गायक बन्ने सात दशकको सपना कोरोनाकालमा पूरा « Drishti News – Nepalese News Portal
Logo

गायक बन्ने सात दशकको सपना कोरोनाकालमा पूरा


दृष्टि संवाददाता


काठमाडौं । पर्यटन व्यवसायी किशोर पाण्डेको जीवन होटल–घर गर्दै बितिरिहेको थियो । बिहान सबेरै होटल छिरेपछि राति अबेर घर फर्किने दैनिकी थियो । अरु सोच्ने फुर्सदै थिएन । तर, कोभिड–१९ ले उनलाई फुर्सदिलो बनायो ।

कोरोना महामारी नियन्त्रणका लागि जारी भएको लकडाउनले पाण्डेको पर्यटन व्यवसाय ठप्प भयो । व्यवसायमा धक्का लागेपनि उनको जीवनमा भने गायन यत्राले नयाँ आयाम थप्यो ।

लकडाउनमा अधिकांश मानिस विरक्तिएर बसे । पाण्डे भने गीतसंगितमा भुले । सातदशक कटेपछि पाण्डेले गायक पहिचान बनाए । लकडाउन अवधि उनका लागि स्वर तिकार्ने अवसर बन्यो । त्यस अवधिमा उनको अधिकांश समय गायन अभ्यासमै बित्यो ।

एप्स डाउनलोड गरे घरमै धेरै गीतमा अभ्यास गरे । कोरोना कहरमा पनि उनी गीत गुनगुनाएर मुस्कान दिन्थे । अहिले पनि उनको मोवाइलतमा ती गीत सुरक्षित छन् ।

एप्समार्फत सयौँ गीतमा स्वर
पर्यटन क्षेत्रमा स्थापित व्यक्तिसँग देश–विदेशका पाहुना नियमित सम्पर्कमै हुन्थे । एकदिन प्रसिद्ध संगीतकार शम्भुजीत बाँस्कोटाले ‘मनको रहर’ कार्यक्रम गरेका थिए । बाँस्कोटाले पाण्डेलाई पनि गाउन अनुरोध गरे । पाण्डेले प्रेमध्वज प्रधानको गीत गाए । त्यो गीत सुने पछि बाँस्कोटाले पाण्डेलाई गायनमा थप हौस्याए । सानैदेखि गुनगुनाए पनि पाण्डेले गीत रेकर्ड भने गरेका थिएनन् ।

लकडाउनको मौकामा पाण्डेले एप्समार्फत सयौँको संख्यामा गीत गाए । उनमा आत्मबल बढ्यो । बाँस्कोटासँग पाण्डेको फेरि भेट भयो । पाण्डेले आफूमा आत्मविश्वास बढेको सुनाए । बाँस्कोटाले पाण्डेलाई दुईवटा गीत ‘मेरो प्रियसी’ र ‘जब देखँे तिमीलाई’ लेखेर दिए । पाण्डेले दुवै गीत रेकर्ड गराए । ती गीतमा संगीत बाँस्कोटाकै छ । मेरो प्रियसीको भिडियो तीन महिनाअघि नै सार्वजनिक भइसकेको छ । जब देखेँ तिमीलाई गीतको भिडियो पनि केही दिनअघि युटुवमार्फत सार्वजनिक भयो ।

पाण्डेले व्यवस्थापन विषय पढे । तर, जिन्दगी योजनाअनुसार मात्रै अघि बढ्दो रहेछ । उनी सहमत छन् । जिन्दगीका अनेक घुम्ती र मोडहरु पार गर्ने क्रममा सातदशक अर्थात ७३ वर्षमा उनले गीत रेकर्ड गराए । गीत रेकर्ड नै गराउला भन्ने सोचेका थिएनन् ।

उनी भन्छन–‘म बाल्यकालदेखि नै गुनगुनाउथेँ । बेलाबेला गाउथेँ पनि । तर, गीत रेकर्ड नै गरौँला भन्ने चाहिँ सोचेको थिइन ।’

गीत रेकर्ड हुनुमा पाण्डे भगवानको देन ठान्छन । ‘कोभिड आएपछि काम रोकियो । समय मिल्यो । कोभिडले व्यवसायमा क्षति पुर्यायो । तर, गायनको क्षेत्र यात्रा सुरु भयो । शम्भुजीतले प्रोत्साहित गरे ।’ उनी भन्छन ।

उनलाई अहिले जस्तोसुकै गीत गाउन सक्छु भन्ने आत्मविश्वास छ । सबैखाले गीत, संगीत सुन्छन । सबै खाले गीत गुनगुनाउँछन् ।

नारायण गोपालको लाइभ गीत
त्रिचन्द्र कलेजमा पढ्दा नारायण गोपालले हार्मोनियम बजाएर गाएको लाइभ गीत पाण्डेको मानसपटलमा ताजै छ । उनी स्मरण गर्छन– ‘म त्रिचन्द्र कलेजमा पढ्न गएको थिएँ । खरीको बोटमा सबैभन्दा राम्रो गाना सुनेँ । नारायण गोपालजीले हार्मोनियम बजाएर एउटा गाना गाउनुभयो– ‘स्वर्गकी रानी, मायाकी खानी ।’

त्रिचन्द्र क्याम्पसपछि पाण्डे अध्ययनका लागि दार्जिलिङ गए । त्यहाँ पनि उनलाई नारायण गोपालको लाइभ प्रस्तुती हेर्न र सुन्ने अवसर मिल्यो । ‘नारायण गोपालजीले दुई दिन लाइभ पर्फर्मेन्स गर्नुभयो । दुबै दिन २६/२७ वटा गाना गाउनुभयो । कसरी यति धेरै गाना गाउनुभयो भन्ने मनमा लाग्यो ।’

कुशल खेलाडी
पाण्डेको परिचय यतिमा मात्रै सीमित छैन । उनी कुशल खेलाडी पनि हुन् । टेबल टेनिस, ब्याडमिन्टन र क्रिकेट खुबै खेले । राष्ट्रको प्रतिनिधित्व गरेर पनि उनले खेले । तत्कालीन राजा महेन्द्रले आफ्नो टेबल टेनिसको जुनियर च्याम्पियनशीपको फाइनल खेल हेरेको तस्बिर उनको दिमागमा आज पनि ताजै छ । यद्यपि, त्यतिबेला व्यवसायिक खेलकुदको विकास भएकै थिएन ।

मनपर्ने ठाउँ
पाण्डेलाई सबैभन्दा मनपर्ने ठाउँ मुक्तिनाथ क्षेत्र हो । मनपर्ने ठाउँबारे पाण्डे भन्छन्– ‘मुस्ताङको टुकुचे नजिकै न्याउरीकोट भन्ने ठाउँमा मेरो साथीको राम्रो थकाली स्टाइलमा बनेको रिसोर्ट छ । त्यहाँबाट निलगिली हिमालको दृष्य एकदम मनमोहक देखिन्छ । त्यहाँको जस्तो दृष्य मैले अन्त कतै देखेको छैन् । त्यहाँबाट देखिने हिमालले सायद जो कोहीको पनि मन खित्छ । त्यति नजिकै बाट देखिने हिमाल, त्यतिको आनन्द सायदै मिल्छ । बर्दिया, चितवन र पोखरा पनि उनको रोजाइमा पर्छ । विदेश ठाउँ रोज्नुपर्दा फ्रान्सको पेरिस एक नम्बरमा आउँछ । त्यसपछि इटलीको रोम ।’

मनपर्ने खाना
पाँचतारे होटलमा १८ वर्ष व्यवस्थापनको भूमिकामा रहेर काम गरेका पाण्डेले पर्यटकलाई लक्षित गरी नेपाली भान्साघर खोले । उनले नेपाली भान्साघर रेष्टुरेन्ट खोल्दा मेनुमा बढीमा २०–२५ परिकार हुन्थ्यो ।
कालो दाल, भुजा, फापरको रोटी, गन्द्रुकको अचार, तामा, बोडी, हाँसको छोयला, सेकुवा, बँदेलको मासु आदि पाइन्थ्यो ।

व्यवस्थापनको विद्यार्थी भएपनि पाण्डेको ध्यान मीठो खाना कसरी बनाउने ? भन्नेमै केन्द्रित हुन्थ्यो । ‘पहिले सीमित थियो, अहिले त धेरै परिकार पाइन्छ’ स्मरण गर्छन । उनलाई नेपाली खाना नै मन पर्छ ।

राजनीतिमा चासो
उनलाई राजनीतिप्रति चासो छ । तर, राजनीति भने गरेनन् । राज्यको जिम्मेवारी सम्हालेका नेतामा आफूमा पनि विषय विज्ञता नहुने र सल्लाहकार पनि त्यस्तै राख्दा राम्रो काम हुन नसकेको उनको ठम्याइ छ । राजनीज्ञले विज्ञ सल्लाहकार राखेर काम गरे राम्रो हुने उनको बुझाइ छ । भन्छन– ‘नातेदार र कार्यकर्तालाई होइन, विज्ञ सल्लाहकार राखेर प्रधानमन्त्री र मन्त्रीहरूले काम गरे देशका लागि राम्रो हुने थियो ।’

प्रतिक्रिया दिनुहोस्