‘दशैं बहिष्कार गर्नु पनि मनाउनु नै हो’ « Drishti News – Nepalese News Portal
Logo
अन्तर्वार्ता

‘दशैं बहिष्कार गर्नु पनि मनाउनु नै हो’


प्रा. डम्बर चेम्जोङ, मानवशास्त्री


काठमाडौं । मुख्यतः दशैंलाई धार्मिक चाडको रुपमा व्याख्या गरिन्छ । दशैंका अनेक आयामबारे ब्याख्या हुन्छ । यसको उत्पतिलाई अनेक धार्मिक मिथकहरुसँग जोडिन्छ । के दशैं साँच्चिकै धार्मिक चाड हो ? कि सामाजिक या राजनीतिक उद्देश्य प्राप्तिका लागि सुरु गरिएको थियो ? यिनै विषयमा मानवशास्त्री प्राध्यापक डम्बर चेम्जोङसँग दृष्टिन्यूजका प्रकाश चाम्लिङले गरेको कुराकानी प्रस्तुत छ :

दशैंबारे तपाईंको दृष्टिकोण के हो ?

म मानवशास्त्र अध्यापन गर्ने र मानवशास्त्र अध्ययन गरेको व्यक्ति भएकाले हरेक कुरालाई अध्ययनको कोणबाट हेर्ने गर्छु । र, दशैंलाई पनि त्यहि कोणबाट हेर्ने गरेको छु । त्यसकारण यसमा विषयगत अवधारणा आउँछ । व्यक्तिगत अभिव्यक्तिचाहिँ यो सामाजिक सन्दर्भ भएकोले त्यति ठूलो होइन ।

मानवशास्त्रीय दृष्टिकोणमा दशैंलाई कसरी व्याख्या गर्ने ?

म दशैंलाई बहुआयामिक कोणबाट हेर्छु । दशैंको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्ष । दशैंलाई त्यसरी हेर्दाचाहिँ यो विविधतायुक्त समाजमा सामाजिक विविधताअनुसार नै आ–आफ्नो आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक दृष्टिकोणबाट आम मान्छे दशैंलाई ग्रहण गर्छन, बुझ्दछन् र सोहीअनुसार दशैंको सन्दर्भलाई आत्मसाथ गर्छन् जस्तो लाग्छ ।

हामीले आर्थिक रुपमा दशैं के हो ? भनेर दशैंलाई बुझ्ने कुरा एउटा हो । अर्को कुरा, दशैंले तपाईंको जीवनमा के प्रभाव पारिराखेको छ ? भन्ने हो । जीवनलाई एउटा पाटोबाट मात्रै हेरिँदैन । राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक पाटो हुन्छ । यति भनिरहँदा पनि मैले दशैंलाई धार्मिक पाटोको सन्दर्भमा कुरा गरिरहेको छैन । किनभने दशैंलाई म धार्मिक अर्थात धर्मसँग सम्बन्धित हो भन्ने नै लाग्दैन । मुलतः दशैंले राजनीतिसँग सम्बन्ध राख्छ । राजनीतिले सामाजिक, सांस्कृतिक, आर्थिक पक्षलाई प्रभाव पार्ने हुनाले राजनीतिक रुपमा सुरु गरिएको दशैंको सन्दर्भचाहिँ धेरै पछि आएर सामाजिक, सांस्कृतिक, आर्थिक हुँदै गयो । प्रभावका हिबासले हेर्ने कि परिभाषाका हिसाबले हेर्ने हो ? त्यसैले विविधतायुक्त समाजमा आ–आफ्नै दृष्टिकोणबाट दशैंको व्याख्या गर्ने गरिन्छ ।

मानव जाति र धार्मिक तथा सांस्कृतिक चाडपर्वको सम्बन्ध कस्तो हुन्छ ?

चाडपर्व अनेकखाले हुन्छन् । आदिवासीहरुको दृष्टिकोणबाट हेर्ने हो भने प्रकृति र मानव बीचको बाध्यात्मक सम्बन्धलाई कसरी अझ गाढा बनाउँदै जाने ? कसरी अझ व्यवस्थित गर्दै जाने ? भन्ने कोणबाट चाडबाडहरु सुरु हुन्छन् । संसारभरका आदिवासीमा यस्तै देखिन्छ । बालीनाली लगाएर फल्दा त्यसलाई प्रकृतिको देनको रुपमा हेरिन्छ । प्रकृतिको देनको रुपमा बालीनालीमात्रै होइन कि समग्र मानव समुदाय पनि यो धर्तीले, यो प्रकृतिले, यो माटोले जन्माएको भनेर आदिवासीमा आस्था र विश्वास रहँदै आएको छ । प्रकृतिले मानव जीवन र त्यसको निरन्तरताका निमित्त जे जसरी उत्पादनको माध्यमबाट संरक्षण गरिरहेको हुन्छ, त्यसलाई कृतज्ञता ज्ञापन गर्ने अर्थमा चाडहरु सुरु भएको पाइन्छ । अरु सन्दर्भमा चाहिँ समाज क्रमसः आधुनिक, अत्याधुनिक हुँदै जाँदा उत्सवहरु मनाइन्छ । समाज रुपान्तरणसँगै चाडपर्वको सन्दर्भमा पनि परिवर्तन एउटा पक्ष हो ।

आदिवासी समुदायमा हेर्दा चाडपर्व पनि उनीहरुको जीवनको आस्था, जीवनको अर्थपूर्णता र मानव जीवन कसरी सुरु हुन्छ ? भन्ने कुरामा आध्यात्मिक अर्थपूर्णता र आध्यात्मिकता अर्थबोध गर्छ । त्योसँग प्रकृतिलाई सम्बन्धित बनाउने हुनाले त्यहाँचाहिँ धर्म गाँसिन्छ । त्यो आस्थासँग सम्बन्धित हुन्छ । आदिवासीको देउदेउवता त जल, जमिन, माटो, रुख विरुवाहरु हुन् । त्यसकारण दशैंचाहिँ धर्मसँग त्यो अर्थमा मैले गाँसिन ।

मावनजातिको विकासमा चाडपर्वहरुले कस्तो भूमिका खेलेको हुन्छ ?

यसमा दृष्टिकोणले फरक कुरा हो । तर, समग्रमा चाडपर्व हामीसँगै मनाउँछौँ, सँगै रहन्छौँ । यसले सामाजिक एक्यवद्धता, पारिवारिक हौँ, हामी सामाजिक हौँ र हाम्रो समाज एक्यवद्ध छ, भन्ने खालको भावनाको विकास गराउँछ । त्योभन्दा पनि माथि उठेर भन्ने हो भने एउटा खालको चाडपर्वले तपाईँ हामीलाई बाँधेर राख्छ । एउटा समूह र समुदायलाई राष्ट्रको रुपमा परिभाषित गर्न मद्दत गर्छ ।

धार्मिक तथा सांस्कृतिक चाडहरुले सामाजिक सद्भाव कायम गर्छ भन्ने मान्यता रहँदै आएको छ । पछिल्ला बहसहरुले सामाजिक सद्भाव कायम गर्छ या खाडल बनाउँछ ?

यसलाई बहुआयामिक पक्षबाट परिभाषित गर्नुपर्छ । सामाजिक सौहार्दता र सामाजिक एक्यवद्धता बढाउँछ होला । तर, त्यसलाई कसरी ग्रहण गरिन्छ भन्ने सन्दर्भ महत्वपूर्ण हुन्छ । चाडमा पनि हुँदा खाने र हुने खानेबीच आर्थिक खाडल जो सिर्जना भएको छ, त्यो सकारात्मक पक्ष होइन ।

आर्थिक दृष्टिले हेर्दा दशैंले पनि ‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई’ भन्छ । त्यसो हुँदा दशैं कसैको लागि आर्थिक दशा भएर आउँदो हो । राजनीतिक कोणबाट हेर्ने हो भने मिथकलाई ‘सत्यको जीत, असत्यको पराजय’को रुपमा व्याख्या गरिएको छ । सत्य भनेको सतवादी देवीदेवताहरु, असत्य भनेका असुरहरु भन्ने अर्थमा मिथक प्रयोग गरेर राजनीतिक सन्दर्भबाट अगाडि बढ्दा दशैं सत्तासीनहरु र सत्ताबाट बाहिरिनु परेकाहरुको हुने भयो । त्यसले राजनीतिक एक्यवद्धताभन्दा पनि राजनीतिक खाडलहरु निर्माण गर्छ । सत्य के हो ? सत्यको परिभाषा आफ्नै छ ।

मैले बुझ्दा संसारभरीको सत्य त्यही हो । मेरो लागि सत्य अर्कोका लागि नहुन पनि सक्छ । त्यो सतको विजय असत पात्रमाथि भन्ने कुराचाहिँ राजनीतिक रुपमा निर्माण गरिएको मिथक हो । त्यसकारण यि सबै धार्मिक आस्थाबाट आएका होइनन् । दशैंको जुन राजनीतिक सन्दर्भलाई धार्मिक आस्थाको अलिकति लेपन लाउन सकियो भने त्यो राजनीतिक सन्दर्भचाहिँ स्थायी भएर जान्छ र सत्तासीनहरुको हैकम (जुन आफ्नो विस्तारवाद सत्ता) निरन्तर कायम राख्न सकिन्छ भनेर एक ढंगले आर्शीवादका रुपमा प्रयोग गरिएको बुझिन्छ ।

आदिवासी जनजातिले दशैं बहिस्कार गर्नुको कारण के हो ?

त्यो राजनीतिक विषय हो । दशैं बहिष्कार गर्नु पनि मनाउनु नै हो भन्छु, मानवशास्त्रीय हिसाबले । केही न केहीचाहिँ तयारी छ, गरिन्छ, दशैं बहिष्कार गर्न पनि । त्यसकारण दशैं बहिष्कार गर्नु पनि काउन्टर दशैं मनाउनु हो । दशैंलाई कसरी ग्रहण गरिन्छ भन्ने सन्दर्भ मैले अघि पनि भनेको छु । आदिवासीहरुले दशैंलाई हिजो मनाउँदाखेरी हिन्दूले छुनै नहुने सुँगुर काटेर पूजा गरेका छन् । आफ्नो सांस्कृतिक परम्पराअनुसार हिजो दशैंलाई सहवरण गरिएकोे थियो । त्यसकारण अहिले राजनीतिक रुपमा बहिष्कार गरेको पाइन्छ ।

जुन दशैंमा राँगा काटिन्छ र बलि दिने चलन छ । त्यसको अर्थ ‘हाम्रो हैकम मानेनौँ भने तेरो हालत पनि यहि हुनेछ’ भन्ने हो । त्यो बलिको राजनीतिक प्रतिकात्मक अर्थ बुझ्दा त्यस्तो हुन्छ । त्यसैलाई धार्मिक लेपन लगाइदिएपछि झनै आस्थामाथि जमेर बस्ने भयो । अहिले त्यो राजनीतिक आस्थाको सन्दर्भलाई विनिर्माण गरिराखेको स्थिति चाहिँ हो । त्यसलाई भत्काएर आदिवासीहरुले अर्को खालको फरक सत्यको निर्माण गर्न खोजिराखेको होला । त्यसकारण बहिष्कार गर्नु पनि थुप्रै तयारीहरु त गर्नुपर्छ । त्यो काउन्टर दशैं सेलिब्रेशन हो, मानशस्त्रीय कोणबाट हेर्दा ।

कुनै जाति, धर्म वा समुदायको चाडपर्व बहिस्कार गर्दा नकारात्मक सन्देश जाँदैन ?

नकारात्मक सन्देशको रुपमा लिनुपर्ने कुरा होइन । यसलाई वृहत्तर पहिचानको कुराहरुलाई पनि गाँसेर हेर्नुपर्ने हुन्छ । पहिचानलाई तपाईंले राजनीतिक अर्थमा बुझ्दा सबैका पहिचानहरु उत्तिकै अर्थपूर्ण महत्व बोकेका हुन्छन् । नेपाली समाज, राजनीतिक, आर्थिक सम्पूर्ण कुराहरु एकदमै तहगत संरचनाहरुमा बन्यो । कोही सभ्य, कोही असभ्य ! सत्यको असत्यमाथि जीत पनि भनिहाल्छन् कोही । यो कुराहरुचाहिँ भ्रमहरु हो । धार्मिक आस्थालाई प्रतिकात्मक अर्थमा बुझ्दा दशैंलाई मैले किन धार्मिक चाड होइन भन्ने गरेको छु भने दशैंमा त हिंसा हुन्छ । यो बलिको सन्दर्भ हो ।

कुन धर्ममा होला त हिंसा गर्नुपर्छ, अरुलाई काटमार गर्नुपर्छ भन्ने ? यस्तो त पक्कै छैन होला नि । यहाँ हिंसा गर्न डराउनेहरुले प्रतिकात्मक रुपमा पनि कुभिन्डो, काक्रो वा लौकाहरुमा काठको खुट्टी लगाएर बलि हानेको देखिन्छ । त्यो प्रतिकात्मक हिंसा त होनि । सिम्बोलिक भाइलेन्स हो । अर्को फिजिकल भाइलेन्स नै हो, राँगा, खसी काट्ने कुरा त । यसकारण यो धार्मिक होइन ।

यसलाई सत्तासीन र सत्ताविहीनहरुको राजनीतिक अर्थलाई हेर्ने हो भने हाम्रो अधिनस्ता स्वीकार नगर्ने हो भने यो राँगोको जस्तो हालत बनाइदिन्र्छौँ भन्ने सूचना प्रवाह हो यो । दशैंलाई हामीले राजनीतिक रुपमा बुझ्दा विम्ब र प्रतिकको रुपमा बुझ्दछौं । काठमाडौंमा सत्ता कहाँबाट आयो त ? गोरखाबाट हो नि । जस्तो, फूलपाती गोरखाबाट ल्याइन्छ । गोरखाबाट धर्म आयो कि राजनीति आयो त ? काठमाडौंमा राजनीति आयो नि त । अनि, यसलाई देखिदेखि धर्मको लेपन लगाइएको छ ।

गर्नुपर्ने दशैं बहिस्कार हो कि, दशैं लाद्ने राज्यको प्रवृत्ति ?

के गर्नुपर्ने ? के नगर्नु पर्ने ? भन्ने व्यक्ति–व्यक्तिबीच आ–आफ्नो राजनीतिक, सांस्कृतिक दृष्टिकोणमा भर पर्छ । विषयगत रुपमा चाहिँ के भइराखेको छ ? त्यसलाई मुल्याँकन गर्यो भने त्यो किन भएको छ ? भनेर बहुल कोणबाट बुझ्न खोजिन्छ । तर, हामी जे गर्छौ, बहिष्कार गर्छौ । अर्थात, सामाजिक रुपमा मनाउछौँ । बहिष्कार गर्दा पनि ऋण लागिराखेको हुन्छ के मान्छेलाई अचम्म छ फेरि ! त्यो जीवनको दैनिकीभित्र के गछौँभन्दा पनि त्यसले कस्तो प्रभाव पारिराखेको छ ? त्यो हेर्नचाहिँ चाखलाग्छ ।

दशैंप्रति राज्यको दृष्टिकोणलाई कसरी व्याख्या गर्नु हुन्छ ?

यसप्रति राज्यको के दृष्टिकोण छ र ? भाँडभैलो छ राज्यको स्थिति । दशैंलाई एउटा खालको ‘एसेन्सेलाइज’ गरेको छ । यो अवसरलाई कतिले धार्मिक आस्थाको रुपमा बुझ्ने भयो । अनि त्यसको निरन्तरता स्वरुप त्यसको हैकमलाई विस्तार गर्नका लागि दशैंलाई राज्यले आफ्नो मान्यो । कतिले भ्याकेशनको रुपमा मात्रै पनि लिन्छन् । राज्यसँग नजिक भएकाहरु पनि अहिले दशैँ कति मान्ने ? ‘अब आफ्ना मान्छेहरु आइहाल्छन्, आफ्ना मान्छे भेट्न मन छैन’ भनेर यतिबेला कति घुम्न निस्किसके होलान ! काठमाडौंमा त्यस्तै देखिन्छ ।

नेपालमा बडो नमिल्दो खालको वैचारिक कुरा हाबी छ । नेपाल टेलिकम भन्ने संस्था जुन छ, त्यसैको फोन नचलाई पनि भएको छैन । अहिले फोन गर्यो कि मालश्रीको धुन बजाइदिन्छ । बहुधार्मिक, बहुसामाजिक, बहुसांस्कृतिक समाजमा छ । तर, नेपाल टेलिकमले मालश्री धुन (रिङब्याक टोन) सबैलाई सुन्न बाध्य बनाउने ? आफूलाई मन पर्यो भन्दैमा सबैलाई सुनाउन मिल्छ ? मलाई मेरो फोनमा जे मन लाग्यो त्यो लगाउन, सुनाउन पाउने हक छैन ? फोनमा जे छ त्यहि ओरिजिनल लगाइदिए भइगो नि ।

ल पोहोर त कोभिड–१९ को कुरा भयो रे, त्यसमा केही सन्देश दिन जरुरी थियो रे, अहिले किन गर्ने हो ? मलाई मेरै स्वरको रिङब्याक टोन राख्न मनपर्छ रे त्यो नपाउने ? बजारलाई कसरी उपयोग गर्ने र व्यक्तिहरुले के उपभोग गर्ने ? आफूमा भएको स्रोतसधानलाई कसरी खर्च गर्ने ? भन्ने सन्दर्भमा त त्यो व्यक्तिको अधिकार हो नि । ग्राहकको अधिकार हुनुपर्ने हो नि । कस्तो खालको लगाइदिराखेको छ ? सुन्नुभयो नि । यसले राज्यको दृष्टिकोण कस्तो भन्ने बुझाउँछ ।

राज्यले दशैंलाई मात्र प्राथमिकतामा राखेकै कारण दशैंप्रति फरक दृष्टिकोणमा बहस चलिरहेको हो ?

दुनियाँको संगठित आन्दोलनका बाबजुद अरु चाडपर्वहरुलाई पनि त्यो अनुसारको राख्ने कुरा चाहिँ आइराखेकै छ । नआएको त होइन । केहि आदिवासी चाडपर्वहरुको कुराचाहिँ छ पनि । त्यो क्रमशः हुँदै जाला । त्यसलाई पनि हामीले नजरअन्दाज गरिहाल्नु हुँदैन । त्यो रहरले भन्दा पनि आन्दोलन छेक्न नसकेर सत्तासीनहरुले गर्दै जान्छन् । गरिराखेका पनि छन् । जस्तो अहिले केही प्रदेश र स्थानीय तहहरुले विदा वा सेलिब्रेशनका कुराहरु विस्तार गर्दै गएको स्थिति छ । तर, संघीय राज्यको चरित्र यस्तो छैन । हुनसक्छ, राज्यकै चरित्रका कारण हाम्रा सांस्कृतिक आयामहरुमा विभिन्न कोणबाट बहसहरु हुन थालेका छन् ।

धार्मिक तथा सांस्कृति चाडहरुप्रति राज्य र समुदायको धारणा कस्तो रहनुपर्छ ?

एउटा धर्म वा संस्कृतिलाई मात्र सन्दर्भ मानेर एक नेपाल बनाउने, एक देश बनाउने, एक राज्य बनाउने कुरा छ । राज्य त एकै हुन्छ । तर, जुन एक राष्ट्र बनाउने एकात्मक सोचको सन्दर्भचाहिँ गलत छ । तपाईं नर्वे जानु भयो भने त्यहाँको स्वतन्त्रताका दिन मान्छेहरु आ–आफ्नो राष्ट्रिय पोशाक लगाएर आउँछन् । अलिकति भाषा फरक भयो, अलिकति गाउँ फरक भयो, राष्ट्रिय पोशाक नै अने खालका छन् के । जस्तो अमेरिका जानुस्, त्यहाँ पनि आ–आफ्नै राष्ट्रिय पोशाक छन् ।

यहाँ त राष्ट्रिय पोशाक एउटा । त्यसैले चाडपर्व पनि एउटा हुनुपर्छ भन्ने मान्यता रहँदै आएको छ । सबैले आफ्नो विशिष्ट चाड जे हो सोही अनुसारले ग्रहण गर्छन् । त्यो अनुसारले मान्छ । युएसमा ५० वटा राज्य छन् । राज्यपिच्छेको आ–आफ्नै झण्डाहरु छन् । फुटेको छैन, बलियो नै छ । त्यसैले मेरो राष्ट्रिय पोशाक के हो ? खासगरेर एउटा विशिष्ट जात, विशिष्ट समूहले आफ्नो राष्ट्रिय पोशाक आफैँ निर्धारण गर्छन् ।
काठमाडौंको टुँडिखेलमा राष्ट्रिय दिवसका दिन अनेक खालका रंगीचंगी झिलिमिली आ–आफ्नो राष्ट्रिय पोशाक लगाएर आयो भने राम्रो देखिन्छ नि ।

एकखालको सेतो दौरासुरुवाल, एकदम कालो कोट ! दुःखको कुरो कालो कोट त नेपाली होइन । यो विदेशी हो जस्तो लाग्छ । एकै खालका मान्छेहरु मात्रै देखिनुभन्दा विविधता देखिनु आफैँमा सुन्दरता हो । त्यो एकनास, एकै खालका कसरी राम्रो हुन्छ ? राज्यले पनि यो बुझेर सिके राम्रो हुने थियो ।

प्रतिक्रिया दिनुहोस्