Logo
Logo
स्थलगत रिपोर्टिङ

सशस्त्रसँगको मिलेमतोमा धनुषामा जारी संगठित तस्करीको नालीबेली


सञ्जीव मण्डल


जनकपुर । २०७८ कात्तिक ६ गते बिहान करिब ४ः३० बजे म र मेरो एक जना साथी धनुषाको बिदेह नगरपालिका वडा नम्बर ९ इटहर्बास्थित महादेव मठ पछाडि रहेको नेपाल–भारत दशगजामा पर्ने खरिहानी पुलमा पुग्यौं । जहाँबाट सशस्त्र प्रहरीको फरवार्ड बेस इटहर्बा एक सय मिटर दूरीमा रहेको छ । प्रहरी चौकी भने इटहर्बा करिब ५ सय मिटरको दूरीमा रहेको छ ।

हामी त्यही पुलमा केहीबेर बस्यौँ । एकैछिनपछि सीमापारि भारतबाट तीनवटा नेपाली नम्बर प्लेट र दुई वटा भारतीय नम्बर प्लेटका बाइक करिब दुई–तीन मिनेटको अन्तरमा पुलतर्फ तीव्रगतिमा हुइकिँदै आए । बाइकमा ठूला–ठूला बोराका पोका पछाडि बाँधिएको थियो । बाइकको गति यति तीव्र थियो कि कसैलाई ठोकिएको भए बच्नै मुस्किल ।

हामीले भिडियो वा फोटो लिन हतारहतार मोबाइल खल्तीबाट निकाल्नै लागेका थियौँ । बाइकहरुले हामीलाई पार गरिसक्यो । हामी हतार–हतार पछाडि रहेको बाइकलाई बल्लतल्ल २२ सेकेन्ड जतिको भिडियो खिच्न पायाँै ।

त्यसको केही समयपछि हामी फरवार्ड बेसको दक्षिणपट्टिको बाटोमा रहेको एक चिया पसलमा गएर चिया खान थाल्यौँ । त्यहाँ मैले तस्करीकै विषयमा बुझ्दै थिएँ । एक वडाध्यक्ष त्यही चिया पसलमा आइपुगे । हामीले उनलाई त्यहाँ पुग्नुको उद्देश्य बतायौँ । उनले हामीलाई तस्करीको लामै लाइन हेर्नुछ भन्यौं । उनले धनौजी गाउँपालिकाको तरही भन्ने गाउँको सीमासँग जोडिएको आँपको बगैँचामा जानु भने ।
त्यतिबेला लगभग बिहानको ५ः०० बजेको हुनुपर्छ । अलिअलि उज्यालो हुन लागेको थियो । हामी हतारहतार बाटो सोध्दै तरहीको आँप बगैँचामा पुग्दै थियौं । बाइकको उज्यालो देखेर बाटोमा ठूला–ठूला बोरामा कपडा लिएका मान्छेहरुको भागाभाग भयो । हामीले भाग्दै गरेको दुई–चारवटा फोटो खिच्यौँ ।

त्यसको ४०–५० मिटर अगाडि जाँदा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट धनौजीबाट खटिएका अस्थायी चेक पोस्टजस्तो छ । बाँसको झाडीमा बाँसकै खाटजस्तो बनाएको त्यसमा एक जना जवान बन्दुकको तकिया बनाएर मस्त निद्रामा सुतेको र अर्को जना फोनमा व्यस्त थिए ।

म बाइक त्यही रोकेर दशगजामा रहेको बिमला खोलातिर गए, यो खोला वारि नेपाल र पारि भारत रहेको छ । धनुषामा तस्करहरुले प्रयोेग गर्ने चोरबाटोमध्येको यो मुख्य बाटो हो । यहाँबाट सम्तुल्लाह, बैतुल्लाह, धर्मेन्द्र, कयुब, तुलसीलगायतका तस्करहरुले भारतबाट रातभरी लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स सामान, तेल, चिनी, चप्पल, गाईगोरुलगायतका मालसामान तथा चौपाया नेपाल ल्याउने गरेका छन् ।

हामी बिओपी धनौजीका इन्सपेक्टर रवी बस्नेतले तस्करलाई लाइन दिएर दैनिक तस्करी गराएको भन्ने सूचना पाएर त्यहाँ पुगेका थियौँ । त्यहाँको पनि फोटो लियौँ । फेरि फर्केर सशस्त्र प्रहरी बसेको ठाउँमा आउँदा अलि टाढाबाट २–४ वटा फोटो लियौँ ।

फोनमा कुरा गरिरहेका सशस्त्र प्रहरी जवानले रिसाउँदै किन फोटो लिएको भन्दै मलाई हप्काउन थाले र फोटो डिलिट गर्न लगाए । म डराउँदै परिचय दिँदै फोटो डिलिट गरे । तर डिलिट गरेको फोटो रिसाइकलविनमा गएर बसेको उसलाई थाहा भएन । हामी त्यहाँबाट हतारहतार फर्कियौँ ।

यो सबै दृष्य हेर्दा र समचार बनाउँदै गर्दासम्म धेरैभित्रसम्म बुझ्ने प्रयास गरेँ । अन्तमा के कुरा बुझ्याँै भने धनुषामा संगठित तस्करी गराउनमा प्रहरी प्रमुख, बोर्डर आउट पोष्टका इन्चार्ज र नेपाल प्रहरीका इलाका तथा चौकी इन्चार्जहरु नै संलग्न छन् ।

सशस्त्र प्रहरी बल नं. २, छिन्नमस्ता बाहिनीका तत्कालीन डिआइजी चन्द्रप्रकाश गौतमले तस्करी नियन्त्रण गर्न प्रदेशभरीकै घुमुवाहरुलाई रिफ्रेसर तालिम गराएर अधिकाशंलाई प्रदेश बाहिर पठाएका थिए । बाँकीका घुमुवाहरुलाई बाहिनीभित्रै थन्क्याएर राखे । उनीहरुलाई मालसामान पक्राउ गर्न अहिलेका डिआइजी गणेश ठाडामगरले परिचालन गरेका छन् ।

डिआइजी गौतम सरुवा भएर जानेबित्तिकै सशस्त्र प्रहरी नं. ८ गण धनुषाका एसपी नरेन्द्र सेनले विभिन्न बेस तथा बिओपीहरुमा आफ्ना विश्वासपात्र घुमुवाहरुलाई पुनः पठाएर असुली तीव्र बनाएका छन् । ‘मर्ने बेलामा हरियो काँक्रो’ भनेजस्तै सरुवाको मुखमा आएर धनुषाको फुलगामा, धनौजी, इनर्बालगायतका ठाउँहरुबाट सुरक्षित लाइन दिई तस्करी गराउन उद्यत देखिएका छन् ।

एसपी सेनले नक्टाझिजमा प्रमोद पञ्जीयार, डेबडिहामा वीरेन्द्र पासमान, धनौजीमा देवु महतो, गणमा रामजीवन यादवलगायतका घुमुवाहरुलाई परिचालन गरेका छन् । यसमध्ये पासमानलाई हाल गणमा बोलाएका छन् ।

हिन्दीमा एउटा उखान छ ‘बडे मियाँ से बडे मियाँ, छोटे मियाँ सुभान अल्लाह’ भनेजस्तै एसपी सेन जस्तै बोर्डर आउट पोष्ट फुलगामाका इन्पेक्टर बाबुराम लम्सालले उमेश साह, सुल्तान मियाँ, बिन्देश्वर नायक, फेकनलगायतका व्यापारीहरुलाई लाइन दिएका छन् । यिनीहरु नेपालबाट मुख्यतः रक्सी, स्याउ, तुथपेस्ट, फेयर एण्ड लभ्लीलगायतका मालसामान भारत पठाउने गरेका छन् ।

मुखियापट्टि गाउँपालिका वडा नम्बर १ को मुसरनिया उतरबारीटोल घर भएका नागेन्द्र यादवको घरमा भारतबाट लत्ताकपडा तथा इलेक्ट्रोनिक्स सामानहरु भण्डारण गरी त्यहीबाट तस्करी हुने गरेको छ । रातभरी बाइकमा मालसामान ढुवानी गर्दा वरपरका छरछिमेकलाई दिक्क लागिसकेको एक स्थानीयवासीले गुनासो गरे । त्यस्तै धनुषाको पूर्वी भेग इनर्बाबाट पेट्रोल, डिजल र सिलप्याक तथा खुला रक्सी भारत पठाउने गरेका छन् ।

डिआइजी गणेश ठाडामगर आएदेखि तस्करी बन्द रहेको भनिए पनि गणका एसपी सेनले विभिन्न व्यापारीहरुसँग कात्तिक महिनाको रकमसमेत १० गतेभित्र नै उठाइसकेको एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा बताए । स्रोतका अनुसार एसपी सेनले गफार मियाँका छोरासँग यस महिनाको २ लाख, नयुमसँग १ लाख, समतुल्लाहसँग १ लाख, धर्मेन्द्रसँग १ लाख, तुलसी (राँगा व्यापारी)सँग ३५ हजार, उमेशसँग ७० हजार रुपैयाँ उठाइसकेका छन् ।

जटही भन्सारमार्फत सुरक्षित तस्करीको लाइन दिएवापत इसमाइलका छोरा अजिजुल, अलि हसन शेख, रञ्जित रौनियार, विजय कर्ण, सोहन जलानलगायतका व्यापारीहरुसँग एकमुष्ट रकम जलानको हातबाट २ लाख रुपैयाँ उठाइसकेको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।

बेलाबेलामा एसपी सेनले सेटिङमा तस्करलाई लाइन दिई तस्करी गराएको समाचार विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा समाचार आइरहेको छ । केही दिन अगाडि एक सञ्चारमाध्यममा आएको समाचारबारे प्रतिक्रिया दिँदै यस्ता समाचारले आफूलाई केही नहुने र यहाँको पत्रकारको हैसियत आफूलाई थाहा भएको बताएको अडियो सुरक्षित छ ।

प्रतिक्रिया दिनुहोस्