बाढिपीडितको दुखेसो : राहतका नाममा त्रिपालसमेत पाएनौं ! « Drishti News – Nepalese News Portal
Logo

बाढिपीडितको दुखेसो : राहतका नाममा त्रिपालसमेत पाएनौं !


हिक्मत बम


धनगढी । कैलालीको भजनी नगरपालिका ७ का रामचरण चौधरी एक वर्षदेखि हुलाकी सडकमा आश्रय रहेका छन् । गत असोजमा आएको बाढीले घरखेत बगाएपछि उहाँको परिवारको बिचल्ली भयो । केही दिन आफन्तकोमा बसे । तर, घर फर्किनै नसक्ने अवस्था भएकापछि हुलाकी सडक उनको आश्रय स्थल बन्यो ।

‘मेरो परिवारमा ५ जना छौँ, हामी एक वर्षदेखि सडकमा बसिरहेका छौँ, अझै हाम्रो उद्धार भएन, चिसो मौसम सुरु हुँदै छ, ओढ्ने ओछ्याउने कपडा पनि छैनन् कठ्यांग्रिएरै मर्छौ जस्तो छ’ उनले भने ।

उनीमात्रै हैन गत वर्षको वर्षाले विस्थापित तीन दर्जन परिवार सडक र जङ्गल छेउमा आश्रय लिइरहेका छन् । गत असारमा आएको बाढीले विस्थापितहरू पनि सडकमै छन् ।

मोहना नदी छेउमा हाम्रो बस्ती थियो, असारमा आएको बाढीले घर भत्काएर लग्यो, हामी बिचल्लीमा परेर सडकमा बस्न आयौँ, भजनी ५ का विक्रम चौधरीले भने, घर बगे पनि खेत थियो, धान खेती गरेका थियौँ, कार्तिक पहिलो साता आएको बाढीले खेतको धान पनि बगायो, अब के खाएर गुजारा चलाउने, राहतका नाममा त्रिपाल पनि पाएका छैनौं । बाढीले विस्थापित भएर सडकमा आश्रय लिइरहेकाहरू सबैले त्रिपाल पनि पाएका छैनन् ।

२ सय ५० परिवार कार्तिक पहिलो साता विस्थापित भएका छौँ, कोही घर फर्किसके कोही जङ्गलमा त, कोही सामुदायिक वन र विद्यालयको भवनमा आश्रय लिइरहेका छन्, हामी भने सडकमै छौँ, भजनीकी हिरादेवी डगौराले भने- ‘सिमेन्ट र चामलका बोरा सिलाएर त्रिपाल बनाउदैछौँ, हाम्रा लागि सरकार छैन भोट दिने मात्र हो हाम्रो काम । तिहार सुरु भइसक्यो तर हामीलाई छाक टार्नै मुस्किल छ, दुःखमा भएको बेला पापी तिहार रुवाउन मात्रै आउँछ’, भजनी ७ का जयबहादुर बुढाले भने, टहरोमा लालाबाला पनि छन् कसरी भुलाउने उनीहरूलाई, दुई जोडी कपडा मात्र छन्, धान सबै बाढीले बगायो, एक महिनासम्मलाई मात्र खाद्यान्न छ त्यसपछि के खाने खै ।

हुलाकी सडकको भजनी नगरपालिकाको कृष्ण नगरदेखि सोनहाफाँटासम्मको उच्च स्थानमा बाढी पीडित विस्थापित परिवार बसिरहेको बिरेन्द्र जोशीले बथाए । ‘हुलाकी सडक नै हाम्रा लागि उच्च सुरक्षित स्थान हो, सबै जसो हुलाकी सडकमा आएर बसेका छन् अहिले ५ सय परिवार आश्रय लिइरहेको अनुमान गरेका छौँ, उनले भने ।

डुबानका घर सरसफाइ गरिँदै
असोज ३१ गतेदेखि परेको बेमौसमी झरीसंगै आएको बाढी मोहनी चौधरीको घरमा पसेपछि उनको परिवार पनि विस्थापित भयो । केही दिन उनीहरू सडकमा बसे, अहिले घर भित्रको पानी सुकिसकेपछि घर फर्किन उनी सरसफाइ गदैछन् । ‘घर ढुङ्गा, बालुवा पात पतिङ्गरले भरिएको थियो, सफा गदै थिए, ओछ्यानको तल सर्प रहेछ, आत्तिँदै बाहिर निस्किए छिमेकी आउन नपाउँदै सर्प भागिहाल्यो, घर सफा गर्न पनि डर लाग्दै छ, कसरी बस्ने होला’, उनले भने ।

‘बाढीले वनमा रहेका अजिङ्गर तथा सर्प बगाएर बस्तीमा पु¥याएको हुन्छ’, स्थानीय गजेन्द्र धामीले भने, ‘बाढीले हरेक वर्ष सर्प, अजिङ्गर बस्तीमा पु¥याउँछ ।’ बाढी प्रभावित क्षेत्रमा ज्वरो, रुघाखोकी र पखाला लाग्नेजस्ता समस्या देखिन थालेका छन् । स्थानीय सरकार तथा स्वास्थ्य संस्थाले स्वास्थ्य शिविर गर्ने, नियमित उपचारमा सघाउने, बाढीपीडितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाए सहज हुने थियो ।

सरकारी निकायप्रति उदासिन छन् पीडितहरु
सडकमा आश्रय लिइरहेकाहरू बाढि पीडितहरुको व्यवस्थापनमा सरकारी निकाययले कुनै चाँसो नदेखाउँदा पीडितहरु सरकारप्रति उदासिन भएका छन । स्थानीय तह र प्रदेश सरकारबाट विपद्को समयमा सामान्य राहतसम्म नपाएको प्रभावितहरूको गुनासो छ । भजनी नगरपालिकाले न त प्रभावितहरूलाई आवश्यक राहत सामग्रीको बन्दो बस्तो गरेको छ नत उचित बासको व्यवस्थापन नै ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी प्रभावितहरूलाई सामान्य राहत वितरण गरिएको बताउँछन् । ‘हामीले उहाँहरूको अवस्था बुझेर सामान्य राहत स्वरूप चाउचाउ, चिउरा, नुन, तेल, चामल वितरण गरेका छौँ, यो राहतले उनीहरूलाई पुग्दैन, केही घर फर्किए पनि अधिकांश अझै सडकमा छन्, समस्याको दीर्घकालीन समाधान भनेको बस्ती स्थानान्तरण हो’, प्रमुख प्रशासकीय अधिकृत विनाडीले भने, ‘तटबन्ध र बस्ती व्यवस्थित पार्न एक्लो प्रयासले हुँदैन, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिरहेका छौं ।’

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बाढी प्रभावितहरूलाई विशेष सजकता अपनाउन आग्रह गरेका छन् । प्रभावित क्षेत्रमा सरुवा रोगको सङ्क्रमण बढी हुन्छ, यस्तो बेला सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

बाढीको समयमा जताततै फोहर भएको छ । झारपात बगेर बस्तीमा पसेको छ । फोहरका कारण महामारी फैलनसमेत सक्छ, प्रवक्ता कार्किले भने, यस्तो बेलामा उमालेको पानी पिउने, सुत्दा खाटमा सुत्ने, अनिवार्य झुल लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्