Logo
Logo

युवा जगाउँदै तानसेन नगरपालिका


- दृष्टि न्युज/संवाददाता


पाल्पा । साउन १८ गते तानसेन नगरपालिकाको आयोजनामा टोल विकास संस्था समन्वय समितिका संयोजक केशवराज पौडेलको अध्यक्षता, ग्रामीण आर्थिक विकास संघ रेडा र युएनडिपीको सहयोगमा सम्पन्न टोल विकास संस्था र वडाअध्यक्षहरुको लागि युवाहरुका लागि उद्यमशीलता कार्यक्रमबारे छलफल कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि तानसेन नगरप्रमुख अशोककुमार शाहीले उक्त कार्यक्रममा भने– ‘तानसेनका महिलालाई गृहणीबाट उद्यमी बनाउनु पर्छ भन्ने कुरामा हामी प्रष्ट छौँ, त्यसका लागि महिलाहरु अगाडि बढनुहोस् उत्पादनशील काममा सहयोग गर्न तानसेन नगरपालिका तयार छ । समृद्धि आत्मनिर्भरता र स्वाधिनताका लागि महिलाहरुले घरबाटै सानै भएपनि उत्पादनमूलक काम गर्न शुरु गर्नुहोस् ।’ समाज परिवर्तन र तानसेनको विकासका लागि टोल विकास संस्थाको महत्वपूर्ण भूमिका रहने नगरप्रमुख शाहीले बताए । नगरप्रमुख शाहीले समाज समृद्ध बनाउन कृषिमा आधारित युवा उद्यमशीलतालाई प्रोत्साहन गरिनुपर्ने कुरामा जोड दिए ।

उनले पाल्पाली ढाका, करुवा लगायत परम्परागत सीप संरक्षणका लागि समेत नगरपालिकाले सहयोग गर्न तयार रहेको बताए । टोल विकास संस्थाहरुलाई सबल बनाउनुपर्छ भन्ने कुरामा नगरपालिका दृढ रहेको शाहीले प्रष्ट पारे । उक्त अवसरमा नगर प्रमुख शाहीले भौतिक निर्माण मात्र विकास होइन सामाजिक दायित्व समेत महत्वपूण कुरा हो भनेर तानसेनले दलित अल्पसंख्यक महिला स्वास्थ्य स्वयसेविका, सरसफाइकर्मी र अपाङ्गता भएकाहरु समेत करीव १७ सय परिवारको निशुल्क स्वास्स्थ्य बीमा तानसेन नगरपालिकाले गरेको जानकारी गराए ।

आय आर्जनका माध्यमबाट आत्मनिर्भर हुन चाहने तानसेन नगरपालिका भित्रका उद्यमशील युवालाई तानसेन नगरपालिकाले युएनडिपीको सहयोगमा बैंक मार्फत् बिना धितो ऋण प्रवाह गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेका अनुसार तानसेन नगरपालिकाद्वारा सञ्चालित आर्थिक विकासका प्रमुख प्राथमिकता प्राप्त कार्यक्रमहरुमा दलित सशक्तिकरण, महिला स्वावलम्वी कार्यक्रम र युवा स्वरोजगार मुख्य रहेका छन् । टोल विकास संस्थासँगको छलफल कार्यक्रममा बोल्दै तानसेन नगरउपप्रमुख लक्ष्मीदेवी पाठकले समृद्धिका लागि युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउनु पर्छ भनेर तानसेनले यो कार्यक्रम ल्याएको बताए । पाठकले महिलालाई आग्रह गर्दै खेतबारी बाझो नराखौँ, काम गरौँ उद्यमी बनौँ सहयोग गर्न नगरपालिका तयार छ भने । तानसेन वडा नं ६ का अध्यक्ष सागर महर्जनले नगरप्रमुखको नेतृत्वमा तानसेनले नेपालकै लागि नमूना कार्यक्रम शुरु गरेको बताउँदै यो कार्यक्रम हामी सबैको भनेर सफल पार्न सहयोग गर्न सबैसँग आग्रह गरे ।

रेडाका कार्यक्रम अधिकृत राजेन्द्र कुँवरको सञ्चालन, टोल विकास संस्था समन्वय समितिकी सदस्य तथा कार्यपालिका सदस्य शशी श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा जानकारी दिँदै टोल विकास संस्था समन्वय समितिका कोषाध्यक्ष सुदर्शन कोइरालाले १८२ टोल विकास संस्था नगरपालिकामा सूचीकृत भएको र करीव ९ करोड पूँजी परिचालन गरेको बताए । नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष प्राप्तीका बारेमा सहजीकरण गरेका थिए ।

उद्यमशीलता विकास कार्यक्रम, सरोकारवाला संस्थाहरुको भूमिका बारेमा जानकारी गराउँदै ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले प्रभावकारी ढंगले युवाहरुको लागि उद्यमशीलता विकास कार्यक्रमलाई कार्यान्वयन गर्न सबैको सहयोगको खाँचो रहेको बताए । युवा स्वरोजगारको अवस्थाबारे प्रस्तुती गर्दै कार्कीले १ सय जना युवा वा समूहलाई ऋण प्रवाह गरिने बताए । कार्यक्रममा टोल विकास संस्थाहरुको तर्फबाट सिर्जना टोल विकास संस्थाकी रमा पन्तले बोल्दै अति राम्रो कार्यक्रम हुनाले सबैले मिलेर सफल पार्न आग्रह गरे । खुला छलफलमा रुद्रप्रसाद शर्मा, ओमप्रकास ढकाल, तुलबहादुर रावल, नुमा बस्याल, रिता भट्टराई, मिना ढुंगाना लगायतले सुझाव दिए । अधिकाँश टोल विकास संस्थाका महिलाहरुले युवा स्वरोजगार कार्यक्रम उपयोगी र सान्र्दभीक छ भन्ने प्रतिक्रिया प्रकट गरेका छन् । –गोविन्द भट्टराई

प्रतिक्रिया दिनुहोस्