Logo
Logo

सौराहामा ओलीसँग भुसालहरुको डिएनए मिलेन


जगन्नाथ खतिवडा, प्रवक्ता नेकपा (एकीकृत समाजवादी)


नेकपा एमालेबाट ब्रिदोह गरेर नयाँ पार्टी गठन गर्नुभएको छ । सुरुवाती संकेत कस्तो छ ?

हामीले पार्टी गठन बनाएको तीन महिनामात्रै पुगेको छ । एमाले विधि, पद्धतिबाट बाहिरिएकोले मुलुक र जनताको एजेन्डा सम्बोधन गर्न विद्रोह गर्नुपर्ने स्थिति आएको हो । एमाले दक्षिणपन्थी विसर्जनवादको भासमा भासियो । अब, कम्युनिष्ट पार्टीको नेतृत्व गर्नुपर्ने दायित्य हाम्रो काँधमा आइपुगेको छ । आजको दिनसम्म आइपुग्दा ७७ मध्ये ७६ जिल्लामा व्यवस्थित ढंगले जिल्ला कमिटी गठन भइसकेका छन् । सबै जनसंगठनमा कमिटी गठन भइसकेका छन् । केन्द्रीय कमिटीले पूर्णता पाइसकेको छ ।

अहिलेसम्म तीनवटा प्रदेशमा प्रदेशस्तरीय कार्यकर्ता भेला र आधाभन्दा धेरै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला भएका छन् । एमालेलगायत धेरै पार्टीहरूबाट हाम्रो पार्टीमा प्रवेश गर्ने लहर चलेको छ । यी सबै घटनाक्रमलाई हेर्दा हामीले आजसम्म लाखौँ कार्यकर्तालाई पार्टी कमिटीमै गोलबन्द गरिसकेका छौँ । हामी निकै उत्साहित छौँ । अबको कम्युनिष्ट आन्दोलनको एक उचित विकल्पको रुपमा कम्युनिष्ट जनमतले हामीलाई स्वीकार गरेको छ भन्ने महसुस गरिरहेका छौँ ।

एमालेमै लामो समय नेतृत्व गर्नुभएका माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) एमालेभन्दा कसरी फरक हुन्छ ?

नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी विसर्जनवादी सोचलाई समाप्त गर्दै असल वामपन्थी बनाउनुपर्ने चुनौती छ । माओवादी जनयुद्धको बेला नेपालको कम्युनिष्ट आन्दोलन उग्रवामपन्थी धारबाट बढी निर्देशित थियो । त्योभन्दा अगाडि यो दक्षिणपन्थी धारमा बढी केन्द्रिकृत देखिन्थ्यो । अहिले पनि केपी शर्मा ओलीको नेतृत्वमा दक्षिणपन्थ हाबी छ ।

ओली कम्युनिष्ट आदर्शलाई समाप्त गर्दै कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने दिशातर्फ लागे । उनी नवउदारवादको सक्कली प्रतिनिधिको रुपमा आफूलाई प्रस्तुत गर्न पुगे र कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत बनाए । यसकारण आज कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादी धारबाट जोगाउनु नै आजको पहिलो कर्तव्य बन्न पुगेको छ । एमाले र एकीकृत समाजवादीको भिन्नताको लक्ष्मणरेखा त्यहीबाट सुरु हुन्छ ।

दोस्रो व्यवहारमा हामी भिन्न छौँ । सिद्धान्त निर्देशित व्यवहारलाई ओलीले दक्षिणपन्थी विसर्जनवादको रुपमा लिए । हामी जनवादी व्यवहार अर्थात कम्युनिष्ट आचारण र सिद्धान्तअनुरुप जनतासँग गर्ने व्यवहारमा विश्वास गर्छौ, सोही अनुसार अगाडि बढेका छौँ । । गरिब, निमुखा जनता नै हाम्रा महान् गुरु हुन्, तिनीबाट सिकेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छौँ र सोही व्यवहार गर्छौं । कम्युनिष्टहरुले पढेको शिक्षा र आदर्श पनि यही हो । ओलीले जनताबाट कहिले सिकेनन्, जनतालाई उल्टै उल्लु बनाए । जनतालाई भाषणको भारी टाउकोमा बोकाएर आफू सँधैभरी सुपरलिडर बन्नेतिर लागे । ओलीको यो प्रवृत्तिबाट मुक्त गर्नका निम्ति व्यवहारमा जनवादीशैली अपनाउनु आजको प्रमुख कर्तव्य बन्न पुगेको छ । यस अर्थमान पनि हामी एमालेभन्दा भिन्न छौँ ।

पार्टी जन्मका हिसावले शैशव अवस्थामा छ । तर, विचारका हिसावले हामी परिपक्व छौँ । किनकि हामी विद्रोहको त्यो लामो विरासतबाट आएको नेतृत्व हौँ । र, कमरेड पुष्पलालको सही विचारको प्रतिनिधित्व नेपाली माटोमा आज हामी गर्दैछौँ । त्यसकारण हाम्रो परिपक्व राजनीतिक नेतृत्व पुरानो छ, अनुभवी छ, दृष्टिकोणमा प्रष्ट छ । तर, संगठनको हिसावले यो शैशवकालमा छ । त्यसकाण सबै कुरा अहिले भनेजस्तो बन्न सक्दैन । यो प्रक्रियामा छ ।

तेस्रो कुरा, हाम्रो मुलुक बन्न नसकेको कारण नेताहरूले राम्रो कुरा सोच्न नजानेकाले, बोल्न नजानेकाले, राम्रो योजना थाहा नपाएकाले, संसारका राम्रा विकासका मोडल देख्न नपाएकाले, संसार घुम्न नपाएकाले होइन । हाम्रो मुलुक बिग्रेको राजनीतिक दलहरूसँग आफ्नो संकल्पअनुसारको इच्छाशक्ति नहुनाले, त्यसलाई पालना गर्ने प्रतिवद्धता नहुनाले, सपनामात्रै देखाउने तर जनताको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्ने कुरामा दृढता नदेखाउनाले, शासन व्यवस्थालाई सुधार गरेर अगाडि बढ्नुपर्छ भन्ने संकल्प नगर्नाले हो । यसकारण अब सुशासनका लागि, सही ढंगले जनताको प्रतिनिधित्व गर्ने राजनीतिक प्रणालीको लागि हामी लाग्नुपर्ने स्थिति छ । एमालेबाट हामी त्यो कुरामा भिन्न भएर अगाडि बढेका छौँ ।

समग्रतामा आज जनतालाई कुनै ठूलो सिद्धान्तको भारी चाहिएको छैन् । व्यवहारमा सरल, सुगम जिन्दगी जिउन सक्ने कला चाहिएको छ । जनताको त्यो आकांक्षालाई राज्यसत्ताले पूरा गरिदिनुपर्ने छ । त्यो पूरा गर्न हामी अगाडि बढ्नुपर्छ । कम्युनिष्टहरू नै श्रमजीवि जनताको आकांक्षालाई पूरा गर्न सक्ने सक्कली प्रतिनिधि पात्र हुन् । त्यो कम्युनिष्टको प्रतिनिधित्व हामीले गर्नुपर्छ भन्ने हिसावले प्रारम्भकालमा नै हाम्रो स्वभाव, व्यवहार र शैलीलाई सुधार गर्दै आएका छौँ ।

हामी जनपक्षीय शैली र आचरण लिएर अगाडि बढेका छौँ । हामी सुधारको बाटो खोजिरहेका छौँ । क्रमशः यसको सिस्टमलाई जीवित गर्न, दृष्टिकोण र इतिहासको गौरवलाई पुनःस्मरण गर्न र त्यसलाई पुनःजागृत गर्ने बाटोमा हामी छौँ । राम्रा परम्पराहरूको पुनःजागरण गर्न र अरु थप राम्रा परम्परा बसाल्नका निम्ति हामी कोसिस गरिरहेका छौँ । त्यसकारण आज हामी ‘डिपार्चर’ रेखाबाट विस्तारै अगाडि बढिरहेका छौँ ।

हामीले कमिटी प्रणालीबाट निर्णय गर्ने विषयलाई उच्च प्राथमिकता दिएका छौँ । ओलीले व्यक्तिलाई प्रधान बनाए भने नीतिलाई गौण बनाएर हिडे । हामी नीतिलाई प्रधान, व्यक्तिलाई गौण बनाएर हिडेका छौँ । हाम्रोमा कमिटीको निर्णय नै पार्टीको निर्णय हुन्छ । ओली आज पनि व्यक्तिको निर्णय नै पार्टीको निर्णय भनेर हिडिरहेका छन् । ओलीको इच्छाअनुसार चलेन भने पार्टी नै नहुने स्थिति छ । हामी पार्टी अनुशासनभित्र हिड्छौँ । हामीले हाम्रा मन्त्रीहरूलाई छाडा छोडेका छैनौँ । पार्टीको नियन्त्रण, निगरानी, निर्देशन र परामर्शमा मात्रै काम गर्नका निम्ति अनुकुलता प्रदान गरेका छौँ ।

ओलीले राष्ट्रियताका लागि अनेकै पटक सौदावजी गरे । हामी त्यो सौदावाजीबाट पृथक हुन चाहन्छौँ । राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्तालाई जोगाउनका निम्ति अनावश्यक सौदावाजी गर्दैनौँ भन्ने लाइन पक्रेर कार्यकर्तालाई प्रशिक्षित गर्दै छौँ । सामान्यतयाः जनताको साथीको रुपमा, सचेत नेतृत्वकर्ता पंक्तिको रुपमा हामीलाई स्थापित गराउन चाहन्छौँ । त्यो कोसिस गरिरहेका छौँ ।

विद्रोह गर्न अलि हतार भयो, महाधिवेशनसम्म कुरेको भए एमालेमै परिवर्तन सम्भव थियो भन्ने विश्लेषण हुने गरेको छ नि ?

मानिसहरूले एउटा अंशको कुरा गरेका हुन्, पूर्ण होइन । कसैलाई महाधिवेशनसम्म पर्खेको भए राम्रो हुन्थ्यो भन्ने लागेको थियो भने अहिले त देखिहालियो । महाधिवेशनसम्म पर्खने भीम रावल, घनश्याम भुसालहरूको हविगत के भयो ? सुरेन्द्र पाण्डे, योगेश भट्टराईहरूले कसरी आफूलाई पूर्ण रुपमा केपी ओलीसामू आत्मसमर्पण गराए ? विद्रोहको चेतना राख्ने भीम रावलहरूको हविगत के भयो ? आफ्नो चेतना ओलीसँग विलन गराउनेहरू कुन ठाउँमा पुगिरहेका छन् भन्ने त देखिएकै छ ।

यसकारण महाधिवेशन त्यस्तै हुने थियो, जसरी भीम रावलहरूप्रति व्यवहार भयो । एमाले महाधिवेशनको क्रममा कतिपय उम्मेदवार धम्कीका कारण खोलाको बगरमा रातभर लुकेर बसेको घटना पनि सुनियो । घोक्र्याइमुन्ट्याइमा परेको पनि सुनियो । स्वयं भीम रावलहरूलाई पनि कुट्छु, पिट्छु, मार्छु भनेका कुरा पनि सुनियो । आन्तरिक लोकतन्त्रको चीरहरण एमालेमा कसरी भएछ भन्ने सुनिरहेका छौँ । अर्थात्, त्यो नेकपा (एमाले) अब नेकपा (बामाले) मा रुपान्तरण भइसकेको छ । केपी ओली पार्टीका सम्पूर्ण संरचना कब्जा गरेर, आफूले भनेको व्यक्तिलाई मात्र केन्द्रीय सदस्य बनाउने बाटोमा हिडिसकेका थिए । अहिले पनि एमालेको महाधिवेशनमा त्यो देखियो । हामीले उचित समयमा, उचित विद्रोह गरेका हौँ । जुन अनिवार्य थियो ।

भनेपछि, नेकपा (एमाले)का लागि जनताको बहुदलीय जनवाद देखाउने दाँत मात्र थियो ?

ओलीका लागि जनताका बहुदलीय जनवाद (जबज) देखाउने दाँत हो । त्यतिबेला माओवादीसँग सम्झौता गरेकै दिन ओलीले जबजलाई समाप्त गरेर जनताको जनवाद लेख्ने सम्झौता गरिसकेपछि मात्र हामीलाई थाहा दिए । मदन भण्डारीप्रतिको निष्ठा र भक्ति भनेको त ओलीको पाखण्ड मात्रै हो । न निष्ठा छ, न भक्ति, न समर्पण नै । त्यो केही पनि छैन ।

मदन भण्डारी र जबज त ओलीका लागि एउटा ब्राण्ड मात्रै हो । ब्राण्ड देखाएर त्यो माल कहिलेसम्म बिक्री हुन सक्छ भन्ने मात्रै हो । त्यसकारण जबज र मदन एमालेका लागि सामान्य व्यापारिक ब्राण्डको विषय मात्रै हो । ओलीले आफू अध्यक्ष र प्रधानमन्त्री हुँदा हरेक क्रियाकलाप जबजको बर्खिलापमा गरे । त्यसबाट पनि के बुझ्न सकिन्छ भने ओली मदनको विचार अर्थात जबजको सापेक्ष कहिल्यै पनि बन्न सकेनन्, बन्न सक्दैनन् ।

तर, हाम्रा लागि मदनको विचार जबज प्रेरणाको स्रोत हो । मदनले देखाएको मार्गदर्शनको आधारमा कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण र यसको विस्तार सम्भव छ भन्ने हामी देखिरहेका छौँ । त्यो बाटो पक्रने क्रममा हामी लागिरहेका छौँ ।

समाजवादी नाम गरेका दल धेरै भए । अरु दलभन्दा नेकपा (एकीकृत समाजवादी) कुन मानेमा फरक छ ?

प्रगतिशील समाजवाद र पूँजीवादी समाजवाद तथा प्रजातान्त्रिक समाजवाद । यी दुईमा धेरै ठूलो भिन्नता छ । हामीेले चाहेको माक्र्सवादी राजनीतिक अर्थशास्त्रको आधारमा उभिएको समाजवाद हो । जहाँ सर्वहारा, श्रमजीवि जनताको पक्षपोषण गर्ने लोकतन्त्रिक राज्यव्यवस्था हुन्छ । उत्पादन र वितरणको प्रणालीमा हामीले समानता खोजिरहेका छौँ । कतिपय प्रजातान्त्रिक समाजवाद भनेर नाम लेख्ने पनि छन् । नाममा समाजवाद भएर मात्रै हुँदैन । अर्थव्यवस्थामा समाजवादी मोडल र ढाँचा देखाउन सक्नुपर्छ । उदार पूँजीवादी अर्थतन्त्रका विभिन्न स्वरुपहरूलाई प्रयोग गरेर समाजवादको नाम लिनेहरू पनि छन् । निश्चय नै हामीले भनेको समाजवाद प्रगतिशील, रुपान्तरणकारी हो ।

नेकपा (एकीकृत समाजवादी) सरकारको नेतृत्व गर्ने ठाउँमा पुग्दा राज्य संरचनामा कस्तो परिवर्तन ल्याउँछ ? आधारभूत तहका जनताको जीवनस्तरमा के फरक आउँछ ?

हामी यसको गृहकार्यमा छौँ । सम्मानित नेता कमरेड झलनाथ खनालको नेतृत्वमा एउटा कार्यदल बनेको छ । त्यसले ठोस कार्यक्रम ल्याउँछ । हामी तीन खम्बे अर्थनीतिमा जोड दिँदै सहकारी क्षेत्रको भूमिकालाई जनताको सहभागितामूलक विकाससँग जोडेर अगाडि बढ्ने दृष्टिकोणमा छौँ । पूँजीवादी वा नवउदारवादी अर्थतन्त्रको ढाँचाबाट हामी भिन्न हुने छौँ । अर्कोकुरा, सामाजिक सुरक्षा खासगरि शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा हामीले विल्कुल नयाँ नीति ल्याउने कोसिस गर्नुपर्ने छ । जतिधेरै शिक्षा र स्वास्थ्य सबैको लागि सर्वसुलभ र पहुँचयोग्य बनाउन सक्छौँ, जतिधेरै सामाजिक न्याय र समाजवादीकरणको दिशामा हिड्न सक्छौँ । हामी शिक्षा र स्वास्थ्य व्यापारिकरणको विरुद्धमा छौँ । शिक्षा र स्वास्थ्यलाई विस्तारै राज्यबाट संरक्षित गर्दै जानुपर्ने पक्षमा हामी छौँ ।

पूँजी विकासको सन्दर्भमा राष्ट्रिय पूँजीको विकास गर्नका निम्ति राष्ट्रिय पूँजीपतिहरूलाई हुर्काउनुपर्छ । दलाल पूँजीपतिहरूलाई कमजोर बनाउँदै जानुपर्छ । राष्ट्रिय पूँजी बढाउन राष्ट्रिय उद्योगधन्दा खोल्नुपर्छ । त्यसलाई बढवा दिएर रोजगारी सिर्जना गर्न सक्छौँ । पूँजी निर्माण गर्न सक्छौँ । बाहिरबाट आयातित पूँजीका कारण हाम्रो देशको अर्थतन्त्रलाई कंगाल बनाउदै लगेको अवस्थालाई नियन्त्रण गर्न सक्छौँ भन्ने हामीलाई लाग्छ ।

जनताको जीवनस्तर सुधार्न सामाजिक सुरक्षाका नीतिहरूमा निकै ठूलो फेरबदल ल्याउनुपर्ने छ । वृद्धवृद्धाको लागि वृद्धभत्ता दिएर मात्रै पुग्दैन । वृद्धवृद्धाको जीवनरक्षा गर्न सम्पूर्ण स्वास्थ्योपचारको ज्ञारेन्टी गर्नुपर्छ । नयाँ जन्मदै गरेको बालकले पनि आफू हुर्कदै गरेको राज्यबाट ‘म सुरक्षित भएर बाँच्न पाउने छु’ भन्ने आभास दिलाउनुपर्ने छ । मजदूर वर्गले सामाजिक सुरक्षाको अनुभूति गर्ने, कृषिप्रदान देशमा कृषक भोकै मर्नु नपर्ने अवस्था बन्नुपर्छ । कम्तिमा न्यूनतम जीवनयापन गर्ने वातावरणको ज्ञारेन्टी राज्यले गर्ने गरी अर्थतन्त्रको ढाँचा निर्माण गर्ने काममा हामी लागेका छौँ ।

यसका लागि विचार मिल्ने शक्तिहरूसँग एकता गरेर अघि बढ्नु हुन्छ कि एक्लै प्रयास गर्नुहुन्छ ?
सबभन्दा पहिला हाम्रो पार्टी आफ्नो एजेन्डामा स्पष्ट हुनुपर्छ । त्यसपछि प्रस्ताव राख्न सकिन्छ । त्यसक्रममा कतिपय कुरा मिल्लान, कतिपय नमिल्लान । मिल्ने कुरामा सँगै जान सकिन्छ । नमिल्नेमा आ–आफ्नो एजेन्डा बन्न सक्छ । खाली हामी त्यो कुरालाई नेतृत्व गर्न चाहन्छौँ, समन्वय गर्न चाहन्छौँ । अहिलेको सरकार संकटकालिन अवतरण मात्रै हो । यो सरकारले धेरै गर्छ भन्ने हामीले अपेक्षा गरेका थिएनौँ । यो सरकार बनाएर संविधान र लोकतन्त्रको रक्षा गर्न सफल भयौँ । अब भोलि बन्ने सरकारले जनताको सेवा, सुरक्षा र सुशासनको बारेमा यावत काम गर्ने गरी हिडाउने कोसिस हाम्रो रहन्छ ।

तर, एमालेजनहरू त नेकपा (एकीकृत समाजवादी) निर्वाचनसम्म मात्रै हो भन्छन् नि ?
तिक्त अन्तरविरोध भएको बेला कसैले त्यसो भन्यो भने पनि म कुनै अनौठो मान्दिनँ । रिस पोख्न, बदला लिन वा होच्याउन कसैले भन्यो भने त्यो उसको भनाइ, बुझाइको कुरा हो । कुनै कुरालाई उत्तेजित बनाउन, हाम्रो पंक्तिलाई निराश बनाउन भनेको कुरा होला । यसको कुनै अर्थ छैन । एउटा राजनीतिक शक्तिको रुपमा लाखौँ कार्यकर्ता आवद्ध भएको पार्टी ओलीको श्रापले मात्र समाप्त हुँदैन ।

इतिहास हेर्ने हो भने पनि नयाँ पार्टीलाई गाह्रै देखिन्छ नि ?
पहिले र अहिलेमा धेरै फरक छ । कांग्रेस, एमाले, माओवादीलगायतका दलल विभाजन भएको कुरालाई हेरेर भन्नुभएको होला । तर, नयाँ संविधान जारी भइसकेपछि देशको राजनीतिक प्रणालीभित्र धेरै ठूलो फेरबदल आएको छ । पहिले प्रत्यक्षमा सबैभन्दा बढी ल्याउनेले जित्ने प्रणाली थियो ।

अहिले समानुपातिक निर्वाचन प्रणालीबाट पनि जित्ने व्यवस्था छ । समानुपातिक निर्वाचन प्रणालीले पार्टीको मत अभिव्यक्त गर्छ । प्रत्येक्ष निर्वाचित हुने प्रणालीले अल्पमत, बहुमत हुने कुराको प्रतिनिधित्व गर्छ । एउटा पार्टी प्रत्यक्ष निर्वाचनमा हार्यो भने पनि समानुपातिकबाट संसदमा आइरहन सक्छ । राज्यशक्तिको केन्द्र भागमा बसिरहन सक्छ । दुबै ठाउँमा आयो भने त्यो निकै माथि नै पुग्न सक्छ ।

जुनबेला यी विभिन्न पार्टीहरू फुटे, त्यो बेला मान्छेले एजेन्डा कम हेर्थे, खाली आफ्नो पार्टी मात्रै बढी हेर्थे । अहिले सामाजिक सञ्जालको कारण, मिडियाको विकासको कारण, विज्ञान प्रविधिको विकासको कारणले जनता एजेन्डा हेर्ने, व्यक्ति हेर्ने, अगाडिको बाटो हेर्ने अवस्थामा पुगेका छन् । जनताको चेतनास्तरमा आएको परिवर्तन, निर्वाचन प्रणालीमा आएको परिवर्तन र देशमा भइरहेका सबै पार्टीहरूको परिक्षणले पनि हामीलाई सहज नै हुन्छ ।

माधवकुमार नेपाल पनि त परीक्षण भइसकेको व्यक्ति नै हुनुहुन्छ ?
माधवकुमार नेपालको पनि परिक्षण भइसकेको छ । इमानदार, लगनशील, अनुशासित नेतृत्वको रुपमा माधवकुमार नेपालको अरु सबैको भन्दा भिन्न प्रकारको व्यक्तित्व र उचाई छ । श्रमजीवि स्वभावको, नैतिकवान, निष्ठावान व्यक्तिको छवी नेपालको छ । मुलुकको कुभलो माधव नेपालले चिताउन सक्दैन । माधव नेपाल मुलुकको हितलाई दाउमा राखेर जुवा खेल्दैनन् ।

माधव नेपाल इतिहासको त्यो पात्र हो जसले अत्यन्तै संकटमा परेको नेकपा (एमाले)लाई उठाएका थिए । मदन भण्डारीको हत्यापछि एमालेलाई पुनःजागृत गर्ने काम माधव नेपालबाटै भएको हो । माधव नेपालले नैतिकताको आधारमा राजीनामा दिएका घटनाक्रम पनि हामी सम्झिन सक्छौँ । माधव नेपालले खेलेको भूमिकाका कारण मुलुकको राजनीतिलाई कुबाटोमा जानबाट रोकेको छ । माधव नेपालको व्यक्तित्व पनि नेकपा एकीकृत समाजवादी बलियो बन्ने कडी बन्ने छ ।

माधव नेपालले अध्यक्ष पद नपाएकै कारण पार्टी फुटाएको आरोप पनि लाग्छ नि ?
हामीलाई त माधव नेपाललाई अध्यक्ष बनाउनु थिएन । नेपाललाई अध्यक्ष पद नपाएका कारण पार्टी फुटाएको आरोप कसैले लगाउँछ भने नेपाललाई अध्यक्ष बनाउन नपाएका कारण पार्टी फुटाएको भनेर मलाई पनि भने हुन्थ्यो होला नि । नेपाल अध्यक्ष हुने या नहुने भन्ने प्रश्न ठूलो थिएन । नेपालबाट ओलीसँगको अन्तरसंघर्षको सबै ठाँउमा जहिल्यै विधि, विधान र नीतिको कुरा भयो । व्यक्तिप्रधान कुरा नेपालबाट कहिल्यै आएन ।

नेपाललाई व्यक्तिगत रुपमा अध्यक्ष हुन मन लागेको थियो होला । तर, हामी हजारौँलाई नेपाललाई अध्यक्ष बनाउँदा र नबनाउँदामा केही फरक पर्दैनथ्यो । नेपाल र ओली दुबैलाई हामीले नेता मानेरै हिडेका थियौँ । जब, प्रवृतिको विरुद्ध संघर्ष हुन थाल्यो । जब, विचार मिल्न छाड्यो, जब, कम्युनिष्ट पार्टी समाप्त गर्ने कि जोगाउने भन्ने प्रश्न खडा भयो । त्यसबेला कम्युनिष्ट पार्टीलाई जोगाउन नेपालले थालेको अभियानमा हामीले साथ दिएका हौँ । त्यसकारण माधव नेपाल कुनै पदको प्रतिविम्ब होइन । कम्युनिष्ट आन्दोलनलाई सही दिशा दिने प्रतिबिम्ब मात्रै हो ।

त्यसो हो भने ‘१० भाई’ ले अन्तिममा किन साथ छाडे त ?
सबै मानिससँग विद्रोह गर्ने आँट हुँदैन । विद्रोहको चेतना हुन्छ । तर, विद्रोह भनेको निर्णय हो । विश्लेषण मानिसले गर्न सक्छ । राम्रो, नराम्रो छुट्याउन सक्छ । तर, बाटो अर्को लिनका निम्ति मानिसले खास बेला खास निर्णय लिनुपर्छ । उनीहरूले निर्णय गर्न सक्नुभएन । यसका केही तपसिलका कारणहरू छन् ।

म केही प्रतिनिधि तर्क भन्छु– एक नेताले भने ‘म ६० वर्ष नाघेर यति बर्ष भएँ । अब नयाँ पार्टी बनाउन अझै १० वर्ष मिहेनत गर्नुपर्ला । म त्यो बेला ७०, ७५ पुग्छु । अब मैले के प्राप्त गर्छु र यो बुढेसकालमा । त्यसकारण म यो पार्टी छाड्दिनँ ।’
अर्को एक नेताले भने, ‘अहिले यस्तो महंगी छ, पार्टी चलाउन पैसा धेरै चाहिन्छ । पैसा हाम्रो पार्टीसँग छैन । पैसाको अभावमा पार्टी चल्दैन, त्यसकारण म यस्तो गर्न सक्दिन ।’

अर्को नेताले भने, ‘अब एमालेमा पद मुखमा आइपुगेको छ । अर्को चुनावमा ठ्याक्कै टिकट पाउनु छ । म टिकट पाउने लाइनमा छु । टिकट पाइनै हाल्छु । सूर्य चिह्न भए चुनाव जितिन्छ, अर्को चुनाव चिह्न लिएर हारिन्छ कि जितिन्छ टुंगो छैन । संसदीय व्यवस्थामा चुनाव जितिएन भने केही हुँदैन । त्यसैले म चुनाव जित्नका लागि पनि एमालेमा बस्छु ।’

अर्को कसैले भन्यो, ‘यति लामो समय यही पार्टीमा बिताएँ । गल्ती गरे पनि गरोस, केपी ओली खरावै हुन, गल्ती गरेकै हुन । स्वाहा पारेकै हुन । तर, मैले पाटी छाड्ने आँट गर्न सकिनँ ।’

यी प्रतिनिधि तर्कलाई एक ठाउँमा ल्याएर हेर्दा के देखिन्छ भने– ‘विद्रोह गर्न आँट चाहियो, त्याग चाहियो ।’ यी कुराबाट उनीहरू च्युत हुँदै गए र अन्ततः त्यही दक्षिणपन्थी अवसरवादको चंगुलमा फसे । केपी बदमास हुन, कम्युनिष्ट आन्दोलनको विसर्जनवादी हुन भन्ने कुरा राम्ररी बुझ्दाबुझ्नै पनि उनीहरूको हिम्मतले काम गरेन । अवसरवादको चंगुलमा फसे । हामीले आट गर्यौं आन्दोलन, जोगाउन विद्रोह गर्यौं ।

भीम रावल, घनश्याम भुसालहरूको भविष्य के देख्नुहुन्छ ?
घनश्याम भुसालले भनेअनुसार नै केपी ओलीले डिएनए टेस्ट गरीगरी मान्छे छानेर राख्छन । यो कुरो हामीले पनि धेरै ठाउँमा भन्यौँ । कतिपयको डिएनए मिलेर त्यहाँ मिसिए । घनश्याम भुसाल र भीम रावलसँग डिएनए मिलेनछ । डिएनए नमिले पनि त्यही ब्लड ग्रुपमा छिर्न चाहन्छु भनेर सोचे भने के हुन्छ ? त्यसले त काम गर्दैन ।

ओलीजस्तो सर्वसत्तावादी, तानाशाही, फाँसीवादी सोचको मान्छेसँग कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिक योद्धा हुँ भन्नेहरुले मिसिन्छु भन्ने हो भने त उत्तम शरणम गर्ने मात्र हो । जहिले यो फिल गर्छन, आउछन् होला, यहाँ स्वागतै छ । आफ्नो गल्ती सच्याएर आउँदा ढोका खुला छ । हामीले सिनियर मानेर लालसलाम ठोकेकै नेता त हो नि । मेरो अनुरोध छ– यता आउन अप्ठेरो मान्नु पर्दैन । हिजोको जस्तो अवसरवाद छोडेर आउँदा हुन्छ । नत्र भविष्य छैन ।

स्थानीय तहको निर्वाचन आउँदै छ । पार्टीको तयारी के छ ?
पहिले राष्ट्रिय सभाको चुनाव गरौँ । त्यसमा हामीले गठबन्धनबाटै उम्मेदवारी दिने छौँ । गठबन्धनलाई विजयी बनाउने छौँ भन्ने संकल्प गरिसकेका छौँ । त्यसपछाडि स्थानीय चुनाव हुन्छ । त्यहाँ पनि सकेसम्म गठबन्धनको संस्कृतिलाई जोगाउने प्रयास हुने छ । गठबन्धनका सबै दल यसमा सकारात्मक नै छन् । निकट भविश्यमा आइरहेको राष्ट्रिय सभा र उपनिर्वाचनको सहकार्यले भविश्यको बाटो खोलिदिने छ ।

अन्त्यमा ?
कलमले धेरै कुरा लेख्छ । महाभारत पनि कलमले लेख्यो । कुरुक्षेत्रको इतिहास सबै कलमले लेख्यो । माक्र्सवाद पनि कलमले लेखेको हो । प्रजातान्त्रिक समाजवाद पनि कलमले लेख्यो । कलमसँग सारा विश्व छ । आजको मानिस कलम बिना बाच्न सक्दैन । कलम भनेको बुद्धि हो । आजको समय बुद्धिले बाच्छ । त्यही कलम चुनावचिह्न हामीले रोजेका छौँ । कलममा मानिसले भोट हाल्छ कि हाल्दैन यो उनीहरुको कुरा हो । तर, कलम नेकपा (एकीकृत समाजवादी)को चुनाव चिह्न हो । यसलाई माया गरिदिनुहोस ।

दोस्रो, कम्युनिष्टहरूले नै यो देशको राष्ट्रियताको रक्षा गर्छन् । लोकतन्त्रको सही प्रयोग गर्छन् । कम्युनिष्टले नै निमुखा जनताको सही प्रतिनिधित्व गर्छन् भन्ने कुरा लामो समयदेखि स्थापित हुँदै आएको छ । वर्गीय रुपमा कम्युनिष्ट नै जनताका सच्चा साथी हुन् । जनता महान छन्, जनता हाम्रो गुरु हुन् । हामी सही विचारको प्रतिनिधित्व गर्दैछौँ । हामी असल संस्कृति निर्माण गर्ने कोसिस गर्दैछौँ । कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने हाम्रो प्रयासमा साथ दिनुहोस ।

प्रतिक्रिया दिनुहोस्