‘दशैंको वहानामा हुने असमान व्यवहार अत्य हुनुपर्छ’ « Drishti News – Nepalese News Portal
Logo
दशैं दृष्टिकोण

‘दशैंको वहानामा हुने असमान व्यवहार अत्य हुनुपर्छ’


दृष्टि संवाददाता


काठमाडौं । पहिला दशैं आउनसाथ गाउँ जान हतारिन्थे कवि एंव समालोचक नेत्र एटम । दशैं गाउँ जानकै लागि आएको एउटा उत्सवजस्तो लाग्थ्यो । दशैंलाई गाउँ जाने चाडको रुपमा लिन्थे । दशैं बिदा कहिले हुन्छ भनेर पर्खन गाह्रो हुन्थ्यो उनलाई । कलेज बिदा हुन एकहप्ता अघि नै कति बेला गाउँ जाऊँ भन्ने लाग्थ्यो ।

गाउँ गएर रमाइलो गर्थे । रिफ्रेस हुन्थे । दशैं बिदामा कोर्स बुकहरू छुदाँ पनि छुँदैन थिए । साथीभाइ, खेतबारी, खोलाको घुमाइ आदि गाउँको रमाइलोले काठमाडौं फर्कनसमेत भुल्थे उनी । काठमाडौं फर्कन नपरे पनि हुन्थ्यो भन्ने लाग्थ्यो उनलाई ।

तर, समयसँगै भूगोल, परिस्थिति, परिवेश सबै परिवर्तन भएको छ । उनी अहिले दशैंमा गाउँ जान हतारिँदैनन् । रमाइलोमा भुल्न छाडिसके । अहिले दशैं बिदा उनका लागि अधुरा कामहरू पूरा गर्ने बोझिलो समय बनेको छ । उनले दशैंलाई पारिवारिक भेटघाटको उत्सवका रुपमा मात्रै लिने गरेका छन् ।

उनले सुनाए, ‘दशैंमा गाउँ जान छाडिसकेँ । दशैं बिदालाई अधुरा कामहरू पूरा गर्ने समयको रुपमा लिएको छु । केही पढ्ने, केही लेख्ने । केही दिन त सरसफाइ र उत्सवमै बित्छ । साथीभाइसँग अलिअलि घुमघाम र भेटघाट पनि गर्नुप¥यो ।’

अहिले पनि कवि एटमलाई दशैंमा गाउँ गएर रमाइलो गर्ने, परिवार र साथीसंगीसँग भेटघाट गर्ने इच्छा नभएको त होइन्, तर, अधुरा कामहरू नसकिएला कि भन्ने चिन्ताले बढी सताउँछ । त्यसैले अहिले उनको दशैं बोझ बन्दै गएको छ ।

उनी भन्छन्, ‘दशैं बिदामा अधुरा कामहरू गरौँला भन्ने हुन्छ । पढ्न नपाएका किताबहरू पढौँला, लेख्न बाँकी पुस्तकहरू पूरा गरौँला भन्ने हुन्छ । घुम्न जाउँला भन्ने पनि हुन्छ । तर, अधुरा कामहरू नसकिएला कि भन्ने चिन्ता बढी हुन्छ । जिम्मा लिएका कामहरू नसकेर बदनाम पो हुने हो कि भन्ने लाग्छ । त्यसैले अहिले दशैं बोझ भएको महशुस हुन्छ ।’

तिता क्षण
०६७ सालको दशैं उनका लागि निकै दिक्कलाग्दो भयो । दशैं सुरू भएको तेस्रो दिन अर्थात् तृतियाको दिन अभिभावका रुपमा रहेका भिनाजुको मृत्यु भयो । स–परिवारलाई स्तब्ध बनायो । दशैं मानाउन हतारहतार गरेर दाङ पुगेका उनलाई त्यहाँ एकछिन पनि बस्न मन लागेन । कहिले काठमाडौं फर्कुंजस्तो भयो । तर, भिनाजुको काजकिरिया सबै सक्नैपर्ने बाध्यता थियो । दुईजना भान्जा विदेशमा थिए । उनीहरूलाई नेपाल आउन समय लाग्यो । काजकिरियाको काम पनि ढिलो भयो ।

अरू मान्छेले त्यो बेला दशैं मनाएको, टिका लगाएको देख्दा उनलाई अचम्म लागेको थियो । एक थरीको पीडामा अर्को थरी बेखबर हुन्छन् । उनी भन्छन्, ‘अहिले पनि दशैं भन्नसाथ त्यहीँ पीडाको क्षण सम्झनामा आउँछ । त्यसले सधैं झस्काइरहन्छ ।’

पाहुनलाई माछा खुवाउने सोख
सानोमा उनलाई दशैंपछि आउने पाहुनालाई माछाको सुकुटी खुवाउने ठूलो सोख हुन्थ्यो । पाहुनाले आफ्नो तारिफ गर्नेगरी माछा खुवाउन मन लाग्थ्यो रे । त्यसैले दशैंको बेला बिहानको खाना खाएपछि दिनभरी माछा मारेर बस्थे ।

दशैं बहिस्कार गर्नुपर्छ जस्तो लाग्दैन
दशैंलाई महत्वसाथ मनाउनु र बहिस्कार गर्नु दुवै नहुने उनको तर्क छ । दशैंलाई धार्मिक रुपमा नभई श्रमपछिको अवकासमा रमाइलो गर्ने उत्सवको रुपमा लिनुपर्नेमा उनी जोड दिन्छन् ।

उनलाई खेतीपातीको सबै काम सकिएपछि एउटा उत्सवको रुपमा दशैं माउन थालिएको होलाजस्तो लाग्छ । फूलपाती भित्र्याउँदा धानको बोट, उँखु, दारिम, जयन्तीको लहरा आदि ल्याएर स्थापित गरेकोबाट यो पुष्टि हुन्छ । ‘पछि यो धर्मसँग जोडिएको हुन सक्छ । त्यसपछि दशैं जनमानसकोबाट एउटा सम्प्रदायको जस्तो मात्र भयो । हिन्दू धर्म मान्ने राजा भएपछि उनीहरूले आफ्नो परम्परा बनाए । नमान्नेहरूलाई पनि मान्नैपर्ने आदेश दिए । तर, अहिले समय परिवर्तन भएको छ । गणतन्त्र आइसकेको छ । नमान्नेले नमान्न पाउँछन् तर आन्दोलन नै गरेर बहिस्कार गर्नुपर्ने जस्तोचाहिँ लाग्दैन । र, दशैंलाई धार्मिक रामले रावणलाई हराएको भनेर जातीय कथाका रूपमा लिन पनि हुँदैन ।’

जसको चाड उसैलाई मात्र बिदा
जसको चाडपर्व उसैलाई मात्र बिदा दिनुपर्ने उनको सुझाव छ । ‘म विश्वविद्यालयमा पढाउने मान्छे हुँ । हाम्रोमा एक महिना बिदा हुन्छ’ उनी भन्छन्, ‘दशैंमा पनि एक दिन मात्रै बिदा गर्ने हो भने कुनै विवाद आउँदैनथ्यो । जो दशैं मनाउँछन्, उसैलाई मात्रै बिदा दिए हुन्छ, अरूलाई उनीहरूकै चाडपर्वमा बिदा दिँदा राम्रो ।’

चाडपर्वमा राज्यले विभेदीकरण गरेको उनको बुझाइ छ । उनी भन्छन्, ‘दशैंमा एक महिनाको तलब बराबरको बोनस पाउँछाैँ, बिदा पनि धेरै हुन्छ, अरू जातिको पर्वमा चाहिँ एक दिन मात्रै ? बोनस पनि दिँदैन । यसले विभेद देखियो नै । यो पर्व ठूलो रहेछ, अर्को सानो रहेछ भन्ने देखियो । त्यसैले दशैंको बिदा घटाउनुपर्छ, यति लामो बिदा दिनुहुँदैन ।’

दशैं हुनेखानेका लागि मात्रै बन्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘सरकारले सबै कर्मचारीलाई दशैंमा एकमहिना बराबरको तबल बोनस दिँदै आएको छ । मजदुर र किसानहरूलाई चाहिँ कसले दिने ? त्यसैले माथिल्ला तहका मान्छेलाई दशैं उत्सवको हो । कमाउन नसक्नेलाई यसले झन् पीडा दिन्छ ।’

दशैंको लामो बिदा हुँदा पनि पर्यटन क्षेत्रमा त्यसले समेत खास फाइदा नभएको उनको ठहर छ । भन्छन्, ‘लामो समयसम्म बिदा दिँदा घाटैघाटा हुन्छ । अरु बेला भए मान्छे धेरै घुम्न जान्थे होलान् । पर्यटनको पनि विकास हुन्थ्यो । दशैंमा धेरै होटेल पनि बन्द हुन्छन् । खुलेका केही होटेलमा कामदार हुँदैनन् । होटेलमा बस्यो भने पनि खानाचाहिँ बाहिरै खाएर आऊ भन्छन् । दशैंले पर्यटन क्षेत्रलाई पनि घाटै घाटा छ ।’

थोरै बिदाका फाइदा
दशैंमा राज्यले धेरै बिदा दिएर चाडपर्वलाई सानो र ठूलो बनाएको अनुभूति भएको उनी बताउँछन् । दशैंमा एक/दुई दिनमात्रै बिदा दिनुपर्ने उनको जोड छ । ‘दशैंमा धेरै बिदा दिँदा सरकारी कामकाज ढिला हुन्छ । यसले उच र निचको भावनाजस्तो पनि भयो । दशैं मान्नेहरू चाहिँ ठूला रहेछन्, यिनीहरूको धेरै बिदा भयो अनि हाम्रोमा चाहिँ एक दिन मात्रै बिदा दिन्छ । हामीलाई हेला गर्यो भन्ने धेरैले महशुस गरेका छन् । यो त स्वाभाविकै पनि हो ।’

दशैंमा एकदिन मात्रै बिदा दिँदा अफिसियल काममा पनि असर नपर्ने र विभेद पनि नदेखिने उनी बताउँछन् । ‘दशैंमा एकदिन बिदा दिए भइहाल्यो, त्यो पनि मनाउनेहरूलाई, अरुलाई किन बिदा दिनुपर्यो ? एक दिनमात्रै बिदा दिए अफिसियल काममा पनि असर पर्दैन । धेरै दिन मनाउन मन लागे व्यक्तिगत बिदा लिएर बस्ने ।’ एटम भन्छन् ।

दशैंमा धेरै बिदा भएकाले नै अरुले पनि आ–आफ्नो चाडपर्वमा धेरै बिदा माग्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘दशैं बिदाले एक प्रकारको द्वन्द्व निम्त्याएको छ, कसको चाडपर्वमा कति बिदा भन्ने प्रतिस्पर्धा नै चलेको छ । अरुको चाडमा धेरै बिदा दिने, हाम्रोमा नदिने भनेर जातिहरुमा प्रतिस्पर्धा र विभेद अनुभव गराएको छ ।’

बिदाले अल्छे र अकर्मण्य बनायो
धेरै बिदाले मान्छेलाई अल्छे बनाउने उनको बुझाइ छ । भन्छन्, ‘धरै बिदाले हाम्रो उत्पादकत्वमा प्रत्यक्ष असर पारिरहेको छ, दशैंको बिदा भनेको छ, घर बसेको छ, रक्सी र मासु खाएको छ, तास खेलेको छ । यो त ठगेर खाने मेसो मात्रै भयो । बसेर खाएर सिध्याउने काम मात्रै भयो । काम लाग्ने केही भएन, दशैंमा हामी हाम्रो उत्पादन पनि प्रयोग गर्दैनौँ । सकीनसकी विदेशी सामान प्रयोग गर्नुपर्ने हुनाले सब कुरा बाहिरबाटै ल्याइन्छ ।’

देखावटी बढी
फुर्सदको बेला पढ्नेभन्दा पनि उत्पादनमुलक काममा लाग्नुपर्ने उनको सुझाव छ । दशैंमा के–के पढ्ने ? के–के गर्ने ? भनेर समाजिक सञ्जालमा किताबहरूको देखावटी मेला लाग्छ । त्यो बजारीकरणलाई प्रोत्साहन गर्नका लागि राखिएको उनको बुझाइ छ ।

‘समय नभएर मान्छेले किताब नपढ्ने भन्ने हुँदैन । किताब त ज्ञानको लागि पढ्ने हो, आफूलाई अपडेट गर्न पढ्ने हो, आफ्नो मस्तिकलाई उदार बनाउन पढ्ने हो । पढाइ जीवनको एउटा अङ्ग हो । फुर्सद भएको बेला मात्रै पढ्ने होइन नि’ उनी भन्छन्, ‘फुर्सदमा त अरू नै काम गर्ने हो । उत्पादनमूलक काम गर्ने । किताब पढ्नु राम्रो हो । तर, यो दशैैंको लागि किताब ल्याउने, मैले यति पढेँ भनेर देखाउने, यो सबै प्रदर्शन मात्र हो । यस्तो गर्नु मलाई ठिक लाग्दैन ।’

कमजोर पाठकको जमात बढ्दै
पछिल्लो समय कमजोर पाठक बढिरहेको उनको बुझाइ छ । यसले हामीलाई पतनको बाटोतिर धकेलिरहेको बताउँदै उनी भन्छन्, ‘देखावटी रुपमा पढ्ने धेरै छन्, त्यो पनि गैरराजनीतिक किताब चाहियो रे ! राजनीति त सबै पक्षसँग जोडिएको हुन्छ । पढेर आनन्द लिन मात्रै खोजेर हुँदैन । यस्तो कमजोर खालको पाठक हाम्रो जीवन र समाजका लागि हानिकारक छ । यसले हामीलाई पतनतिर लैजान्छ । पढेपछि जीवन र सामाजिक सरोकारसँग जोडिनपर्छ । हाम्रो पढाइ हाम्रा आवश्यकता, राजनीति र सामयिक मुद्दासँग जोडिनुपर्छ । बौद्धिक अन्तरक्रिया गर्नुपर्छ अनि मात्र त्यसले पढाइको सार्थकता प्रमाणित गर्छ ।’

– प्रस्तुतिः नवीन राई

प्रतिक्रिया दिनुहोस्