Logo
Logo

ओमिक्रोन फैलन दिँदैनौ, लकडाउन हुँदैन : स्वास्थ्य राज्यमन्त्री



दक्षिण अफ्रिकामा पहिलो पटक केही समयअघि देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि देखिएको छ । विदेशबाट आएका दुईजनामा संक्रमण पुष्टि भएसँगै यसको असरबारे चर्चा चुलिएको छ । संक्रमण फैलिन नदिन नेपाल सरकारको तर्फबाट के–कस्ता प्रयास भइरहेका छन् ? स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङसँग गरिएको कुराकानीको सम्पादित अंश:

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि देखियो ? जोखिम न्यूनीकरण गर्न सरकारले के–कस्ता प्रयास गरिरहेको छ ?

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको थियो । नेपालमा पनि ओमिक्रोन भर्खरै देखिएको छ । २०७८ मंसिर ३ गते ओमिक्रोन पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाकाबाट नेपाल प्रवेश गरेका ६६ वर्षीय विदेशी नागरिकमा संक्रमण देखियो ।

ती व्यक्ति नेपाल आउँदा नियमानुसार पिसिआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो । उनीसँग नजिकको सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्ति र स्वयं आफैंलाई मंसिर ७ गते कोभिड– १९ सँग मिल्दाजुल्दा लक्षणहरू देखिएपछि परीक्षण गर्दा कोभिड–१९ को नतिजा पोजिटिभ आयो ।

कोभिड–१९ परीक्षणमा पोजिटिभ आएकाहरूको एस–जिन परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीति अनुरूप परीक्षण गर्दा दुवैजनाको नमूनामा एस–जिन फेला परेको थिएन । एस–जिन फेला नपरेका उक्त दुबै नमूनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा २०७८ मंसिर १९ गते राति कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको छ । हाल दुबैजना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा रहेका छन् ।

दुबैको स्वास्थ्य अवस्था सामान्य छ । ओमिक्रोन पुष्टि भएकाहरूको सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । उनीहरूमा संक्रमण देखिएको छैन । ओमिक्रोन फैलन नदिन नेपाल सरकार सचेत छ । संक्रमण देखिएका विभिन्न ९ देशबाट नेपालमा आउन रोक लगाइएको छ । संक्रमण फैलिन नदिन राज्यका तर्फबाट आवश्यक सबै काम हुन्छ । हामी त्यसको तयारीमा जुटिसकेका छौँ । तसर्थ, सम्पूर्ण नागरिकलाई स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आह्वान गर्न चाहन्छु ।

कन्ट्याक्ट ट्रेसिङलगायतका कामलाई कसरी प्रभावकारी बनाउनुहुन्छ ?

हामीले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेका छौँ । खोपको विवरण लिने, लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेका छौँ । हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरूको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । एन्टिजेन परीक्षणमा पोजिटिभ देखिए नमुना संकलन गरी पिसिआर गर्ने र शंकास्पद नमूनाहरूको जिन सिक्वेन्सिङ गर्ने गरिएको छ । हामीले एक महिनाअघिदेखि पोजिटिभ देखिएका नमूनाहरूको थप परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ ।

मुख्यकुरा, अहिले विदेशबाट को–को आए, को–कोसँग सम्पर्कमा रहे भन्ने नै हो । अहिले हामीले ओमिक्रोन संक्रमितसँग सम्पर्कमा आएका ६६ जनाको परिक्षण गरिसकेका छौँ । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको रिपोर्ट नेगेटिभ आएको छ । ओमिक्रोन नेपालमा फैलिन नदिन हामीले गम्भीर रुपमा सोचिरहेका छौँ । रोजगारीको लागि लाखौँ मानिस भारतमा छन् । भारतमा संक्रमण फैलियो भने उनीहरू स्वभाविक रुपमा स्वदेश आउँछन् ।

भारतबाट आउनेलाई सीमामा क्वारेन्टिन र आइसोलेसनको व्यवस्था गरेर जानुपर्ने हुन्छ । परीक्षणको क्रममा संक्रमण देखिए उपचारको व्यवस्था गर्ने र संक्रमण नदेखिएकालाई क्वारेन्टिनमा निश्चित अवधि राखेर घर जाने वातावरण बनाउनुपर्छ । विश्व स्वास्थ्य संगठनले पनि त्यतिधेरै आत्तिहाल्नुपर्दैन भनेको छ । तर, हामी आवश्यक तयारीमा द्रुत गतिमा लागेका छौँ ।

सीमानाकालाई कसरी नियमन गर्नु हुन्छ ? बन्द नै गर्ने भन्ने पनि छ कि ?

त्यसबारेमा अहिले निर्णय भइसकेको छैन । सीमा नाकालाई सरकारले व्यवस्थित गर्नुपर्छ । निश्चित अवधिसम्म क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ । संक्रमण भए–नभएको परिक्षण गर्नुपर्छ । नागरिकलाई देशभित्रै आउन नदिने भन्ने कुरा हुँदैन । कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा हामी निर्णयमा पुग्दै छौँ । तीन वटै तहका सरकार (केन्द्र, प्रदेश र स्थानीय तह)को समन्वयमा हामी काम गर्छौँ । सबैभन्दा ठूलो भूमिका स्थानीय सरकारको हुन्छ ।

ओमिक्रोनपछि कोभिड–१९ विरुद्धको बुस्टर डोज अर्थात तेस्रो मात्राको चर्चा हुन थालेको छ । अहिलेदेखि यो अभियान थाल्नुहुन्छ ?

अहिले नै निश्चित भइसकेको छैन । सरोकारवाला बसेर निर्णय गर्नुपर्छ । विषयविज्ञसँग बसेर छिट्टै निर्णयमा पुग्छौँ । मन्त्रिपरिषदबाट निर्णय गरेर बुष्टर डोजको अभियान चलाउँछौँ ।

तर, पहिलो मात्रा नै नलगाउनेको संख्या पनि धेरै छ, सोचेअनुसार सर्वसाधारणले खोप किन लगाएनन् ? मन्त्रालयले कुनै अध्ययन गरेको छ ?

कोभिड–१९विरुद्धको खोप लगाउने काम अहिले धमाधम भइरहेको छ । प्रत्येक दिन खोप लगाइएको छ । दैनिक २ लाखसम्मले पनि खोप लगाएका छन् । तर, कतिपयले चेतनाको अभावका कारण, भ्रमका कारण पनि खोप नलगाएको भन्ने सुन्नमा आएको छ । कतिपय ठाउँमा प्रचारको अभावको कारणले पनि खोप नलगाएको हुन सक्छ ।

दूरदराजमा थाहा नभएको पनि हुन सक्छ । प्रचारप्रसारमा मिडियाको ठूलो भूमिका हुन्छ । केन्द्रमा मात्रै होइन, तलसम्मै खोप पुगेको छ । खोप अभियानलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता छ । महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट बच्न खोप अनिवार्य लगाउनुर्छ । नेपाल सरकारले यो वर्षको अन्त्यसम्म सबैलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य पूरा गर्न हामी कटिवद्ध छौँ ।

सार्वजनिक स्थलहरूमा मास्कसमेत नलगाइ मानिसहरू हिडिरहेका छन् । स्वास्थ्य मापदण्ड कसरी प्रभावकारी रुपमा कार्यान्वयन गराउनुहुन्छ ?

सरकारले स्वास्थ्य मापदण्ड तोकेको छ । मापदण्ड पालना गर्नू हरेक नागरिकको कर्तव्य पनि हो । महामारीको समयमा मापदण्ड पालना गर्नू झन् महत्वपूर्ण हुन्छ । कतिपय ठाउँमा चेतनाको अभावका कारण पनि मादपण्ड पालना नभएको हुन सक्छ । मास्क लगाउनुपर्छ भन्ने थाहा नभएको पनि हुन सक्छ । जनचेतना फैलाउने काममा तीन वटै तहका सरकार, नागरिक समाज र मिडियाले भूमिका खेल्नुपर्छ ।

स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्छ । शहरबजार, मानिसको उपस्थिति बाक्लो हुने ठाउँमा होसियार हुनुपर्छ । अहिले संक्रमण दर घटेका कारण मानिसहरूले स्वास्थ्य मापदण्ड त्यति ख्याल नगरेको हुन सक्छ । ओमिक्रोनसमेत पुष्टि भएको अवस्थामा मापदण्ड अनिवार्य पालना गर्नुको विकल्प् छैन । सरकारले तोकेको मापदण्ड हरेक नागरिकले पालना गर्नुपर्छ । कोभिड–१९लाई मानवले जित्नुपर्छ ।

भीडाभाड हुने गरी विभिन्न दलका महाधिवेशनहरू भइरहेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन पनि नजिकिँदै छ । यसले त झन संक्रमण फैलाउने सम्भावना देखियो नि होइन ?

कोभिड–१९ केही मत्थर भएको मौका पारेर राजनीतिक दलहरूले महाधिवेशनको निर्णय गरे । संवैधानिक रुपमा पनि दलहरूलाई पाँच वर्षभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता छ । अहिले ओमिक्रोन देखिसकेको अवस्थामा राजनीतिक दलहरूले स्वास्थ्य मापदण्ड ख्याल गर्नुपर्छ । आमनागरिकलाई सन्देश प्रवाह गर्ने गरी राजनीतिक दलहरू अगाडि बढ्नुपर्छ ।

फेरि निषेधाज्ञा हुन्छ कि भन्ने चिन्ता सर्वसाधारणमा देखिन्छ ?

हालसम्म ओमिक्रोन विश्वका ४० देशहरूमा फैलिसकेको जानकारी आएको छ । अहिलेसम्म ती देशका ५७४ जना ओमिक्रोन भेरियन्ट संक्रमित देखिएका छन् । ओमिक्रोन सर्ने र संक्रमणले पार्ने जोखिमबारे बैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् । नेपाल सरकारले पनि जोखिम न्यूनिकरणका विभिन्न प्रयासहरू गरिरहेको छ । विभिन्न देशमा ओमिक्रोन देखिएपछि हामीले ९ वटा देशबाट नेपाल आउन अनुमति नदिने निर्णय ग¥यौँ । देशभित्रै ओमिक्रोन देखिएपछि फेरि लकडाउन हुन्छ कि भन्ने पर्नु स्वभाविकै हो । तर, अहिले नै लकडाउन हुने अवस्था छैन । विश्व स्वास्थ्य संगठनले पनि आत्तिनुपर्दैन भनेको छ । ओमिक्रोनकै कारण मानिसको ज्यान पनि गएको छैन ।


यद्यपि, छोटो अवधिमै विश्वभर ५७४ जनालाई संक्रमण भएको छ । तीब्र रुपमा फैलिने आँकलन भइरहेका छन् । यसतर्फ हामी सजग हुनै पर्छ । स्वास्थ्य मापदण्ड ख्याल गर्ने हो भने लकडाउन गर्नुपर्ने अवस्थामा मुलुक पुग्दैन । मुख्यकुरा जनताको जीउधनको सुरक्षा नै हो । सरकार र जनता मिलेर वातावरण सहज बनाउदै अगाडि बढ्दा लकडाउन गर्नुपर्ने अवस्था आउँदैन भन्ने लाग्छ ।

प्रतिक्रिया दिनुहोस्