालेमा केपी शर्मा ओलीको उदय भयो त्यो दिनदेखि एमालेको चम्किलो सूर्यमा ग्रहण लाग्यो ।

इमान्दार, त्यागी नेता कार्यकर्ता त्यो पार्टीमा अटाउन सकेनन् । एमालेमा ‘डनवाद’ र ‘धनवाद’ हाबी भयो । सिद्धान्तविहीन, बिचौलिया, जग्गा दलाल, म्यानपावर दलालको एमालेमा हालीमुहाली बढ्यो ।

२०६४ सालको निर्वाचनमा हार व्यहोरोपछि तत्कालीन नेतृत्व माधवकुमार नेपालले हारको जिम्मा लिँदै उच्च नैतिकता प्रस्तुत गरी राजीनामा दिएर उच्च कम्युनिष्ट आदर्शमा आफूलाई उभ्याए । कम्युनिष्ट आन्दोलनमा नेपालको राजीनामा स्वर्ण अक्षरले लेखिनेछ । किनभने, अन्य कुनै पार्टीले चुनावको हार स्वीकार गरेर राजीनामा दिएको उदाहरण छैन ।

त्यही पार्टीमा ओलीको उदयपछि एमालेमा आन्तरिक लोकतन्त्र नै खतरामा पर्यो । उनले पार्टीलाई व्यक्तिगत निर्णयबाट संचालन गर्न थाले । एमालेलाई सामूहिक निर्णयबाट बञ्चित गराए । आज एमाले विभाजनको विन्दुसम्म पुग्नुको कारण यो नै हो ।

ओली शक्तिमा आएपछि फरक मत राख्नेलाई छानीछानी कारवाही गरे । जिम्मेवारीविहीन बनाए । गुलामी गर्नेलाई पार्टी र सरकार दुवैमा बारम्बार अवसर दिए । ‘ओली बा जिन्दावाद’ भन्नेहरु एमालेमा महान भए । फरकमत राख्नेहरु सधै किनारामै थन्किए । सयौं सच्चा र इमानदार कार्यकर्तामा चरम निराशा छायो । यसरी एमाले पार्टीबाट पाटीमा परिणत भयो ।

एमालेमा आवधिक निर्वाचनको महत्व हरायो । ओलीले आफ्ना पक्षका नेता कार्यकतालाई तोक आदेशकै भरमा जिम्मेवारी दिँदै गए । सर्वोच्च निकाय महाधिवशेनबाट निर्वाचित नेता कार्यकताको जिम्मेवारी एकपछि अर्को गर्दै खोसिदै गयो ।

पार्टीका लागि त्याग र तपस्या गर्नेहरु किनारा लाग्दै गए । आज एमालेमा कोही छन् भने, ओलीलाई महाराज मान्नेहरु मात्र बाँकी छन् । विचार, सिद्धान्त र विधि विधानको कुरा गर्नेहरु ओलीका लागि ‘पिलो’ सरह भए । त्यसैले उनी आफैँ बेला–बेला पिलो निचोर्ने कुरा गर्नछन् ।

मदन भण्डारीकृत ‘जनताको बहुदलीय जनवाद’ (जबज) नेकपा एमालेको तत्कालीन कार्यक्रम हो । तर, ओलीबाट बारम्बार ‘जबज’ विरुद्धका गतिविधि हुँदै आएका छन् । मदन भण्डारी फाउण्डेशनको नाममा देशभर ओलीले नै गुट चलाएका छन् ।

तिनै गुट एमाले विभाजन गर्ने अस्त्रको रुपमा ओलीले प्रयोग गरेका छन् । त्यसैले त आज एमालेभित्र र एमाले बाहिर पनि ‘जबज’बारे थप व्याख्या आवश्यक छ भन्न थालिएको छ । अर्थात्, यसको अर्थ ओलीबाट ‘जबज’को दुरुपयोग भयो भन्ने नै हो ।

ओली उन्मादको क्षति एमालेले मात्र व्यहोर्नु परेको छैन । सिङ्गो कम्युनिष्ट आन्दोलन ओली आडम्बरको सिकार भयो । ऐतिहासिक एकताको आधारमा बनेको अभूतपूर्व कम्युनिष्ट शक्ति क्षणभरमै सखाप भयो । दुर्लभ संयोग मानिएको दुईतिहाइ बहुमतको सरकार ओलीकै कारण गैरकम्युनिष्टको हातमा पुग्यो । अन्ततः ओलीकै कारण लाखौ नेता कार्यकताले स्थापित गरेको पार्टी नेकपा एमाले विभाजन भयो । कम्युनिष्ट आन्दोलनलाई यो भन्दा ठूलो क्षति केही हुनसक्दैन ।

ओली अराजकता अन्त्य गर्दै ऐतिहासिक उपलब्धिहरु रक्षा गर्ने प्रयास नभएको होइन । नेकपा जोगाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालहरुले अन्तिमसम्म बल गरेकै थिए । नेकपा हुँदा अल्पमत सामना गर्नुको साटो ओलीले व्यवस्था माथि नै धावा बोले । नेकपा नै खारेज गराए । अन्तत एमाले र माओवादीलाई पुरानै अवस्थामा पुर्याए । त्यसपछि पनि ओलीको विसर्जनवादी यात्रा रोकिएन ।

एमाले व्युँतिएपछि ओली झनै उग्र रुपमा प्रस्तुत भए । एमाले जोगाउन त्यहाँ पनि माधव र झलनाथहरुले अनेक प्रयास गरे तर ओली रोकिएनन् ।
एमाले एकता कायम राख्न १० बुँदे प्रस्ताव बन्यो । त्यसमा पनि ओली सहमत भएनन् ।

१० बुँदे प्रस्तावलाई आधार मानेर अघि बढ्दा आफ्ना सम्पूर्ण गल्तिहरुबारे समीक्षा गर्नुपर्ने कुरा बुझेका ओलीलाई १० बुँदे घातक थियो । तर, ओलीले इमानदारपूर्वक १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने इच्छा मात्र देखाएको भए आज एमाले विभाजन हुने थिएन ।

आज पनि एमालेमा एक तप्का १० बुँदेकै रटानमा छन् । अन्तिम समयमा माधव नेपाललाई धोका दिएर ओलीलाई साथ दिन पुगेका आफूलाई ‘तेस्रो धार’ भन्ने नेताहरु १० बुँदे कार्यान्वयन गर्नुपर्छ भन्दैछन् । तर, ओली १० बुँदे कार्यान्वयनका लागि कुनै पनि हालतमा तयार छैनन् ।

उनले भनिसकेका छन्– ‘१० बुँदे कार्यान्वयन हुँदैन ।’ यसले के स्पष्ट पार्छ भने, ओली अझै पनि पार्टीलाई मजबुत बनाउनु पर्छ भन्ने पक्षमा छैनन् । अहिलेकै अवस्था हेर्ने हो भने एमाले निकट भविष्यमा अर्को विभाजन सामना गर्न तयार हुनुपर्ने छ ।

भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकमा तेस्रो धारका नेताले १० बुँदे प्रस्ताव कार्यान्वयन गर्दै पार्टीका मतभेदहरु अन्त्य गरौं भनेका थिए । तर, ओलीले १० बुँदे सुन्न नै चाहेनन् । एमालेमा रहने निर्णयको आधार १० बुँदेबारे छलफल नै नहुने भएपछि भीम रावलहरुले बैठक नै बहिस्कार गरे । त्यसपछि ओलीले झारो टार्न ‘स्थायी कमिटीमा १० बुँदेबारे छलफल गरौंला’ भनेका छन् । त्यहाँ पनि ओलीले भन्ने ‘१० बुँदे कार्यान्वयन गर्न सक्किन’ नै हो ।

छलफल, बहस जीवन्त पार्टीको मेरुदण्ड हो । तर, एमालेमा छलफल बहस हुन छोड्यो । ओलीलाई मन लागेको विषय मात्र बैठकको एजेण्डा बन्छ । माधव नेपाल पार्टीमै रहँदा शक्तिशाली गर्जनसहित फरक मत राख्ने घनश्यामहरुको वैचारिक नेतृत्वको रुपमा ठूलो महत्व थियो । तर, आज घनश्यामहरु भुत्ते भएका छन् ।

अर्थहीन भएका छन् । केन्द्रीय कमिटी बैठकमा उपमहासचिव भुसालले तीन बुँदे फरक मत राखेका छन् । तर, भुसाालको त्यो फरक मत ओलीले रद्दीको टोकरीमा फालिसकेका छन् । आगामी विधान महाधिवेशनमा आफ्नो फरकमतबारे बसह होला भन्ने धनश्यामहरुले चाहना राखेका होलान । जुन चाहना ब्युझदा हराउने सपना जस्तै हुने देखिन्छ ।

भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकमा आगामी विधान महाधिवेशनको प्रस्थान विन्दु थियो । बैठकबाट पारित भएका राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्तावबारे विधान महाधिवेशनका बहस हुनुपर्ने हुन्छ । विधान महाधिवेशनले पारित गर्ने दस्तावेजले नै एमालेलाई आगामी ५ वर्षसम्म डोर्याउने छ । तर अहिलेको अवस्था हेर्दा त्यस्तो लाग्दैन । ओलीको राजनीतिक प्रतिवेदन कुन्ठा र अहंकारको ठेलि मात्र बन्यो । जहाँ प्रचण्ड र माधवलाई गाली गर्ने बाहेक केही छैन ।

एमाले अझै सच्चिने ठाउँ छ । त्यसका लागि एमाले विचार, आदर्श, सिद्धान्त र विधि विधानको आलोकमा चल्नुपर्छ । जसका लागि ओली सच्चिनु नै पहिलो सर्त हुन्छ । गल्तीहरु महसुस गर्दै स्वीकार्ने र आगामी दिनमा त्यस्ता गैरराजनीतिक चरित्र र गल्ती नदोहोर्याने सवालमा ओली तयार हुने हो भने एमाले पुरानै अवस्थामा फर्कन सक्छ ।

तर, सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले ‘प्रतिनिधिसभा विघटन गर्नु हिजो पनि सही थियो, आज पनि सही छ र भोलि पनि सही हुनेछ’ भने झै गर्दै जाने हो भने एमाले नरहन पनि सक्छ । किनकी विर्सजनवादबाट रोक्न नसके एमाले विघटन हुने खतरा छ । तर ओलीलाई यो सब गर्न इच्छा नै छैन् । त्यसैले ओलीको मनोमानी चलुन्जेल पार्टी भद्रगोल अवस्थाबाटै अगाडि बढ्छ । यसरी, न ओली सुध्रिन्छन, न त एमाले सुध्रिन्छ ।

प्रतिक्रिया दिनुहोस्