सुनसरी । सुनसरीको धरानस्थित एक होटलमा २६ वर्षीया महिलाले आत्महत्या गरेकी छन् ।
धरान–१० स्थित जनहित गेष्ट हाउसमा २६ वर्षीया महिला प्रकृति सुवेदीले झुण्डिएर आत्महत्या गरेपछि प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सक आज (शुक्रबार) पक्राउ परेका छन् ।
पक्राउ पर्ने चिकित्सक वीरगञ्ज महानगरपालिका–२३ वर्षीय करण यादव भएको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिए ।
बाराको कलैया माइतीघर भई रौतहटको पौरही–५ मा विवाह गरेकी प्रकृति सुवेदी डा. यादवलाई भेट्न आएका बेला बिहीबार धरान–१० स्थित जनहित गेष्ट हाउसको कोठामा तन्नाको पासो लगाएर आत्महत्या प्रयास गरेका थिए ।
पासो लगाएको अवस्थामा फेला पारेपछि सुवेदीलाई तत्काल बीपी प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरी आईसीयूमा उपचार भइरहेको थियो । आईसीयूमा उपचार गर्दागर्दै महिलाको मृत्यु भएपछि अनुसन्धानका लागि डा. यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मृतक प्रकृति सुवेदी र डा। यादवबीच चिनजानको सम्बन्ध देखिएको प्रहरी निरीक्षक रायले जानकारी दिए । डा. यादवले नै बोलाएर सुवेदी गत बिहीबार धरान आएको पाइएको छ ।
डा. यादव प्रतिष्ठानमा मेडिकल अफिसरका रूपमा कार्यरत छन् । सुवेदीका लागि गेष्ट हाउसको कोठा डा। यादवले नै बुक गराएको पाइएको छ ।
महिलाले ढोका नखोलेपछि गेष्ट हाउसका कर्मचारीले डा. यादवलाई बोलाएका थिए । डा. यादवले आएर ढोका खोल्दा तन्नाको पासो लगाएर सुवेदी झुण्डिएको अवस्थामा भेटिएका थिए ।
सुवेदीलाई तत्काल प्रतिष्ठानमा भर्ना गरेर उपचार गर्दा गर्दै शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रायले बताए ।
नौ बर्षकी छोराकी आमा सुवेदी र उनका श्रीमान केही वर्षदेखि अलग्गै बस्दै आएको र दम्पतीबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दम्पतीबीच सम्बन्धविच्छेदको कानुनी प्रक्रिया चलिरहेका बेला पछिल्लो समय सुवेदी र अविवाहित डा। यादवबीचको सम्बन्ध नजिकिँदा काठमाडौंबाट धरान भेट्न आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मृतक सुवेदीका आफन्त धरान आइसकेकाले उनीहरुले दिने जाहेरीको आधारमा डा। यादवमाथि आवश्यक अनुसन्धान अघि बढ्ने प्रहरी निरीक्षक रायले बताए ।
उनले आत्महत्या दुरुत्साहन र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चल्न सक्ने जानकारी दिए । उनले मृतक महिलाको पोष्टमर्टम रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान अगाडि बढ्ने बताए ।














