Logo
Logo

राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटघाट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सोमबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताउनुभयो । उहाँले दुई देशको सम्बन्ध एकअर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको धारणा राख्नुभयो ।

तिमिल्सिनाले दुई देशबीच जनस्तरको सम्बन्धलाई मजबुद बनाउनका लागि पाकिस्तानले शिक्षा संस्कृति, स्वास्थ्यलगायत क्षेत्रमा गर्दै आएको सहयोग तथा सहकार्यका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

भेटमा पाकिस्तानका राजदूत जावेदले नेपाल र पाकिस्तानको सम्बन्ध कुटनीतिक सम्बन्ध स्थापित भएदेखि नै सुमधुर रहेको बताउनुभयो । ‘नेपालमा पनि सरकार र जनस्तरको सम्बन्ध बलियो बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । यो सहकार्यलाई अझ मजबुद बनाउन चाहन्छौ,’ उहाँले भन्नुभयो । राजदूत जावेदले पाकिस्तानले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसरमा यही साउन २९ गते अर्थात अगष्ट १५ तारिकका दिन काठमाडौंमा आयोजना गर्न लागेको एक समारोहको निमन्त्रणसमेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्