‘चाडपर्वमा हिन्दू राज्यवादी दृष्टिकोण कायम छ’ « Drishti News – Nepalese News Portal
Logo
दशैं दृष्टिकोण

‘चाडपर्वमा हिन्दू राज्यवादी दृष्टिकोण कायम छ’


नवीन राई


साहित्यकार तथा नाटककार महेश पौडेललाई दशैंको भन्दा बढी दुर्गा पूजाको याद आउँछ । सानोमा दशैं मनाएको खासै याद छैन उनलाई । भारतको मणिपुरमा हुर्केका उनले दशैंभन्दा पनि दुर्गा पूजाको रुपमा मनाए । विद्यार्थी जीवनसम्म मणिपुरमा विताएका उनलाई नेपालको दशैंले खासै छोएन । उनी त्यहीँको दुर्गा पूजामा रमाए ।

मणिपुरमा नेपाली वस्ती बाक्लो भएपनि दशैंलाई सबैले दुर्गा पूजा भनेर मनाउँछन् । पौडेल पनि दशैंलाई दुर्गा पूजा भन्दै हुर्किए । उनले नेपालमा जस्तो चङ्गा उढाएनन् । चाचाहुँईले पनि छोएन । नेपाली भएरपनि नेपाली पारामा दशैं मनाएनन् । उनी भन्छन्, ‘यहाँ जस्तो दशैं–तिहार भनेर एक महिना स्कुल छुट्टी पनि हुँदैनथ्यो । चार/पाँच दिनमात्रै हुन्थ्यो ।’

मणिपुरमा बंगालीहरूको बहुलीयता थियो । उनीहरूले दुर्गा पूजा मान्थे । त्यसैले नेपालीहरूले पनि दशैं भन्न छाडेर दुर्गा पूजा भन्न थाले । सप्तमी अर्थात फुलपातीको दिन दुर्गा पूजाको यात्रा सुरु हुन्थ्यो । उनी त्यो दिनको व्यग्र प्रतिक्षामा हुन्थे । उनलाई अझैपनि ताजै छ, ती दिनहरू । उनी भन्छन्, ‘सप्तमीचाहिँ भव्य मनाइथ्यो, कहिले आउँछ भन्ने हुन्थ्यो, सप्तमीको दिन गाउँ–गाउँ, टोलटोल दुर्गा घुमाउथ्यो, दुर्गा घुमाउन एकदमै रमाइलो हुथ्यो ।’

दशैंले नाटककार बनायो
दशैंलाई दुर्गा पूजा भनेर मनाएपनि नाटक भने नेपाली परिवेशमै प्रस्तुत गर्थे, उनी । आफैँ नाटक लेख्ने र खेल्ने गर्थे । उनी सम्झन्छन्– ‘विद्यार्थी हुँदैदेखि नै नाटक लेख्न खुब जाँगर चल्थ्यो, धेरै नाटक लेखे । नाटक लेखेपछि एक महिना अभ्यास गथ्र्यौँ । अनि दशैंमा देखाउथ्यौँ ।’

व्याचलर सकेपछि उनी काठमाडौं आए । सानैदेखि नाटकप्रतिको प्रेम र झुकावले रसियन कल्चर सेन्टरमा नाटक खेल्न थाले । नाटकमा लामो समयसम्म अभिनय गरे । उनले ‘आमा नहुँदा एक साँझ’ किताव लेखे । जहाँ, पाँचवटा नाटक छन् । किताबभित्रका केही नाटक आफैँले निर्देशन गरे । रसियाली र बेलायती थुप्रै नाटकहरू नेपालीमा अनुवाद गरे ।

दशैंले गर्दा नै आफू नाटककार भएको उनी बताउँछन् । उनी भन्छन्, ‘म नाटककार भएको श्रेयचाहिँ दशैंलाई नै दिन्छु । यदी, दशैं थिएन र दशैंको भैभव त्यस्तो नहुँदो हो त म नाटककार हुँदिन थिएँ, नाटकमा अभिनय पनि गर्दिन थिएँ ।’ अहिले भने उनले नाटक खेल्न छाडिसके ।

दशैंको विदा पढ्ने समय
काठमाडौं आएपछि दिनभरि जागीर गर्ने बाध्यता थियो, उनको । उनी कलेज पनि गएनन् । कलेज पढ्ने पैसा पनि थिएन । होस्टेलमै दिन बिताउँथे । बिहानदेखि बेलुकासम्म होस्टेलकै केटाकेटीसँग रम्थे, उनीहरुलाई नै पढाउथे । होस्टेल हेर्ने जिम्मा पनि उनकै थियो । जब दशैंको छुट्टी हुन्थ्यो । सबै घर जान्थे । उनीचाहिँ टुपी कसरे पढ्न बस्थे । काठमाडौं गुप्तबास बसेर दशैं मनाउँथे । त्यसको फल पनि राम्रै पाउथे ।

उनी भन्छन्, ‘सबै साथीभाइ दशैंमा घर जान्थे । तर, म एकदमै थोरै दशैंमा मात्रै घर गएको छु । दशैं मेरो लागि पढ्ने समय थियो । प्रायः काठमाडौं गुप्तबास बसेर दशैं मनाएको छु, कहाँ छन् महेश पौडेल ? भन्ने तरिकाले पढ्थेँ । त्यसरी पढेर राम्रै भयो । कलेज टप पनि गरेँ । दशैं मेरो लागि पढ्ने समय भयो ।’

पढाइ सकिएपछि पनि घर जाने समय निस्किएन
औपचारिक पढाइ सकेर पनि दशैं मनाउन घर जान पाएनन् । एमफील सकेपछि उनलाई स्कुलको पाठ्यपुस्तक लेख्ने अफर आयो । विश्वविद्यालय जाने, पढ्ने–पढाउने त चलिरहेकै थियो । स्कुलको पाठ्यपुस्तक लेख्ने अवसर पनि गुमाउन चाहँदैन थिए ।

कलेज जीवनमा पढ्ने समय भएको दशैं विदा पाठ्यपुस्तक लेख्ने समयमा परीणत भयो । फेरि दशैं विदा पर्खने क्रम सुरु भयो । यसपालीको दशैं विदामा पनि उनले कक्षा चारको पाठ्यक्रम लेख्दैछन् । उनी भन्छन्– ‘तपाईँसँग कुरा गनुअघि पनि लेख्दै थिए, अहिले कक्षा चारको च्याप्टर दुई भनेर क्लोज गरेको छु, कुरा सकिनसाथ फेरि लेख्न थालिहाल्छु, टिका र फुलपातीको दिन अलिअलि परिवारसँग घुलमिल हुन्छु । अरु सबै समय पढ्ने लेख्नेमै जान्छ ।’

नलाएको प्रेमको सम्झना
दशैंले उनलाई एकपटक विद्यार्थी जीवनमै फर्काउँछ । जुनबेला उनी नाटक लेख्ने र खेल्ने गर्थे । उनका एकजना साथीले निर्देशन गरेको ‘कमल’ भन्ने नाटकमा उनी प्रमुख भूमिकामा थिए । उनलाई गाउँकै एकजना युवतीले साथ दिएकी थिइन् । नाटकमा उनीहरू मुख्य पात्र थिए ।

नाटक सकिएपछि साथीभाइले उनीहरूलाई साँच्चिै जोडीको रुपमा लिन थाले । नाटकको जोडीलाई वास्तविक जोडी भन्न थाले । जिस्काउन थाले । यो कुराले उनीहरूलाई दुई वर्षजति खेदिरह्यो ।

उनी भन्छन्, ‘नाकटक सकिएपछि हामीलाई रियल जोडिको रुपमा चित्रण गरियो, व्याख्य भयो । रियलमा पनि यिनिहरू प्रेम गर्छन्, यिनिहरूको बिहे हुन्छ भन्ने कुराहरुरू चलिरह्यो, लामो समयसम्म हामीलाई त्यो कुराले छोडेन । तर, हाम्रो बिहेपनि भएन, उनी आफ्नो जीवनको यात्रा लागिन्, म आफ्नै । जब दशैं आउँछ । त्यो कुरा सधैँ सम्झनामा आउने गर्छ ।’

चाडपर्वले सामाजिक सद्भाव कायम गर्छ
धार्मिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक सद्भाव कायम गर्ने उनको विश्वास छ । एजेन्डा चाहिने मान्छेले दशैंलाई बहिस्कार गर्नुपर्ने कुरा उठाएपनि आम समुदायले कहिल्यै बहिस्कार गर्नुपर्छ नभनेको उनको बुझाइ छ ।

‘इलाममा पनि क्षेत्री–बाहुन र किरातले दशैं मनाउने तरिका फरक छ । बाहुनले किरातलाई कहिल्यै आफ्नोजस्तो दशैं मनाऊ भनेर फोर्स गर्दैन । किरातले पनि बाहुनलाई हाम्रो जस्तो दशैं मनाऊ भनेर कहिल्यै भन्दैन । क्षेत्री–बाहुनले पाँच दिनमात्रै टिका लगाउँछन् । तर, लिम्बूहरूले १५ दिनसम्म लगाएको देखेको छु, त्यो उनीहरूको स्वतन्त्रता हो ।’

एकअर्काको चाडपर्व सम्मानको साथ मनाउँने गरको उनी बताउँछन् । उनी भन्छन्, ‘पूर्वमा किरात र हिन्दूबीच समाजिक सहिष्णुता छ । एकले अर्काको संस्कृति बहिस्कार भन्ने कुरो नै आउँदैन । केही अधिकारकर्मीहरूले बहिस्कारको कुरा उठाएपनि त्यो कुरा आजसम्म समुदायमा आएको छैन ।’

चाडपर्वको बेला गाउँघरमा हुने विभिन्न कार्यक्रमले झनै सामाजिक सद्भाव कायम गर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘इलाममा खसी टुर्नामेन्ट हुन्छ, विजेतालाई खसी दिने चलन छ । तिहारमा क्लवबाट देउसीभैलो कार्यक्रम गर्ने चलन छ । यस्ता कार्यक्रमहरूले सामाजिक सद्भाव कायम गर्छ ।’

परिमार्जन गर्न जरुरी
चाडपर्वले सामाजिक सद्भाव कायम गरेपनि केही नराम्रा पक्षलाई भने परिमार्जन गर्न जरुरी भएको उनको ठहर छ । संस्कृति र शास्त्र मान्छेले नै सिर्जना गरेकाले यसका नकरात्मक पक्षलाई हटाउनुपर्ने बताउँछन् ।

‘दशैंको नाममा बलि दिनेजस्ता कुराहरूको समर्थन पटक्कै गर्दिनँ, संस्कृति हामीले नै बनाएको हो । शास्त्र पनि हामीले नै लेखेको हो । यसको नकारात्मक कुराहरूको परिमार्जन पनि हामीले नै गर्नुपर्छ ।’ उनी भन्छन्, ‘हाम्रो स्वास्थ्यको, वातावरणको, प्रेमको, सहिष्णुता र सद्भावको खिलाप छ भने त्यसलाई परिमार्जन गर्ने दावित्य हाम्रै हो, युवा पुस्तको हो ।’

हिन्दू राज्यवादी दृष्टिकोण कायमै
धर्मनिरपेक्ष राष्ट्र भएपनि राज्यले अझै हिन्दूका चाडपर्वलाई बढी प्राथमिकता दिएको उनको बुझाइ छ । पौडेल भन्छन्, ‘यहाँ त हिन्दूमात्रै त छैनन् । मुसलमान छन्, किरात छन्, बैद्य छन्, धर्म नै नमान्ने पनि छन् । यहाँ दशैं–तिहारमा एक महिना बिदा दिन्छ, राज्यले यसो गर्दा गैरहिन्दूले के गर्ने ? यसलाई राज्यले मिलाउन सकेको छैन ।’

पछिल्लो समय अन्य समुदायको चाडपर्वलाई पनि मान्यता दिनुपर्छ भन्ने सोच आएको तर व्यवाहारमा परिवर्तन नआएको उनी बताउँछन् । पौडेल भन्छन्, ‘पहिला गैरहिन्दूको चाडपर्वमा छुट्टी हुँदैन थियो, हामीले नै विद्यालय लगाउथ्यौँ । पछिल्लो समय एकदिन भएपनि विदा हुने गरेको छ ।’

सबै जनजातिको चाडपर्वलाई एकदिनमात्रै विदा दिने र दशैं–तिहारमा एकमहिना विदा दिने गरेकाले पनि राज्यले विभेद गरेको प्रस्ट हुन्छ । त्यस्तै देशका विभिन्न ठाउँमा दशैं लक्षित सहुलियत पसल खोलेजस्तै अरुको चाडपर्वमा पनि सरकराले सहुलियत पसल सञ्चालन गर्नुपर्ने उनको धारण छ ।

उनी भन्छन्, ‘दशैंमा जस्तै सरकारले इद, क्रिसमस, उधौली–उभौलीमा सहुलियत पसल सञ्चालन गर्दैन । इदमा मुसलमानलाई पनि त खरिद गर्नुपर्ला, उधौली–उभौलीमा किराती दाजुभाइले पनि त खरिद गर्नुपर्ला । तर, राज्यले यसप्रति ध्यान दिएको छैन । उनीहरूलाई मेरो पर्वलाई पनि सरकारले सम्मान गरेको छ भन्ने अनुभूति गराउन सकेको छैन ।’

उनी थप्छन्– ‘म १३ महिनको तलब पाउछु । त्यो कहिले पाउछु त भन्दा दशैंमा पाउँछु । म हिन्दू हुँ । मलाई त राम्रो लाग्छ । तर, विश्वविद्यालयमा मसँगै मुस्लिम लेक्चर पनि त हुनुहुन्छ । उनलाई दशैं बोनसले त्यति ठूलो अर्थ राख्दैन । उनलाई यो बोनस इदमा दिनुपथ्र्याे, क्रिस्चियनलाई डिसेम्बरमा दिए राम्रो हुन्थ्यो, यसमा सरकारले ध्यान दिनुपर्छ ।’

अन्त्यमा,
साहित्कार पौडेलले भरखरै ‘अपरीचित अनुहार’ कथासंग्रह ल्याएका छन् । दशैं–तिहार लक्षित गरेर ल्याएको उक्त कथा संग्रहमा १८ वटा कथा छन् । कथामा गाउँ समाजका परिवेश समेटिएको छ । उनी भन्छन्, ‘राज्य र समाजको आँखाले नदेखेको पात्रहरू उठाएको छु । पढेर प्रतिक्रिया दिनुहोला । बाटो बिराएँ भने मार्गदर्शन गर्नु होला ।’

त्यस्तै कोजाग्रत पूर्णिमाको दिन ‘सेलेक्टेट नेपाली स्टोरीज’ सार्वजनिक हुँदैछ । जसमा वीपी कोइराला, गुरुप्रसाद मैनाली, पारिजात लगायतका २५ वटा उत्कृष्ट कथाहरू समेटिएका छन् । उक्त पुस्तकमा नेपाली कथा साहित्यका सबैभन्दा राम्रा कथाहरू भएको दावी गर्छन । उक्त कथाहरू साहित्यकार पौडेले नै अंग्रेजीमा अनुवाद गरेका हुन् । यसले नेपाली कथाहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने र नेपाली साहित्यलाई विदेशमा चिनाउने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्