Logo

रिमालालय अर्थात् शशि–शङ्कर कलालय


Published On : 25 June, 2019

श्याम रिमाल

उनले सामूहिक रुपमा देशविदेशमा भएका कला प्रदर्शनीमा भाग त लिएका थिए, तर एकल प्रदर्शनी भने गरेका थिएनन् । खासगरी आर्किटेक्चरसम्बन्धी ‘स्पेशेस’ म्यागाजिनले उनलाई प्रदर्शनीका लागि उत्साहित बनायो । नेपाल कला परिषद्, सोसाइटी अफ मोडर्न आर्ट र न्यू आर्ट सर्कल प्रदर्शनीका लागि सहयोगी बने उनी । उनी स्वयं परिषद्का महासचिव तर उनले आफ्नै घर नक्साल नारायणचौरलाई आफ्नो कला प्रदर्शनी गर्ने स्थल रोजे । साथीहरुले ५७ वर्षको परिषद्मा धेरै दर्शक आउने सम्भावना देखाउँदै परिषद् बबरमहलमा प्रदर्शन गर्न सल्लाह दिए पनि त्यहाँ गर्न उनले मानेनन् । दिन रोजे असार ५ अपराह्न ५ । यस वर्षको खास अवसरचाहिँ गजबको प¥यो, परिषद्का अध्यक्ष वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशतवार्षिकी र उनको आफ्नै उमेर ८५ वर्ष ।

‘रेट्रोस्पेक्ट एक्जिबिशन अफ शङ्करनाथ’ रिमाल अर्थात् शङ्करनाथ रिमालको सिंहावलोकन प्रदर्शनीमा उनका मुख्य मुख्य स्थापत्यकलाका डिजाइन एवं नक्शाहरु घरको ढोकाभित्र पस्नेबित्तिकै सजाइएका थिए । नेपाली राष्ट्रिय झण्डाको रिडिजाइन, शहीदढोका, नारायणहिटी राजदरबारको ल्याण्डस्केप डिजाइन, मङ्गलसदन र नानीगञ्ज, नेपाल प्रज्ञा–प्रतिष्ठान, पशुपतिनाथ उन्मत्त भैरव, टीकापुर नगर, होटेल शङ्कर, होटेल सोल्टी ओबेराय, जनकपुर चुरोट कारखाना, जैन भवन, रेयुकाइ भवन, नेपाल राष्ट्र बैङ्क भैरहवा, एभरेष्ट होटेल, गोरखास्मारक, भालेश्वर मन्दिर, रामानन्दचोकको ढोका, हिँड्नेघर र खुट्टेघर, सिङ्गापुरको विष्णु मन्दिर, अमेरिकाको हिन्दू मन्दिर आदि संरचनाका इञ्जिनीयरिङ तथा आर्किटेक्चरल डिजाइन ठूलो आकारमा प्रिन्ट गरी सजाइएको थियो । औपचारिक कार्यक्रम सकिएपछि पो थाहा भयो उनले सोही दिनदेखि आफ्नो घरको आफ्नै कार्यकक्षलाई नै स्थायी ग्यालरी बनाइदिएका रहेछन् । उनले साहित्यकार धर्मपत्नी शशिको नामसँग जोडेर ‘शशि शङ्कर कलालय’ जोशीकै हातबाट शुभारम्भ पनि गराए ।

“नेपाली कलाकार कलाको भित्री मर्ममा नै नपुगेजस्तो लाग्छ । माध्यम, रङ र उपकरणमा पनि नयाँपन छैन । थान्का र गहना सम्बन्धमा पनि नयाँ काम छैनन् । प्रभाववाद, घनवाद, फौभिज्म, दादावादजस्ता विश्वका आन्दोलन कोही स्वफुर्त आए, कुनै योजनाबद्ध । हामीले पनि शास्त्रीय ज्ञान लिएर यसलाई अगाडि बढाउन सक्नुपर्छ । गोबर, माटो र पातले पनि त रङ दिन सकिन्छ नि गर्न सकेमा । कुलमानसिंह भण्डारीले बरु यसमा योगदान दिएको मान्नुपर्छ ”, उनी भन्छन् । नेपाली कलाकारले पहिले आफूभित्रको कलाकारितालाई बाहिर ल्याउन सक्नुपर्नेमा जोड दिँदै यसमा जन्मजात प्रतिभा पनि केही चाहिँ आवश्यक हुने उनको विचार छ । “कलाकारले समसामयिक परिवेश बुझेर नयाँपन दिन सक्ने हुनुपर्छ । त्यस्तै विदेशका कलाकारबाट पनि प्रेरणा लिनुपर्छ । थान्कामा पनि त केही नयाँपन दिन सकिन्छ । पुरानै कुरा कति रगडिरहने ? फ्रान्सेली कलाकार मार्सेल दुसाम्पले एकै नग्नचित्रले दशौँ नग्नचित्रका शैलीलाई कसरी परास्त गरे ? त्यस्तो दृष्टिकोण खै हामीमा ?”

इञ्जिनीयर एण्ड आर्किटेक्ट(अभियन्ता तथा वास्तुकार) रिमाल चित्रकला तथा मूर्तिकलामा पनि संलग्न भएको इञ्जिनीयरिङ क्षेत्रका कमैलाई थाहा होला । वैज्ञानिक सिद्धान्तलाई प्रयोगमा ल्याएर यन्त्र तथा अन्य संरचना जस्तै पुल, सडक, सवारी साधन, भवन आदि संरचना बनाउनु इञ्जिनीयरिङ हो अर्थात्, विज्ञानलाई व्यवहारमा ल्याउनु हो । आर्किटेक्चर चाहिँ कला हो जसले कुनै संरचनालाई सहजता, सौन्दर्यमूलक र दिगोपना प्रदान गर्छ । आर्किटेक्टले कुनै संरचनाको विस्तृत योजना बनाउँछ र निर्माण कम्पनीले काम गर्छ । घर, दरबार, होटेल, मन्दिर, स्मारक आदिको डिजाइन र निर्माण पेशामा लागेका रिमाल सो काममा लाग्दा थाकेका बेला चित्रकला र मूर्तिकलामा लाग्छन् । यसले उनलाई अर्कै ऊर्जा र आनन्द दिन्छ । आर्यसमाजका माधवराज जोशीसँग शास्त्रार्थ गर्ने नम्बरी पण्डित विश्वनाथका छोरा राजकविराज शिवनाथका नाति शङ्करनाथले विसं २०४५ तिरदेखि लैनसिंह बाङ्देलमार्फत चित्रकलामा प्रवेश गरेका हुन्, कलेजको औपचारिक शिक्षा लिएका होइनन् । जलरङ, एक्रेलिक, पेन एण्ड इन्क, पेन्सिल, अँगार र मैन माध्यमबाट बनाइएका उनका चित्रमा आध्यात्मिकता, स्थिर जीवन, यथार्थवादी, मुहारचित्र, न्यूड, फिगरेटिभ, भूदृश्य, अमूर्त आदि भाव भेटिन्छ ।

ननटाइटल्ड, कम्पोजिशन र एब्स्ट्रयाक्ट नाम दिइएका अमूर्त चित्रमा उनी खासगरी प्राथमिक रङ रातो, नीलो र पहेँलोसँग बढी खेलेका छन् । आध्यात्मिक चित्रमा ॐ, शिव र शक्ति, शिव ताण्डव आदि भाव छन् । आफ्नै हजुरबा, बुवा र आमाको मुहारचित्र बनाउने उनी भूदृश्यमा खोलाबाट सुन बगिरहेको कल्पना गर्न पुग्छन् । न्यूड र फिगरेटिभ अर्थात् नग्नता र विम्बात्मक चित्र बनाउन पनि रुचि राख्ने उनी न्यूडको जमाना गइसकेको बताउँछन् । अमूर्त चित्रको प्रस्तुृति दिएर दर्शक स्वयंलाई त्यसमा रम्न दिएका छन् । बाङ्देल फर्म(आकृति, रुप)मा र रिमाल रङमा काम गर्न रुचाउने कलाकार जीवन राजोपाध्याय बताउँछन् । “रिमाल सरले धेरै स्टाइलमा काम गर्नुभएको छ तर, अमूर्तमा नै बढी आकर्षित हुनुभएको छ । चित्रकलामा ढिलो काम शुरु गरे पनि प्रयास राम्रो छ”, राजोपाध्याय भन्छन् । कलाकार हरि खड्का रिमालका काममा अध्ययन, अनुसन्धान र साधना पाइने बताउँछन् । उनको आफ्नै पहिचान पनि देखिने खड्काको भनाइ छ । तामा, ढलोट, काँस माध्यमबाट बनाइएका मूर्तिमा पनि मूर्तअमूर्त भाव पाइन्छ । गौतमबुद्ध, घुकुती आदि मूर्त छन् भने कुनै मानिसहरुको समूह, कुनै भवन संरचना र कुनैमा भौतिक जञ्जाल पनि पाइन्छ । सिंहदरबार अगाडि राखिएको पृथ्वीनारायण शाहको शालिक स्थापना गर्दा परिकल्पित आधुनिक संरचना पनि प्रदर्शनीमा राखिएको छ । जसले शालिकलाई घाम र पानीबाट जोगाउन सक्थ्यो । कलाकार रामकुमार भौकाजी शैलीमा विविधता रिमालको विशेषता भएको बताउँदै उनले प्राथमिक रङमा मात्र बढी ध्यान दिएको टिप्पणी गर्छन् । कलाकृतिमा मिति पनि भए अध्ययनअनुसन्धान गर्नेलाई सजिलो हुने सुझाव उनी दिन्छन् । कार्यक्रममा चन्द्रमानसिंह मास्केको व्यङ्ग्यचित्रले डराएर राणाले उनलाई कारागारमा हालेको बताउँदै जोशीले रिमालको कलामा पनि केही शक्ति भएको र उनको ग्यालरी पर्यटन गन्तव्य हुनसक्ने विश्वास व्यक्त गरे । नन्दीबहाल, नारायणचौर अर्थात् नन्दीकेशर बगैँचा, नागपोखरी आदि स्थल रहेको नक्साल क्षेत्र ग्यालरीले अझ समृद्ध भएको उनको भनाइ थियो ।

रिमाल आफैँ पनि नेपाली कलाले नयाँपन देखाउन नसकिरहेको बताउँछन् । “नेपाली कलाकार कलाको भित्री मर्ममा नै नपुगेजस्तो लाग्छ । माध्यम, रङ र उपकरणमा पनि नयाँपन छैन । थान्का र गहना सम्बन्धमा पनि नयाँ काम छैनन् । प्रभाववाद, घनवाद, फौभिज्म, दादावादजस्ता विश्वका आन्दोलन कोही स्वफुर्त आए, कुनै योजनाबद्ध । हामीले पनि शास्त्रीय ज्ञान लिएर यसलाई अगाडि बढाउन सक्नुपर्छ । गोबर, माटो र पातले पनि त रङ दिन सकिन्छ नि गर्न सकेमा । कुलमानसिंह भण्डारीले बरु यसमा योगदान दिएको मान्नुपर्छ ”, उनी भन्छन् । नेपाली कलाकारले पहिले आफूभित्रको कलाकारितालाई बाहिर ल्याउन सक्नुपर्नेमा जोड दिँदै यसमा जन्मजात प्रतिभा पनि केही चाहिँ आवश्यक हुने उनको विचार छ । “कलाकारले समसामयिक परिवेश बुझेर नयाँपन दिन सक्ने हुनुपर्छ । त्यस्तै विदेशका कलाकारबाट पनि प्रेरणा लिनुपर्छ । थान्कामा पनि त केही नयाँपन दिन सकिन्छ । पुरानै कुरा कति रगडिरहने ? फ्रान्सेली कलाकार मार्सेल दुसाम्पले एकै नग्नचित्रले दशौँ नग्नचित्रका शैलीलाई कसरी परास्त गरे ? त्यस्तो दृष्टिकोण खै हामीमा ?” उनी प्रश्न गर्छन् । कार्यक्रमको सहआयोजना गरेको स्पेशेस म्यागजिनका निर्देशक अनु राजवंशले रिमालको ज्ञान र सीपलाई हस्तान्तरण गर्न प्रदर्शनी आयोजना गरिएको बताइन् । “रिमालको एउटा एउटा डिजाइन र कलाको किताब नै बनाउन मिल्छ”, उनले भनिन् । पहिलेका पुस्ताको कला हराएर गए पनि उहाँको कला बचाइराख्नुपर्छ भन्ने मान्यताका साथ रिमालको ग्यालरी स्थापना भएको जानकारी उनले दिइन् । रिमाललाई प्राज्ञ रमेशनाथ खनाल, धनु याख्या आदिले पनि प्रदर्शनीमा सहयोग गरे । ग्यालरीमा रहेका देशविदेशका विभिन्न भाषाका पुस्तकले रिमालको अध्ययनशीलतालाई देखाउँछ । कुनै सिर्जना गर्नुपूर्व त्यसको पृष्ठभूमि, इतिहास आदिलाई जरैसँग अध्ययन गर्ने रिमालजस्ता परिपक्व र अध्ययनशील कलाकार नेपालमा कति होलान् ?

[email protected]

प्रतिक्रिया दिनुहोस्