Logo
Logo

‘दशैंबारे सकारात्मक कोणबाट बहस हुनु राम्रो’



काठमाडौं । मानिसको भविष्ययात्रा अनिश्चित भएपनि विगतको स्मृति यथावत् नै रहन्छ । उमेर बढ्दै जाँदा विभिन्न समय, घटना र सन्दर्भमा पुराना दिनहरू धेरैको सम्झनामा आउने गर्छ । कहिले आँखाभरि आउँछ, कहिले मनभरि । अहिले हरेक हिन्दू धर्मलम्बिहरूको आँखा र मनमा विगतका दशैंहरू झल्किएको छ । विगतका ती दशैं कुनै तिता होलान्, कुनै मिठा । कुनै सझिरहन लाग्ने होलान्, कुनै बिर्सेर पनि सम्झन मन नलाग्ने । तीनै दशैंबारे साहित्यकार निलम कार्की ‘निहारिका’सँग दृष्टिन्यूजका नवीन राईले गरेको कुराकानी संक्षिप्त प्रस्तुत छः

दशैंबारे तपाईँ अनुभव सुनौं न । कसरी मनाउँदै आउनु भएको छ ?

सबै सनातन धर्माबलाम्बीले जस्तै घरपरिवारसँग बाल्यकालदेखि प्रेमपूर्वक दशैं मनाउँदै आएको छु । तर, विवाह अघिको दशैं र विवाह पछिको दशैं भिन्न हुने रहेछ ! विवाहअघि जिम्मेवारविहीन दशैं, विवाहपछि जिम्मेवारी सहितको दशैं । केही वर्ष अघिसम्म मेरो लागि अति नै खुशीयालीपूर्ण थियो, दशैं । तर, एउटा दशैंलगत्तै मैले बुबा र दाजु एक साथ गुमाए । त्यसपछि त दशैं मात्र होइन कुनै पनि चाडपर्वले पहिलाजस्तो उत्साह लिएर आउन सकेको छैन । घटस्थापनदेखि नै त्यो अतित सामुन्ने आउँछ । म मात्र होइन, म जस्तै सबैका लागि चाडपर्व घाऊ बल्झाउने बन्ने गरेको छ ।

दशैंसँग जोडिएका कुनै सम्झनलायक एउटा पल ?

त्यो कति–कति । मेरो बाल्यकाल पहाडी ग्रामिण क्षेत्रमा बित्यो । सिधै भन्दा १२ वर्षसम्म गाउँमै थिए । दशंैको बेला घरका भित्तामा पोतिएको कमेरोमा हिमाल हासेका हुन्थे । ढिकीको आवाजमा झिसमिसेमै गाउँ बिउझिन्थ्यो । घर–घरमा घ्युमा पोलेको रोटीको वासना मगमग…, सबैको अनुहारमा ढकमक्क फूलेको हर्ष । लिङ्गे पिगको चाचाहुई । त्यसपछि मैले तराईको दशैं पनि देखेँ । त्यहाँको भिन्न–भिन्न जातिबीचको लोभलाग्दो सद्भाव । म विर्सन सक्दिनँ ।

पछिल्लो समय दशैंबारे विभिन्न दृष्टिकोणबाट बहस चलिरहेको छ । मानव र दानव भन्ने कोणबाट पनि बहस हुने गरेको छ । यी बहसहरूलाई कसरी लिनु भएको छ ? दशैंप्रति तपाईँको दृष्टिकोण के छ ?

दशैं पक्कै पनि सनातन धर्माबलाम्बीको लागि महान चाड हो । नेपालमा विभिन्न कारणले यसको सांस्कृतिक महत्व पनि छ । मानव, दानव वा अरु शब्दहरू केही हजार वर्ष पहिले सुरुवात भए होलान् ! र, त्यो समयमा तिनका अर्थहरूको आफ्नो महत्व र तात्कालिक कारण थियो होला । अहिलेको सन्दर्भमा ती शब्दहरूले मानवलाई उज्यालो र दानवलाई अध्यारोको प्रतिनिधित्व गर्दछन् । यसरी मान्ने हो भने उज्यालोको पक्षधरता गर्नु अप्ठ्यारो कुरा हो जस्तो लाग्दैन । दशैं मान्नु या नमान्नु व्यक्तिगत स्वन्त्रताको कुरा हो । तर, मुख्य कुरा यत्ति हो हामीले सबैको संस्कृतिलाई सम्मान भने गर्नैपर्छ ।

दशैंप्रति राज्यको दृष्टिकोण कस्तो पाउनुहुन्छ ?

संस्कृति भन्ने कुरा तेरो र मेरो हुँदैन । यो त राज्यकै हो । राज्यले सबैलाई सामान महत्वको आँखाले हेर्नुपर्छ । तर, कुनै वर्गको धार्मिक आस्थाको कारण राज्यले कुनै संस्कृतिको संरक्षित गरे जस्तो देखिन्छ । कुनै जाति, वर्गको संस्कृति चाहिँ हामीकहाँ उपेक्षित छ । हिजोका दिनमा राज्यले सबै जाति, धर्म र वर्गका चाडपर्वलाई समान प्रथामिकतामा नराखेको कुरा नकार्न सकिँदैन । मैले मात्रै होइन, अरुले पनि नकार्न सक्दैनन् । संस्कृति त देशकै अनुहार हो । मूल सम्पत्ति पनि हो । यो जोगाउनु राज्यको कर्तव्य पनि हो ।

धार्मिक तथा सांस्कृतिक चाडहरूले सामाजिक सदभाव कायम गर्छ भन्ने मान्यता रहँदै आएको छ । पछिल्ला बहसहरूले सामाजिक सदभाव कायम गर्छ या खाडल बनाउँछ ?

त्यो पनि अर्को विषय हो । शासकले दशैं जबर्जस्च मनाउन लगाउँदै आएको थियो, दशैं नमानेको खण्डमा सजाय हुने कुरा पनि कतै पढेकी थिएँ । गोर्खाको इतिहास हेर्ने हो भने माघे सक्रान्ति र दशैंलाई अति महत्वका साथ मनाउने गरेको देखिन्छ । समाजले मूलरुपमा कसरी बुझ्दछ भन्ने कुरामा भरपर्छ जस्तो लग्छ । दशैंलाई सनातनको मात्र नभई नेपालीहरूको सांस्कृतिक चाड हो भनेर मान्यो भने सद्भाव अवश्य बढाउला । तर, कुनै एउटा समुदाय विशेषले आफूमाथि थोपारिएको उत्सव हो भन्ठान्यो भने बोकाएको भारी निश्चय नै गरुङ्गो हुन्छ ।

अर्को कुरा । समय, राजनीति र वैश्विकीकरण यी अवधारणाहरूमा परिवर्तन आइरहन्छन् । तर, पूर्वाग्रहरहित बहसले सद्भाव बिथोल्नु पर्ने कुनै कारण छैन ।

दशैं जस्तै राज्यले अरु जाति, धर्म वा सामुदायको चाडलाई पनि प्राथमिकतामा राखेको छ ? सबै जाति, धर्म वा समुदायको चाडलाई उत्तिकै प्राथमिकतामा राख्नुपर्छ जस्तो लाग्छ कि लाग्दैन ?

नेपाल एकीकारणपूर्व विभिन्न समुदायको फरक–फरक अवधारणा थियो होला । नेपाल एकीकरणदेखि २००७ सालसम्म, ००७ सालपछि, ०४६ सालको परिवर्तन पछि र गणतन्त्र स्थापना पश्चात राज्यका दृष्टिकोणमा परिवर्तन आएकै छ । आउँदो समयमा पनि यो परिवर्तित हुने नै छ । सबै जाति, समुदाय वा धार्मिक विविधताप्रतिको तटस्थता नै अहिलेको संविधानको मूल कल्पना हो जस्तो लाग्छ । यो त स्वतन्त्र समाजको लागि अत्यन्त आवश्यक कुरा नै भयो ।

राज्यले दशैंलाई मात्र प्राथमिकतामा राखेकै कारण दशैंप्रति फरक दृष्टिकोणमा बहस चलिरहेको हो ?

राज्यले विगतमा दशैं तिहारलाई मुख्य प्राथमिकतामा राखेकै हो । विभिन्न परिवर्तनपछि राज्य स्वरुप र चेतनामा पनि परवर्तन भएकै छ । सबै जाजि, धर्म र सम्प्रदायलाई बराबर आदर गर्नु भनेको बहुसंख्यक दशैं मान्नेहरूको पनि आदर गर्नु हो । हो, पहिले हिन्दू राष्ट्रको रुपमा नेपाल चिनिन्थ्यो । त्यहीँ कारण पनि सनातन धर्मावलम्बीको चाडपर्व या जन्म–मृत्यु कर्मलाई मध्यनजरमा राखेर काम भयो । राज्यले दिएका विदा मात्र हेर्दा पनि यो कुरा प्रस्ट हुन्छ । आजको दिनमा त्यो फरक भएको छ । सबै समाजलाई महत्वका साथ समेट्ने कोशिस हुँदैछ ।

निहीत जाति, धर्म वा समूदायको चार्ड सबैको हुनसक्छ ? हुन्छ भने कसरी हुन्छ ?

नेपाललाई बहुभाषिक, बहुसांस्कृतिक देश भनेर गर्व गर्ने हो भने कुनै एउटा जाति वा समुदायको चाडपर्व अर्काले पनि मनाउनुपर्छ । एक अर्काको चाडपर्व मनाउन कसैले कसैलाई दबाब दिनु हुँदैन । तर, विना दबाब, हृदयदेखि स–सम्मान मनाउन चाहन्छन् भने त्यो स्वीकार्य हुन्छ । तर, जवर्जस्ती भारी बोकाउने कार्य भने मान्य हँुदैन । अघि भने जस्तो यो अहिलेको व्यवस्था र संविधानले पनि अस्वीकार गरेको कुरा हो ।

अन्त्यमा, तपाईंको लेखनमा फरक दृष्टिकोण देखिन्छ । विषेशगरी ‘चीरहरण’मा फरक दृष्किोण पाइन्छ । त्यसरी नै दशैंलाई फरक दृष्टिकोणबाट व्याख्या गर्न सकिन्छ ? आवश्यक छ ?

मेरा सिर्जन मुख्य पात्र नारी र मुख्य विषय उठान नारी सन्दर्भ अवश्य पनि छन् । पछिल्लो उपन्यास ‘द्रौपदी अवशेष’ बहुपति प्रथामा केन्द्रित हो । तर, बहुपति भएपनि मातृसत्ता पूर्णरुपमा भने होइन । पुरुष सत्ताको बाछिटाले मात्र होइन, ठूला–ठूला छालले नै भेटेको हुँदा मातृसत्ताको पूर्ण परिभाषामा समेटिन सकेको छैन ।

दशैंका विविध आयामहरूमध्ये ‘स्त्री शक्ति’को उपासना वा पूजा पनि हो । प्राचिन कथाहरूमा पनि देवीहरूको विविध रुप र देवताहरुले स्त्री (देवी)लाई आयुधहरू दिएर लडाइँको तयारी गरेको प्रसङ्ग छ । अझ यहाँले नारी केन्द्रित मेरा उपन्याससँग जोडेर प्रश्न गर्नु भएकोले मैले यती बेला अहिलेको सन्दर्भमा यो भन्न चाहन्छु । परिवार, समाज वा राज्यले महिलाको शक्ति, सामथ्र्यको स्वीकार र प्रेरणाको रुपमा दशैं बिम्ब बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्