Logo
Logo

भ्रष्टहरूलाई आठौं पुस्ता भोकै मर्ने चिन्ता



के नेपालमा ली क्वान यु जन्मदैनन् ? सिंगापुरका निर्माता ली क्वान युको विश्वभर चर्चा किन हुन्छ ? किनभने उनी आधुनिक सिंगापुरका निर्माता हुन् । सन् १९६५ मा स्वतन्त्र भएको सानो देश सिंगापुरलाई विश्वकै समृद्ध देश बनाउन उनी सफल भए । आज सिंगापुरको प्रतिव्यक्ति आय ८० हजार डलर पुगेको छ ।

ली क्वान यु सफल हुनुको पहिलो कारण देश बनाएरै छाड्छु भन्ने दृढ आत्मविश्वास हो । दृढ आत्मविश्वास र उचो नैतिकता नभएका राजनीतिक नेतृत्वले देश हाँक्न सक्दैनन् ।

०४८ सालपछि नेपालको राजनीतिमा उदाएका नेतृत्व असफल हुनुको कारण दृढ आत्मविश्वास नहुनु र उँचो नैतिकता नहुनु नै हो । नेतृत्वको असफलतासँगसँगै नेपाल विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरिब देशको सूची उकालो लाग्दैछ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्दा पनि नेपालका कम्युनिष्ट नेताहरुलाई स्वच्छता र सुशासनमा जोड दिनुपर्ने सुझाव दिएका थिए । राष्ट्रपति सीले त्यतिबेला भनेका थिए– ‘शासन सत्ता सञ्चालन गर्न कम्युनिष्ट पार्टीका नेताहरुले पहिला आफूभित्रको स्वच्छता र सुशासनलाई ध्यान दिनुपर्छ ।’ थप यो पनि भनेका थिए– ‘नेतृत्व स्वच्छ भएन भने जनताले साथ दिँदैनन् । जनताको साथ बिना सफलता हासिल गर्न सकिन्न ।’

नेपालमा पनि कम्युनिष्ट भनेको इमान्दार, उँचो नैतिकता र स्वच्छ छवि भएका नेता, कार्यकर्ताहरुको पार्टी हो भन्ने जनताको बुझाइ थियो । भूमिगतकालमा नेपालका कम्युनिष्ट नेता कार्यकर्ताले गरिब, मजदुर, किसानको मुद्दा उठाउँथे । शोषक, सामन्तको विरोध गर्थे ।

भ्रष्टहरुका कारण गरिब बाँच्नै नसक्ने अवस्थामा पुगेका छन् । नेता, न्यायाधीश, प्रहरी, सेना, कर्मचारीहरु सात पुस्तालाई पुग्ने सम्पत्ति जोड्दै लुट्नमै व्यस्त छन् । किनभने, यिनीहरुलाई आठौं पुस्ता भोकै मर्ने चिन्ता छ ।

तिनै गरिब किसानले नेतालाई पाल्थे । त्यसैको जगमा नेपालको कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको हो । तर, समयक्रममा कम्युनिष्ट नेतृत्व भ्रष्टीकरण हुँदै गए । कम्युनिष्ट आन्दोलनको मुद्दाहरु छाड्दै गए । गरिब, शोषित पीडित श्रमजीवी जनतासँग कम्युनिष्ट पार्टीको सम्बन्ध टाढिदै गयो । जसका कारण आज सिंगो कम्युनिष्ट आन्दोलन धर्मराउँदो अवस्थामा पुगेको छ ।

एक तथ्यांकका अनुसार सन् १९७८ मा चीनमा देङ सियाओ पिङ नेतृत्वमा पुग्नु अगाडि चीनको प्रतिव्यक्ति आय १६५ अमेरिकी डलर थियो । सन् २०१५ मा त्यो बढेर प्रतिव्यक्ति आय ८ हजार अमेरिकी डलर पुग्यो ।

सी नेतृत्वमा आइपुग्दा चिनियाँ जनताको प्रतिव्यक्ति आय सन् २०२० मा आज १७ हजार २०० अमेरिकी डलर पुगेको छ । चीनमा माओले क्रान्ति गरेपछि एकाएक यो परिवर्तन आएको होइन । त्यसका पछाडि राष्ट्रपति सीले भनेझै जनताको कम्युनिष्ट पार्टीप्रतिको साथ र सहयोगले नै यो उपलब्धि हासिल भएको हो ।

सिंगापुरका पिता ली क्वान युले आफ्नो सफलताको पछाडि राजनीतिक इमान्दारीता, कानुनी शासन, स्वतन्त्र न्यायपालिका र नीतिगत स्थायित्वलाई प्रमुख कारण भनेका छन् ।

यस पृष्ठभूमिबाट नेपाललाई हेर्ने हो भने लोकतान्त्रिक देश नेपालमा सबैभन्दा भ्रष्ट न्यायालय बनेको छ । प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्छ भनेर नेपाल बार एशोसिएसन तीन महिनादेखि आन्दोलनरत छ । प्रधानन्यायाधीशले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण विभागले छानबिन थाल्दैछ । दुर्भाग्य, भ्रष्टाचारप्रति कठोर नीति अवलम्बन गर्नुपर्ने कम्युनिष्ट नेताले नै प्रधानन्यायाधीशको बचाऊ गरेका छन् ।

सत्तारुढ दल लाचार बनेको छ । लोकतन्त्रको आवरणमा जताततै लुटतन्त्र चलेको छ । सत्ता जनताको सेवाका लागि होइन, दिन दुगुना रात चौगुना कमाउने माध्यम बनेको छ । गरिब दिनदिनै गरिब, धनी रातारात अर्बपति बनेका छन् ।

एक प्रकारले भन्ने हो भने नेपाल असफल देशतर्फ लम्किँदैछ । गाउँका गरिब, निमुखा जनता कोरोना कहरमा पनि हातमुख जोड्न विदेशिन बाध्य छन् । जनताको सेवा गर्न चुनाव जितेर सरकारमा पुग्नेहरु जुकाजस्तै मोटाउँदै गएका छन् । महालेखाले प्रकाशित गर्ने वार्षिक प्रतिवेदन भ्रष्टाचार र बेरुजुले भरिएको छ ।

यसको दोष राजनीतिक प्रणाली होइन, दोष भ्रष्ट नेता र भ्रष्ट कर्मचारीहरुको हो । जसका कारण गरिब बाँच्नै नसक्ने अवस्थामा पुगेका छन् । नेता, न्यायाधीश, प्रहरी, सेना, कर्मचारीहरु सात पुस्तालाई पुग्ने सम्पत्ति जोड्दै लुट्नमै व्यस्त छन् । किनभने, यिनीहरुलाई आठौं पुस्ता भोकै मर्ने चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्