Logo
Logo

पार्टीलाई बन्धक नबनाऊ


- दृष्टि न्युज/संवाददाता


५५ साताअघि अर्थात २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अझै पूर्ण रूपमा तंग्रिन सकेको छैन । न त तीन महिनाभित्र पूर्णता दिने भनिएको सांगठनिक एकीकरण नै पूरा भएको छ, न राजनीतिक प्रतिवेदन प्रकाशन । कयौँले भन्ने गरेजस्तै पार्टीका कयौँ दुवैतर्फका तल्ला तहका संगठन करिब ‘प्यारालाइज्ड’अवस्थामा छन् । माथिल्लो तहमा बनेका केन्द्रीय समिति र स्थायी समिति कामविहीन छन् । केन्द्रीय समितिको औपचारिक बैठक बसेकै छैन । स्थायी समितिको बैठक तीनपटक बसे पनि त्यसले दिएका निर्देशन न सचिवालयबाट कार्यान्वयन भएको छ, न अध्यक्षद्वयले शिरोधार्य गरेका छन् । स्थायी समितिका नेता जिम्मेवारीविहीन छन् । समूहगत स्वार्थ हावी हुँदा पोलिट्ब्युरो बन्न सकेको छैन । पार्टी एकीकरणकै क्रममा बनेको सचिवालय कर्मकाण्डमा मात्र उपयोग हुने गरेको छ । दुईतिहाइ बहुमतको सरकार नेतृत्व गरिरहेको मुलुकको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी यस्तो टिठलाग्दो अवस्थामा देखिन्छ ।

यसबीच पार्टीका दुईमध्ये एकअध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि युरोपतिर लागेका छन् । सरकारको पूर्वनिर्धारित कार्यक्रम र जिम्मेवारीका हिसावले ओलीको युरोप भ्रमणलाई अन्यथा भन्न मिल्दैन । तर, सिंगो पार्टीका कामकारबाही प्रभावित पारेर विदेश भ्रमणमा निस्कँदा पार्टीमा दुईजना अध्यक्ष छन् भन्ने कुरा कागजमै मात्र सीमित रहेको स्पष्ट हुन्छ । व्यवहारतः पार्टीमा दुई अध्यक्षको उत्तिकै जिम्मेवारी र अधिकार छ भन्ने यथार्थ हो भने एकजना अध्यक्ष विदेश भ्रमणमा रहेका बेला अर्का अध्यक्षले पार्टीका बैठक बोलाउने तथा नटुंगिएका विषय टुंग्याउन पहल गर्ने, बहस र छलफल चलाउने तथा विधि र पद्धतिअनुसार पार्टीमा निर्णय प्रक्रियाअगाडि बढाउने काम भएको देख्न पाइन्थ्यो । तर, यो नदेखिनुले एउटा अध्यक्षले अर्को अध्यक्षलाई सीमित गरिरहेको, निर्णय प्रक्रियामा आफूलाई हावी बनाइरुहेको अर्थ लाग्छ ।

हो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अहिले त्यही भइरहेको छ । यो पार्टीमा ओली मात्र होइनन, ठूलै संख्यामा ठूला नेता छन् । साढे दुई दशक पार्टीको एकल नेतृत्व गरेका र पूर्वप्रधानमन्त्रीसमेत रहेका वर्तमानमै पनि सहअध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड छन् । १८ वर्षसम्म तत्कालीन नेकपाको नेतृत्व गरेका प्रधानमन्त्रीको समेत अनुभव हासिल गरेका माधवकुमार नेपाल छन् । घोर निरंकुश पञ्चायतकालीन समयमा मात्र होइन, खुल्ला राजनीतिमा आएपछि पनि महाधिवेशनबाट निर्वाचित भएर पार्टी नेतृत्व गरिसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल छन् । ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, विष्णु पौडेल जस्ता नेता पनि सचिवालयमा रहेका छन् । यस्ता नाम लिने हो भने अनुभव र क्षमताले खारिएका सयौँ ठूला नेता पार्टीमा छन् । तर, ती सबै कामविहीन भएर बसेका छन् । अब कम्तीमा साता दिनका लागि पार्टीभित्र सबैखाले छलफल ठप्प हुन पुगेको छ । नेताहरू फुर्सदिला भएका छन् । त्यसैले कोही देश दौडाहामा लागेका छन्, कोही छुट्टी मनाउन ।

के कम्युनिष्ट पार्टी यस्तै हुन्छ ? कम्युनिष्ट पार्टी एकल नेतृत्वको भरमा चल्न सक्छ ? सामूहिक नेतृत्वको कुनै मूल्य छैन ? यस्तो पक्कै होइन । कम्युनिष्ट पार्टी यस्तो हुँदैन । एकल नेतृत्वमा चल्दा पनि चल्दैन किनभने सामूहिक नेतृत्व प्रणाली नै कम्युनिष्ट पार्टीको मर्म हो । अहिले थिति होइन, बेथिति चलेको छ । जुन, कम्युनिष्ट पार्टीका निम्ति घातक छ । एउटा अध्यक्ष विदेश भ्रमणमा जाँदा अर्को अध्यक्ष र त्यस्तै समान हैसियतमा रहेका अन्य दर्जनौँ नेता बेरोजगार, जिम्मेवारीविहीन, फुर्सदिला हुनुपर्ने कुरा कुनै तर्कले सही ठह¥याउन सकिँदैन । नेताहरूका आआफ्ना स्वार्थ पूरा नभएनन् भनेर झन्डै १३ महिनासम्ममा पनि एकीकरण नटुंग्याउनुको कुनै जायज जवाफ हुन सक्दैन । यो बेथिति, चरम स्वार्थलोलुपताले पार्टीलाई झनझन कमजोर बनाउनेछ । ऐतिहासिक रूपमा कम्युनिष्ट पार्टीलाई प्राप्त अवसर गुम्नेछ । यो पार्टी केही थान नेताको भरमा बनेको होइन । सयौँ सहिद, लाखौँ कार्यकर्ताको रगत परिसनाबाट सिञ्चित भएको पार्टी हो । एकाध नेताले विधि प्रक्रिया लत्याएर अघि बढ्न खोज्दा ती लाखौँ कार्यकर्ता र अरु लाखौँ शुभचिन्तकमाथि पनि अन्याय भइरहेको छ । नेतृत्वले बेलैमा यसको बोध गरोस् ।

प्रतिक्रिया दिनुहोस्