Logo

पार्टी गैंडा, ओली उँट र कार्यकर्ता भेडा



पार्टीलाई गैँडा, ओलीलाई उँट र कार्यकर्तालाई भेडा बनाउँदै चितवनको सौराहामा नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन गत साता सम्पन्न भयो । यस महाधिवेशनबाट सबैभन्दा बढी खुशी कोही भए भने त्यो केपी ओली नै हो । किनभने, आफ्नो पूर्वप्रतिवद्धता विपरीत ओली अध्यक्ष पदमा चुनिए ।

ओलीले एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा आफू एकपटकका लागि मात्र अध्यक्ष पदमा लड्ने भन्दै दशौं महाधिवेशनमा ईश्वर पोखरेललाई एमालेको नेतृत्व सुम्पने प्रतिवद्धता जाहेर गरेका थिए । ओलीले पटक–पटक एउटै कक्षा दोहोर्याएर नपढ्ने भन्दै आएका थिए । तर, दोहोर्याएर छाडे । एमालेमा ओली दोस्रोपटक विजयीसँगै ईश्वर पोखरेलको राजनीतिक भविष्य समाप्त भएको छ ।

त्यसो त माओवादी केन्द्रसँग पार्टी एकता गर्दा एकता महाधिवेशनपछि नेकपाको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुम्पने प्रतिवद्धता ओलीले गरेका थिए । त्यही आशा र विश्वासमा एमालेसँग चुनावी तालमेल गर्दै माओवादीसँग पार्टी एकतासम्मको यात्रा तय भयो । प्रचण्डसँग आधा, आधा कार्यकाल प्रधानमन्त्री चलाउने लिखित सम्झौता नै भएको थियो ।

यदि, त्यो सम्झौता कार्यान्वयन भएको भए अहिले पनि कम्युनिष्ट पार्टीको दुईतिहाइको सरकारको अकाल मृत्यु हुने थिएन । त्यसको नेतृत्व ओली स्वयंले गरिरहेका हुन्थे । प्रचण्डले त्यो सम्झौता पनि पार्टी एकता जोगाउन छाडिदिएका थिए ।

सौराहामा जति नै तामझाम गरेर महाधिवेशन सम्पन्न भए पनि एमालेको ताकत आगामी निर्वाचनले देखाइदिने छ । लोकतन्त्रका मालिक जनता हुन्, जनताले नै निर्वाचनमार्फत नेकपालाई दुईतिहाइ मत दिएर पाँच वर्षका लागि सत्ता सुम्पिएका हुन् ।

तर, कसका कारण पाँच वर्षसम्म सत्ता टिकाउन सकिएन ? कसका कारण माओवादीसँगको गठबन्धन टुट्यो ? दुईतिहाइको सरकारलाई ढाल्न किन संसद् भंग गर्नुपर्याे ? संसद् भंग भइसकेपछि सर्वोच्च अदालत प्रयोग गरेर एमाले र माओवादी कसले अलग्यायो ? सिंगो एमाले पनि कसका कारण जोगाउन सकिएन ? र, एमाले टुक्र्याउनु पर्ने परिस्थिति कसले निम्त्याए भन्ने कुराको जवाफ एमालेसँग अब जनताले माग्नुपर्छ ।

एमाले भन्ने पार्टी अमूक एउटा नेताले बनाएको पार्टी होइन । यो पार्टी निर्माणमा धेरैको बलिदानी दिएका छन् । जेलनेल यातना भोगेका नेता, कार्यकर्ता अझै ज्युँदै छन् । र, लाखौं इमान्दार कार्यकर्ताले निर्माण गरेको पार्टी हो, एमाले । यो पार्टीलाई जन्माउने, हुर्काउने र लामो समयसम्म नेतृत्व दिने नेताहरुको अनुहार सौराहामा देखिएन । जो देखिए सबै ओलीका दास थिए । दास बन्न सौराहा पुगेर ओलीलाई अध्यक्ष त बनाए ।

तर, दुईतिहाइको पार्टीलाई एक चौथाइमा पुर्याउने ओलीलाई पुनः अध्यक्ष बनाउनुपर्ने बाध्यताका बारेमा कुनै समीक्षा भएन । यदि नेकपा एमालेमा अलिकति पनि माक्र्सवाद, लेनिनवादको चेत बाँकी रहेको भए महाधिवेशनमा त्यस विषयमा गम्भीर ढंगले गल्ती कमजोरीका विषयमा छलफल हुन्थ्यो । धन्न, भीम रावलले ओलीविरुद्ध अध्यक्ष पदमा उम्मेदवारी दिएर पार्टीभित्रको आन्तरिक लोकतन्त्र जोगाए । यो पनि रावलको नाटक नै थियो ।

प्रतिक्रिया दिनुहोस्