Logo
Logo

नेपालीले किन लिन थाले अमेरिकी नागरिकता


डा. प्रदीप भट्टराई


जहाँ आशा रहँदैन, विश्वास रहँदैन त्यहाँ भविष्य देखिन छोड्छ । अनि, जहाँ भविष्य देखिँदैन, त्यो असुरक्षित भविष्य भएको देशमा मानिस बसिरहन सक्दैन । पछिल्लो समय नेपाल एउटा यस्तै देश बन्दै गएको छ । दिनप्रतिदिन नेपाल छाड्नेको ताँतीले त्यही प्रमाण दिइरहेको छ ।

जति नै आशावादी कुरा गर्न चाहे पनि तथ्यहरूले के देखाउँछ भने नेपाल क्रमशः बस्न नालायक देश बन्दैछ । मुलुकका सबैखाले राज्य संयन्त्रमा नियत खराब भएका र ल्याकत नभएका लोभीपापीहरू पुगेका छन् । फरक यति हो, कोही अनुभवी छन् प्रक्रिया मिलाएर लुटिरहेका छन्, कोही अनुभवहीन छन्, प्रक्रिया मिलाएर नलुट्दा समाचारका शीर्षक बनेका छन् ।

तर, कारबाही गर्ने ठाउँमा उनीहरूकै मानिस पुर्याइएकाले कारबाही हुनसकेको छैन । यदाकदा कारबाही भइहाले पनि ल्याकत भएकालाई प्रहरीले पक्राउ गर्नै सक्दैन, जब अदालतमा अर्को तहको सेटिङ हुन्छ, उनीहरू झ्यालबाट चोरका रूपमा अदालत छिर्छन् र सुनपानी छर्काएर ढोकाबाट साधु बनेर निस्कन्छन् । मानौ, अदालत भनेकै चोरहरूलाई चोख्याएर साधु बनाउने कारखाना हो ।

समाज पनि त्यस्तै छ । जब यस्ता चोरहरू ‘अदालतबाट सुनपानी छर्किएर’ समाजमा आउँछन्, उनीहरूको जयजयकार हुन्छ । किनकि, त्यो समाज त्यस्तै चोरहरूका कारण लाभान्वित भएको हुन्छ । आफूलाई फाइदा भएपछि त्यो आफ्नो मान्छे हुन्छ र आफ्ना मान्छेले जे गर्दा पनि जायज हुन्छ भन्ने मानक बनाइएको छ । हुँदाहुँदा यस्ता प्रश्न सामान्य हुँदै गएका छन् कि ‘उसले गर्दा हुने हामीले गर्दा किन नहुने ?’ ‘पाएको बेला गरेन भने कहिले गर्ने ?’

यी प्रश्नहरूले के देखाउँछ भने प्रतिस्पर्धा राम्रो गर्नेमा भन्दा नराम्रो गर्नेमा छ, नियम कानुन पालना गर्नेमा भन्दा अवज्ञा गर्नेमा छ । सारमा यो वा त्यो नाममा मुलुक लुट्ने प्रतियोगिता जारी छ । जसले जति लुट्न सक्छ, लुटेकै छ ।

पद भनेकै एक किसिमको लुट्ने लाइसेन्सजस्तो भएको छ । खरिदारले हजारमा लुट्ला, मन्त्रीले करोडमा, प्रधानमन्त्रीले अर्बमा । तलकाले सिधै लुट्छन्, माथिकाले नीतिगत रूपमा लुट्छन् ।

भनाइ नै छ, अपवाद जहाँ पनि हुन्छ । नेपालमा त अपवाद पनि नरहने स्थिति सिर्जना हुँदैछ । किनकि, अपवादहरू पदमा नै नपुग्ने स्थिति बनाइएको छ । जब पदमै पुग्ने स्थिति रहँदैन, तब अपवाद पनि त बच्ने कुरो भएन ।

मैले नेपालमा अपवाद पनि मरेको देखेको छु । मैले अत्यन्तै सम्मान गर्ने एकजना कवि गीतकार थिए। दिनेश अधिकारी । कानुनका विद्यार्थी उनी कानुनी मामलामा अत्यन्तै जानकार र सजग थिए । र, हरेक कुरामा कानुनका कुरा गर्थे । तर, तिनै दिनेश सचिव हुँदा बालुवाटार जग्गा प्रकरणमा मुछिए । अहिले उनीविरूद्ध पक्राउ पूर्जी जारी गरिएको छ । तर, प्रहरीले उनलाई भेट्दैन, भेटेको छैन । अहिले उनी फरारको सूचीमा छन् ।

मलाई यो घटनाले ऐठन लगायो । व्यक्तिगतरूपमा दिनेश अधिकारी भनेर चिनेका ती व्यक्ति स्वरस्वतीको उपासक हुन् । सचिवबाट अवकाश पाएकाले निवृत्तिभरण आउँछ । काठमाडौँमा घर छ । सिर्जनशीलताबाट पनि राम्रो आर्जन गर्न सक्छन् । उनी मजस्ता लाखौंका आदर्श थिए । तर, जब उनै दिनेश यस्तो घटनामा मुछिएर फरार हुन्छन्, मलाई विश्वास गर्न गाह्रो हुन्छ । तर विश्वास नगरेर के गरौं, तथ्यले भन्छ उनीविरूद्ध पक्राउ पूर्जी जारी छ । प्रहरीमा हाजिर हुन गएका छैनन् । यसले के बुझाउँछ भने उनी निर्दोष छैनन् । जब दिनेश अधिकारीहरू अपवादमा पनि पर्दैनन्, देशले विजय गच्छदारहरूबाट के अपेक्षा गर्ने ?

मुलुकको मियो राजनीति हो । त्यो नै सही छैन । मुलुक हाँक्ने सबै राजनीतिक पार्टीको मूल नेतृत्व प्रधानमन्त्री भएर परीक्षण भइसकेका छन् । आजको नेपाल जे हो, त्यो उनीहरूकै योगदानको योगफल हो । कसैको कम होला, कसैको बढी । तर, मुलुकलाई आज यो रूपमा पुर्याउन उनीहरूकै सबैभन्दा बढी योगदान छ ।

मुलुकले कम्तीमा अबको पाँच वर्ष यही नालायक र नियत खराब भएको नेतृत्वमा भर पर्नुपर्छ । किनकि, केही समयअगाडि आयोजित पार्टीका जम्बोरीमा उनीहरू नै चुनिएका छन् ।

पटक–पटक असफल भएका र मुलुकलाई नै असफल राष्ट्र बनाउन लागिपरेको यही नेतृत्व नै अबको पाँच वर्ष सरकारको नेतृत्वमा पुग्ने तारतम्य मिलाइसकिएको छ । उनीहरूका मन्त्रीहरू को–को बन्छन् भन्ने पनि लगभग तय छ । र, यो पनि तय छ कि ती सबै कुनै न कुनै रूपमा यसअघि मौका पाइसकेका हुन् र अधिकांशले लुटतन्त्र नै मच्चाएका हुन् ।

जब देशको वर्तमान स्थिति मात्र होइन । अब आउने पाँच वर्षको चित्र पनि यस्तो निराशालाग्दो छ, तब कुनै पनि सक्रिय हुने उमेर भएको मानिस कसरी आफ्नो भविष्य सुरक्षित छ भनेर देशमा बस्न सक्छ ? बस्दैन । बस्ने भनेको उमेर ६० नाघेका अवकाशप्राप्तहरू, बाहिर गएर केही गर्न नसक्ने अवस्थामा पुगेकाहरू, देशमै गतिलो स्थायी जागिर भएकाहरू, बाहिर जान चाहेर पनि बाहिर जान नसक्नहेरू र आफ्नै देशको कम्फोर्ट जोनमा बसेर एक जुनी बिताउनेहरू मात्र हुन् । यसमा आफूलाई अपवाद राख्नेहरू छन् जसमा अधिकांश गैरसरकारी संस्थामा काम गर्ने खेतालाहरू पर्छन् ।

कुनै समय थियो, देश छोडेर हिँड्नेलाई पलायनवादी भनेर तथानाथ गरिन्थ्यो । तर, हिजोआज मुलुकको अवस्था नै यस्तो सिर्जना गरिएको छ कि त्यो संकथनमा आमूल परिवर्तन आएको छ । सामान्य मानिसले यसो भन्न छोडेको छ । बरू यसो भन्न थालिएको छ, यस्तो देशमा बसेर के गर्ने त ? गएकै बेस ।

यो एउटा मानक हो, मुलुकमा अब देश छोडेर जानेलाई कन्सेसन दिन थालिएको छ । यसको अर्थ घुमाइफिराइ उहीँ हुन्छ कि देश अब बस्न लायक हुँदैछैन । देशमा आफ्नो र भावी सन्ततिको भविष्य छैन ।

उता, देशको अवस्था र मुड फेरिइरहेको बेला यता अमेरिकामा नागरिकता लिने नेपालीको तथ्यांक पनि नेपालको पक्षमा देखिँदैन । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बन्नेको संख्या वर्षेनी बढिरहेको छ ।

कोरोना महामारीका कारण नागरिकताको प्रक्रिया ज्यादै धिमा गतिमा भएको बेला पनि यस वर्ष मात्रै पाँच हजारभन्दा बढी नेपालीले अमेरिकी नागरिकता लिएको तथ्यांक छ । यो पाँच हजारले चेन माइग्रेसनका लागि आफ्ना दाजुभाइ, दिदीबहिनीका लागि पनि आवेदन गर्छन् ।

एक तथ्यांकले यसरी आवेदन दिने नेपालीको संख्या एक जना बराबर चार जना हुने देखाएको छ । फेरि जसका लागि गरिन्छ, त्यो उसको परिवारका लागि पनि हुन्छ, त्यसो गर्दा यो संख्या अरू बढ्छ । जस्तो कि, दाजुका लागि गरियो भने भाउजु र उनीहरूका छोराछोरी पनि स्वतः पर्छन् । पालो आउन समय लाग्छ, तर ढिलो चाँडो यसरी अमेरिका आउनेको संख्या वर्षेनी बढ्दो छ । र, जसले अमेरिका आएर यहाँ बस्न पाउने स्टाटस बनाएका छन्, अपवादमा मात्र फर्केको तथ्यांक छ ।

अर्कोतिर, नेपालीले अमेरिकी नागरिकता लिएर पनि नेपालमा उसको स्टाटसमा खासै फरक परेको छैन । अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता बुझाउनु नपर्ने भएकाले नेपाल छिर्दा अमेरिकी पासपोर्ट प्रयोग गरे पनि नेपालमा नेपाली नागरिकता प्रयोग गरेर सबै काम गर्न छुट छ ।

त्यही नागरिकता देखाएर भोट हालिरहेका छन्, राजनीतिक पार्टीको सभा–सम्मेलनमा सहभागी हुने र उम्मेदवार हुनेसम्म गरिरहेका छन् । घरघडेरी जोड्ने, बेच्ने, सेयर खरिद बिक्री गर्ने, व्यापार व्यवसाय गर्ने गरिरहेकै छन् ।

अमेरिकी नागरिकता लिइसकेका नेपालीको नेपाल प्रवेश गर्दा अमेरिकी पासपोर्टमा भिसा लागेको अभिलेख सरकारी कार्यालयहरूमा पठाइने र रूजु गर्ने व्यवस्था नहुँदा उनीहरूले नेपालमा अतिरिक्त सुविधा पाएका हुन् ।

अझ चलाखहरू त अमेरिकाबाट भारतको भिसा लिएर भारत जान्छन् अनि नेपाली नागरिकता वा पासपोर्ट देखाएर नेपाल छिर्छन् । पछि अमेरिका फर्कंदा पनि त्यही बाटो भएर फर्कन्छन् । यसो गर्दा उनीहरू नेपाल पसेकै देखिँदैन । केही अपराध गरेर उनीहरू भारत छिरे भने केही गर्न सक्ने कानुनी आधार नेपालमा हुँदैन ।

नेपाल असफल राष्ट्र हुँदै गएको स्थिति र अमेरिकी नागरिकता लिए पनि नेपालमा केही फरक नपर्ने अवस्थाले गर्दा पनि अमेरिकामा नागरिकता लिने नेपालीको संख्या दिनानुदिन बढ्दो छ । यो क्रम अमेरिकामा मात्र भएर विश्वका विकसित राष्ट्रमा गएका नेपालीका लागि पनि लागू भइरहेको छ ।

ब्रेन ब्याक हुनुपर्ने चरणमा ब्रेन ड्रेन हुनु त्यो पनि नेपाली नागरिकता नै त्यागेर, नेपालका लागि किमार्थ पनि शुभसंकेत होइन । अब प्रश्न उठ्छ, यसका लागि दोषी को ? लगभग आमसहमति भएको उत्तर हो, देशको अवस्था ।

अनि, देशको अवस्था यस्तो बनाउन को जिम्मेवार छ भन्दा धेरैको उत्तर हुन्छ । राजनीतिक पार्टी र नेताहरू । अर्थात् दोष देशको नागरिकता नै त्यागेर जानेहरूलाई होइन । नेपालको अवस्था र त्यो अवस्थामा पुर्याउने राजनीतिक पार्टी र तिनका नेताहरूलाई दिन थालिएको छ । नेपालको कोणबाट हर्दा यो असफल राष्ट्र बन्ने बाटोतिरको यात्रा हो ।

प्रतिक्रिया दिनुहोस्