Logo
Logo
बेमौसमी वर्षा

देशभर ११७ जनाको मृत्यु, ३२ जना अझै बेपत्ता

धानबालीमा सवा आठ अर्बको क्षति



काठमाडौं । लगातार परेको भारी वर्षाका कारण बाढीपहिरो र डुबानबाट मुलुकका २६ जिल्ला प्रभावित भएको छ । सात प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा मानवीय क्षति भएको छ ।

असोज ३१ बाट सुरु भएको वर्षा कात्तिक ३ गतेसम्म निरन्तर परेको हो । गृह मन्त्रालयबाट आइतबार प्राप्त भएको तथ्याङ्कमा ती जिल्लामा कूल ११७ जनाको मृत्यु भएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार अझै ३२ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ५७ जना पुरुष, ३५ जना महिला र २५ जना बालबालिका छन् । बेपत्ता हुनेमा १३ जना पुरुष, सात जना महिला र १२ जना बालबालिका रहेका छन् ।

सवा आठ अर्बको क्षति
वर्षा र बाढीपहिरोले मुलुकभर धानबालीमा सवा आठ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ । वर्षाले काटेर सुकाएको धान डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थामा रहेको धानमा समेत क्षति पुगेको थियो ।

आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति पुगेको उल्लेख छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ । लुम्बिनी एक्लैमा ४ अर्ब ५१ करोड बराबरको धान नष्ट भएको छ। यो कुल क्षतिको आधाभन्दा धेरै हो ।

लुम्बिनीपछि सबैभन्दा बढी क्षति सुदूरपश्चिम क्षेत्रमा एक अर्ब ९१ करोड रूपैयाँ बरारबरको क्षति भएको हो । सबैभन्दा कम क्षति बाग्मतीमा ५ करोड ८० लाख रूपैयाँ बराबरको छ ।

सातै प्रदेशमा गरी ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धान नष्ट भएको मन्त्रालयले जनाएको छ । वर्षाले बढी क्षति पुर्‍याएका जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, चितवन, नुवाकोट, नवलपरासी, स्याङ्जा, रूपन्देही, बर्दिया, कपिलवस्तु, बाँके, सुर्खेत, डोल्पा, जुम्ला, सल्यान, कैलाली र कञ्चनपुर छन् । मन्त्रालयले गरेको अध्ययनले बेमौसमी वर्षाले तीन प्रदेशका १५ जिल्लाको धानखेती बढी प्रभावित भएको उल्लेख छ ।

यो पनि

प्रतिक्रिया दिनुहोस्