Logo

उपलब्धि रक्षा गर्ने जिम्मेवारी प्रचण्डको काँधमा



माओवादी शान्ति प्रक्रियामा आएपछि नेपालको राजनीति त्यस पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को वरपर घुमिरहेको छ । सत्ता राजनीतिमा पनि उनको भूमिका ‘किङमेकर’का रुपमा रहेको छ । जनयुद्ध, शान्ति प्रक्रिया र संसदीय राजनीतिसम्म आउँदा प्रचण्डले धेरै खालका अनुभव सगालेका छन् । ती अनुभवलाई सकारात्मकरुपमा प्रयोग गर्ने हो भने नेपाली जनताको चाहना पूरा हुनसक्छ ।

त्यो चाहना पूरा गर्नकै लागि उनले नेकपा एमालेसँग पार्टी एकता गरेका हुन् । त्यो एकताकै बलमा नेकपाले दुईतिहाइ मत पाएको हो । राजनीतिक स्थिरताबिना आर्थिक विकास सम्भव नहुने हुँदा नेपाली जनताको चेतनाले इतिहासमै पहिलोपल्ट कम्युनिष्ट पार्टीलाई दुईतिहाइ मत दिएका हुन् ।

नेपाली जनताले ०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई दिएको दुईतिहाइ मत अहिले पनि संसद्मा सुरक्षित छ । तर, तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग पार्टी एकता गर्दा गरेको सहमति पालना नगर्दा ओली प्रतिपक्षमा पुग्नुपरेको छ ।

यो प्राकृतिक गणित होइन, कृत्रिम हो । किनभने, संसद्मा कम्युनिष्ट पार्टीको दुईतिहाइ मत हुँदाहुँदै पनि गैरकम्युनिष्टको सरकार कसरी बन्यो ? यो प्रचण्डको बाध्यता थियो । प्रचण्डलाई प्रधानमन्त्री बन्नुभन्दा पनि ठूलो चिन्ता यो संविधानको रक्षा गर्नु थियो । त्यसमा माधवकुमार नेपालले विद्रोह गरेर साथ दिए ।

ढिलोचाँडो नेपालका कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनै पर्छ । त्यसको नेतृत्व प्रचण्ड स्वयम्ले गर्छु भनेका पनि छन् । त्यसका लागि माओवादी महाधिवेशनले ठोस योजना बनाउनुपर्छ । सबैभन्दा पहिला ‘म किन कम्युनिष्ट भएँ ?’ भनेर प्रचण्डले आत्मसमीक्षा गर्नुपर्छ ।

अहिले पनि प्रतिगमनको खतरा टरिसकेको छैन । जसलाई यो संविधान मन परेको छैन, त्यसले यो संविधान लागू गर्न नदिन र नेपाललाई अस्थिरताको भुमरीमा पुर्याउन पुस ५ गते ओलीलाई प्रयोग गर्यो । ओली अहिले पनि प्रतिगमनकै बाटोमा छन् । जुन बाटो ओलीको पतनको बाटो हो ।

नेपाली जनताको चिन्ता कति मात्र हो भने ओलीसँगसँगै नेपाली कम्युनिष्ट आन्दोलन धरासायी नहोस् । त्यसैले माधवकुमार नेपालले छुट्टै पार्टी स्थापना गरेका छन् र प्रचण्डसँग सहकार्य गरिरहेका छन् । ढिलोचाँडो नेपालका कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनै पर्छ । त्यसको नेतृत्व प्रचण्ड स्वयंले गर्छु भनेका पनि छन् ।

त्यसका लागि माओवादी महाधिवेशनले ठोस योजना बनाउनुपर्छ । त्यत्रो जनयुद्धबाट स्थापित पार्टी आज आएर किन भुत्ते बनेको छ, त्यसको समीक्षा गर्नुपर्छ र सबैभन्दा पहिला म किन कम्युनिष्ट भएँ ? भन्ने कुरा प्रचण्डले आत्मसमीक्षा गर्नुपर्छ ।

नेपालको राजनीतिमा सबै पार्टी र नेताहरू आलोपालो सत्तामा पुगेकै छन् । सबै पार्टी र नेताहरू एउटै ड्याङका मुला हुन भन्ने धारणा बन्दै पनि गएको छ । यो धारणालाई प्रचण्डले आफूलाई के अर्थमा फरक छु भनेर देखाउँछन्, त्यसैमा कम्युनिष्ट आन्दोलनको भविष्य निर्भर छ ।
जननेता मदन भण्डारीले शान्तिपूर्ण संघर्षबाट नेपाली राजनीतमा आमूल परिवर्तन सम्भव छ भन्ने कुरा ‘जनताको बहुदलीय जनवाद’ बाट स्पष्ट पारे । त्यसलाई शान्ति प्रक्रियामार्फत पूर्णता दिने काम प्रचण्डले गरे ।

सायद, माओवादीले ‘जनयुद्ध’ नगरेको भए मुलुकमा गणतन्त्र सम्भव थिएन । माओवादीकै बलमा संविधानसभाबाट संविधान निर्माण भयो । ७० वर्षको यो इतिहास र उपलब्धि रक्षा गर्ने जिम्मेवारी फेरि पनि प्रचण्डको काँधमा आएको छ ।

माओवादीको महाधिवेशनलाई देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय जगत्ले समेत महत्वका साथ हेरिरहेका छन् । त्यसैले समाजवादको यात्रामा माओवादीको ठोस योजना के हो ? त्यो स्पष्टसँग आउनुपर्छ । र, त्यो एजेन्डामा सबै राजनीतिक दलहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्