Logo
Logo

लाजनीति कि राजनीति ?



एउटा खराब व्यक्तिको हातमा देशको शासन सत्ता पुग्यो भने देश कसरी बर्बाद हुँदोरहेछ भन्ने कुरा अहिले हामी नेपाली जनताले भोगिरहेका छौं ।

महिनौंदेखि बिनाकारण संसद् अवरोध भइरहेको छ । करिब तीन महिनादेखि नेपाल बार एशोसिएसन आन्दोलनमा छ । संवैधानिक निकाय अन्योल मनस्थितिमा छ । राजनीतिक दल र नेताहरु एक अर्कालाई खुल्याउनुमै व्यस्त छन् । सामाजिक सञ्जाल सरकार र प्रतिपक्षप्रति आक्रोश पोखिरहेको छ ।

बाटोमा हिँड्ने सामान्य नागरिकदेखि राजगद्दी छाडेर सामान्य जीवन बिताइरहेको पूर्वराजाले समेत वर्तमान अवस्थाप्रति असन्तोष जनाएको समाचार बाहिर आइरहेको छ । यस्तो अवस्था आउनुको कारण के हो भनेर धेरैको मन, मस्तिष्कमा प्रश्न उठ्न सक्छ, आखिर, कसका कारण यो सबै बेथिति निम्तियो त ?

उत्तर सोझो छ– यो सबै कुराको जिम्मेवार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हुन् । उनकै ‘सनक’मा दुई–दुईपटक सार्वभौम संसद् भंग भयो । उनकै निर्देशनमा एमाले र माओवादीबीचको एकता टुक्रियो । उनकै कारण चोलेन्द्रशम्शेर राणा ढिपी कसेर बसेका छन् । त्यही कारण सिंगो बार आन्दोलनमा छ ।

नैतिकताविहीन राजनीतिलाई अचेल सामाजिक सञ्जालमा ‘लाजनीति’को संज्ञा दिने गरिएको छ । त्यो ‘संज्ञा’ ओलीलाई लक्षित गरेरै ‘पोष्ट’ गरिएको हो भन्ने कुरा उनले नठम्याएसम्म हामीले हेर्नुपर्ने भनेको तमाशा नै हो । यो तमाशाले जनतालाई निराश र आक्रोशित बनाउँदै लैजान्छ ।

भ्रष्ट आचरण भएका व्यक्तिमाथि महाअभियोग लगाउने प्रावधान संविधानमा छ । तर, राणामाथि महाअभियोग लगाउन न त सत्तापक्ष, न प्रतिपक्ष नै अग्रसर छ । राणामाथि महाअभियोग लाग्यो भने उनीसहितको संलग्नतामा भएको संवैधानिक निकायको पदाधिकारीहरुको नियुक्ति के हुन्छ भन्ने कुराले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका पदाधिकारीहरू निकम्मा जस्तै बनेका छन् ।

संवैधानिक निकायहरुले जुन रफ्तारमा काम गर्नुपर्ने हो, त्यो देखिएको छैन । झन् बेथिति बढ्दो छ । बालुवाटारको जग्गा प्रकरणमा त प्रधानमन्त्री शेरबहादुर देउवा निर्लज्ज भएका छन् ।

सत्ता उन्मादनका कारण दुईतिहाइको सरकार बालुवाटारबाट बालकोट पुगेको छ । आफ्नो कारण यो सब भद्रगोल निम्तिदासमेत उनमा कुनै पश्चाताप छैन । जिम्मेवार प्रतिपक्षको रुपमा संसद्मा उपस्थित हुनुपर्ने प्रमुख प्रतिपक्ष अराजक, अनुशासनहीनका रुपमा सदनमा प्रस्तुत छ ।

मुलुकमा कानूनी शासनको स्थापनामा अहं भूमिका खेल्नुपर्ने प्रधानन्यायाधीशमाथि भ्रष्टाचारको संगीन आरोप लागेको छ । यी सब बेथितिलाई थितिमा ल्याएर जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने नेकपा एमालेका अध्यक्ष स्वयं अराजक बनिरहेका छन् । यो नेपाली राजनीतिको लागि लाजमर्दो कुरा हो । यस्ता पार्टी र नेताबाट न लोकतन्त्रको रक्षा हुनसक्छ, न त संविधानकै । त्यही भएरै प्रमुख प्रतिपक्ष एमाले आर्यघाटको महाप्रस्थानको यात्रामा छ ।

नैतिकताविहीन राजनीतिलाई अचेल सामाजिक सञ्जालमा ‘लाजनीति’को संज्ञा दिने गरिएको छ । त्यो ‘संज्ञा’ ओलीलाई लक्षित गरेरै ‘पोष्ट’ गरिएको हो भन्ने कुरा उनले नठम्याएसम्म हामीले हेर्नुपर्ने भनेको तमाशा नै हो । यो तमाशाले जनतालाई निराश र आक्रोशित बनाउँदै लैजान्छ । र, जनता वाक्क दिक्क भएर निर्णायक आन्दोलनमा उत्रनुपर्ने हुन्छ । जुन दिन जनता निर्णायक आन्दोलनमा उत्रन्छन्, त्यो दिन जनता जिस्क्याउने नव बादशाहहरुको पतनको दिन सुरु हुन्छ । त्यसैले आफू पतन हुनुभन्दा अगाडि आफूले आफैँलाई सच्याउनु राम्रो हुन्छ ।

भनिन्छ, आफूले आफैँलाई सच्याउन नसक्ने मानिसलाई कसैले सच्याउन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्