Logo
Logo

‘बुरामां बाज्या’ले दिएको माया र पाठ



जीवनको पाठशालामा धैरै पाठ सिक्न पाइने रहेछ । असंख्य गुरुहरु भेटिने रहेछन् । तीमध्ये दीर्घकालीन प्रभाव पार्ने र जीवनभरि सम्झनामा रहिरहने पनि हुन्छन् । यस्ता अनेक गुरु र गुरुआमाहरुबाट शिक्षा पाएकी छु, आशीर्वाद थापेकी छु र हप्काई पनि व्यहोरेकी छु ।

काठमाडौं उपत्यकामा अहिले चन्द्रागिरी नगरपालिकाभित्र पर्ने बलम्बु त्यो बेला शुद्ध गाउँ नै थियो । आज राम्रै कलेजमा परिवर्तन भइसकेको संस्था त्यो बेला ‘बलम्बु प्राइमरी स्कूल’ थियो ।

सामान्य हिसाबले हेर्दा मेरो उमेर काम गर्ने उमेर थिएन– पढ्ने उमेर थियो । तर राजनीतिको साँघुरो टनेलमा पसिसकेको अवस्थामा अझै आकार नआइसकेको राजनीतिक पार्टीको आदेश मान्नुपर्ने, नेता नचिने पनि अनुशासित भएर अगाडि बढ्नुपर्ने त्यो अवस्थामा पढिरहेको आइएको जाँच पनि आफ्नै खुशीले नै छोडेर ‘पढाइ छोड आन्दोलन’मा लागिसकेको बेला थियो त्यो ।

‘बुर्जुवा शिक्षा’को विरोधमा पढाई छोडेर ‘अगाडि’ (या ‘पछाडि’?) लागिसकेको बेला थियो । पढाउने काम पनि पढाइसँगै सम्बन्धित थियो । तर त्यसको चाहिँ विरोध भने भएनछ कुन्नी ! फर्केर हेर्दा अहिले पो अचम्म लाग्छ ।

बलम्बु स्कूल पुग्दा ‘बुर्जुवा शिक्षा बहिष्कारको महान आन्दोलन’का निम्ति पूरा पढिसकेको आइएको जाँचमा एकचोटी जानीजानी फेल भइदिएर अर्को पालिदेखि जाँचै नदिई औपचारिक शिक्षालाई जबर्जस्ती त्याग गरिसकेको बेला थियो ।

त्यसैले आफ्नो शैक्षिक योग्यता भन्नु मात्र एसएलसी पास थियो । मेरा समकालीन नजिकका मित्रहरुको पनि त्यही नै थियो अवस्था । बौद्धिक स्तर, इच्छा र सपना फरक भए पनि धेरैको शैक्षिकस्तर भने बराबरजस्तै थियो ।

अझ कति हामीभन्दा कम उमेरकाले समेत एसएलसीसमेत छोडेका थिए, बढी क्रान्तिकारी हुने रहरले गर्दा । हामीले पाउने काम पनि त्यही औपचारिक स्तरकै हुने भयो । हामी केही साथीहरुले पढाउने काम रोजेका थियौं ।

मैले र अष्टलक्ष्मीले त २०३० साल देखि नै प्राथमिक तहमा स्वयंसेवक भएर र पछि अलिकति पैसा पनि लिएर पढाउन थालेको कुरा सम्झन्छु । त्यतिबेलाको तलब याद भए अनुसार रु. १२७ थियो हाम्रो ।

एकजना कलेजको साथीले भने पछि त्यौड प्राइमरी स्कूलमा हामी दुबैजना सँगसँगै पढाउन गएका थियौँ । पछि अष्टलक्ष्मीले बालसेवाको स्कूलमा पढाउन थालिन् । म भने लगनको पोडे टोलमा आफ्नै खुसीले पढाउन गएकी थिएँ ।

चार वर्ष पढाएपछि मलाई त्यहाँको काम अगाडि बढाउन विभिन्न समस्या आउन थालेपछि ‘बलम्बु प्राथमिक स्कूल’ रोजेकी थिएँ । सहरभन्दा अलि टाढाको किसान बस्तीमा ।

बलम्बु जाने बेला साथी पूर्णशोभाको साथ थियो । एकदमै फुर्तिली र जाँगरी साथी थिइन् उनी । त्यतिखेर उनी पनि पढाउँथिन् । कालिमाटीको राम्रै स्कूलमा पढाउदै गरेकी साथी म बलम्बु जाने भएपछि बलम्बुभन्दा पनि टाढा आधाघण्टा पैदल हिंडेर पुग्नुपर्ने स्कूलमा सरुवा मागिन् ।

हत्पती केटीहरु जान नचाहने ठाउँमा सरुवा माग्दा सजिलै पाइन्थ्यो पनि त्यतिबेला । मलाई बलम्बुमा छोडेर उनी अझै खेतै खेतको बाटोबाट अगाडि बढ्थिइन् । गुर्जुधारासम्म बसमा जान्थ्यौँ ।

त्यहाँ सडकमै विद्यार्थीहरु स्वागत गर्न पर्खिन्थे । तँछाडमछाड गर्दै हात समाउन आउँथे । दुवै हातका औंला पनि सकेसम्म उनीहरुबीच बाँड्दै ती स–साना विद्यार्थीहरुसँगै बलम्बु स्कूल पुग्ने बेलासम्ममा खुट्टा थाक्दैनथ्यो, बरू बाटोभरि अभिभावकको स्वागतमा मुस्कान फर्काउँदै हिँड्दा अनुहारका गाला थाकीसक्थे ।

त्यति सुन्दर दिन त पछि सायद कहिल्यै आएन जीवनमा । स्कूल पुगेपछि बच्चाहरु आ–आफ्नो कक्षा कोठामा पुग्थे । पूरा अनुशासनमा बसिसक्थे कसैलाई केही भन्नु पर्दैनथ्यो ।

जीवनको सबैभन्दा सुन्दर उमेर र क्षणहरुमा पुगेको त्यो पवित्र स्थल बलम्बुलाई अहिले जीवनकै उत्तराद्र्धमा पुग्दा पनि कहिल्यै बिर्सन सकिन । स्कूलका बच्चाहरु, त्यहाँको भूमि र अभिभावकहरुको साँचो मायाको वर्णनै गर्न पनि सक्तिन ।

हरेक दिनजसो कहिले कुनै कहिले कुनै बच्चाका घर घरमा खाजा खान जानुपथ्र्याे । घरमा जे हुन्थ्यो त्यही ख्वाउँथे । किसानको घरमा प्राय दिउँसोको निम्ति बाक्लो गहुँको रोटी, बाक्लो जाँड, गुन्द्रुकको पिरो अचार आदि हुन्थ्यो ।

कुनै कुनै बेला भोज, नखत्या पनि हुन्थ्यो । भर्खरै कुटेको चिउरा पनि मेरो निम्ति विशेष रुपमा राखि दिने गर्थे आमाहरुले । तन खुसी, मन खुसी ! साँच्चैको प्रेमको भिन्दै संसार थियो त्यो ।

तर ती दिनहरु लामो समय रहन पाएनन् । क्रान्तिको काँचो सपनाको कारण एक वर्ष पढाउँदा नपढाउँदा नै बालाजुमा मजदूर भएर अझै छिटो परिवर्तन ल्याउन मद्दत हुन्छ कि भन्ने आशाले स्कूल छोडेर पूर्णरुपमा औद्योगिक मजदूर–‘सर्वहारा’ भएर सपनाको चक्रलाई अझै छिटो घुमाउन खोजें ।

त्यसैले गोरखापत्रमा निस्केको एउटा विज्ञापन पछ्याउँदै नाटकिय ढंगले मजदूरको बस्तिमा पुगें । केही महिना त बिहान बालाजु र दिउँसो बलम्बु भएर पनि काम गरें । पछि आफैलाई लज्जाबोध हुन थाल्यो दिनहुँ स्कूल ढिलो पुग्ने भए पछि ।

त्यतिबेलाको हेडमास्टर ज्ञान बहादूर महर्जनले समेत स्कूल नछोड्न भन्नु भएको थियो । बरु ढिलो भए पनि हुन्छ आधादिन भए पनि पढाउने काम गरिदिनोस् भनेर… । तीन महिनाको ट्रेनिङ्ग पछि म फेरि मजदूर हुनुमै बाध्य भएँ । कारखानामा बिस्कूट प्याकिङ्गको नयाँ मेशिन चलाउन दिए, मैले पुरै काम गर्नु पर्ने भयो ।

अब फसाद ! स्कूल कसरी छोड्ने त्यो पनि सेसनको बीचमा ? एकदिन त छोड्नै पर्ने भयो, राजिनामा लेखेर हेडमास्टरलाई दिएँ । हावासरी स्कूल र बस्तीमा फैलियो यो कुरा ।

बच्चाहरु एक्कासि रुन थाले एकपछि अर्कोगरी । पछि त सिंगो स्कूलमै रुवाबासी भयो । म केवल सुनेर बसें, सबैको आँखा पुछिदिन मैले सकिन । किन हो त्यो बेला मेरो मन पनि अलि कठोर र एकोहोरो भैसकेको थियो ।

राजनीति भनेकै यस्तै कठोर बाटो होला । जब स्कूल छोडेर बाहिरिएँ, स्थानीय एकजना सबैले सम्मान गर्ने पाको उमेरका ज्येष्ठ नागरिक जंको गरिसकेका कानमा मुन्द्री लगाएका ‘बुरामाँ बाज्या’ बाजेले मलाई सोध्नु भयो– ‘किन रोएका बच्चाहरु त्यसरी नानी ?’ भनेर । मैले जे हो त्यही बताई दिएँ ।

आँखा देख्न छोडिसकेका बाजेले मलाई प्रेमपूर्वक गाली गर्नु भयो ‘त्यसरी सबै रुने गरी छोडेर जानु राम्रो हुँदैन नानी… अझै बिचार गर’ । उहाँको कुराले केही अक्म्किएँ, तर मजदूर हुने मेरो निर्णय फेरिएन– म ढुंगाजस्तै भइसकेकी थिएँ ।

प्रतिक्रिया दिनुहोस्