७० वर्षीय जोगे कामी भन्छन्, ‘सकुन्जेल गरेर खान्छु, बाँकी जे होला’ « Drishti News – Nepalese News Portal
Logo

७० वर्षीय जोगे कामी भन्छन्, ‘सकुन्जेल गरेर खान्छु, बाँकी जे होला’


हिक्मत बम



धनगढी । धनगढीको मुख्य बजारबाट एक किलोमिटरको दूरीमा रहेको पुरानो एयरपोर्ट शिविर जाने गल्ली छेउमै एउटा झुपडी छ । उखरमाउलो गर्मी होस् या वर्षाको झरी । त्यहीँ झुपडीमा भेटिन्छन्, ७० वर्षीय जोगे कामी ।

उमेरले ७० कटेपनि उनी फलाम पिटेरै (फलामका औजारहरू बनाएर) आफ्नो परिवारको गुजारा गरिरहेका छन् । उनले यो पेसा अँगालेको ५ दशक बितिसकेको छ । त्योभन्दा पहिले उनको परिवारले खलो मागेर गुजारा चलाइरहेको थियो ।

मागेर खानुभन्दा बेस लागेर उनले फलाम पिट्ने पेसा अँगाले । उमेरमा बल हुँदा त यहीँ व्यवसायबाट उनले घर खर्च चलाएर केही रकम बचाउँथे पनि तर अचेल त उनलाई छाक टार्नै समस्या भइरहेको छ ।

७० वर्षको भइसके यहीँ भाडा पिटेरै खान्छु, अरू काम गर्न सक्दैन यहीँ काम गरेर बुढा बढीलाई चारो भइरहेको छ, झुप्रोमा फलाम पिट्दै गरेका जोगे कामले भने, ‘दशैँ गइसक्यो, तिहार आउँदै छ, कमाई जमाइ केही छैन । कसरी गुजारा चलाउने होला ? छोराहरूले पनि हेर्दैनन्, यस्तै छ जिन्दगी अहिलेसम्म कसैले बुढो मान्छे भनेर सहयोग पनि गरेका छैनन् । सकुन्जेलसम्म काम गरेर खान्छु, बाँकी जे होला होला ।’

जोगेका ५ जना छोराहरू छन् । तर, उनीहरूले कर्तव्य ननिभाउँदा जोगे हात मुख जोड्न ७० वर्षको वृद्ध उमेरमा पनि पसिना बगाइरहेका छन् । फलाम पिट्ने व्यवसायमा जोगेलाई उनकी श्रीमती विर्मा कामीले पनि सहयोग गर्दै आएकी छन् । फलाम पिट्न एक्लै सम्भव हुँदैन । जोगे फलाम पिटेर नयाँ औजार बनाउँछन् भने उनकी श्रीमती विर्माले आरा चलाउने, कोइला हाल्ने निकाल्ने, र फलाम तताउने काम गर्छिन् ।

दशैंको गुजारा चलाउन आरा चलाइरहेकी बिर्मा भन्छन्, ‘दशैं आयो के खाने के लगाउने, छोराहरू छुट्टिएर गएका छन् आफ्नो बनाउँछन् खान्छन्, हामी पनि आफ्नो गुजारा चलाउन मरिमेटेका छौँ, छोराहरूले हेर्दैनन् पनि के भन्नु मजदुरी गर्छन् दिनको पाँच सय रुपियाँले क-कसलाई हेरुन् श्रीमती, छोरा-छोरी छन् ।’

आरन पेसा उसैपनि आगोको रापसँग खेल्नुपर्ने, पुरानो एयरपोर्ट छेउमा रहेको उनको झुप्रोमा पत्ताको त के कल्पना गर्नु उनलाई खान–बस्नै समस्या छ । आगोको राफले झरिरहेका तपतप् पसिना पुछ्दैँ, जोगेले भने, ‘ग्राहक नै आउँदैनन्, दिनभरि कुरेर बसिरहन्छौँ, कहिले काहीँ त ग्राहक नहुँदा साँझ बिहानकै छाक टार्न समस्या हुन्छ, जसो त्यसो गाँस र बास त भइरहेको छ । न हामीले बचत गर्न सकेका छौँ, न त चाडपर्वमा मिठो मसिनोनै खान सकेका छौँ, हाम्रा लागि चाडपर्व नआइदिए हुन्थ्यो ।’

धान काट्न नयाँ हँसिया बनाउन जोगेको झुप्रोमा पुगेका धनगढी जाइका नवीन धामीले भने, ‘हामी बनाउने ठाउँको खोजीमा उहाँहरू ग्राहकको पर्खाइमा हुनु हुँदोरहेछ, प्रविधिले अहिले त फलाम पनि मेसिनबाट पिट्छन्, उहाँहरूको त पेसा नै संकटमा परिसक्यो ।’

फलाम पिट्ने उनीहरुका सपना धेरै ठूला छैनन्, मात्र छाक टार्न र आनन्दले सुत्न सक्ने अवस्था भए पुग्छ । तर, उनीहरूलाई त्यो पनि धौधौ छ । लामो समयदेखि आरन पेसा अपनाएका कामी दम्पतीले जीवन निर्वाहबाहेक केही गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्