
१. आगामी मङ्सिर हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने निर्वाचन आयोगको तयारी, स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय ।

२. नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारी र लोसपा नेताहरुबीच छलफल, नेपाली नागरिक अनागरिक हुनु परेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन लोसपाको अग्रह, नेपालीले नागरिकता नपाएका सन्दर्भमा आफू पनि संवेदनशील रहेको राष्ट्रपतिको भनाइ ।

३. आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वास, तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने दाबी, स्थानीय तहको निर्वाचनमा तालमेल भनेजस्तो नभएकाले त्यसबाट शिक्षा लिएर आगामी निर्वाचनमा राम्रो गर्ने भनाइ ।

४. आगामी निर्वाचनमा एक भएर जान जसपाका अध्यक्ष उपेन्द्र यादवद्वारा लोसपालाई आग्रह, विगतका कमजोरीको समीक्षा गर्दै सुध्रिएर आउनुपर्ने सर्त, मधेसी माला जपेर मात्रै नहुने र मधेसको सवालमा स्ट्याण्डमा रहन सक्नुपर्ने भनाइ, संघीयता, गणतन्त्र, समावेशिता रक्षाका लागि सहकार्य गरेर जान तयार, निर्वाचन लड्न जसपालाई कसैको बैसाखीको जरुरी नभएको टिप्पणी ।

५. काठमाडौँमा केन्द्रसहित सातै प्रदेशका पर्यटनमन्त्रीको सम्मेलन, मुलुकको पर्यटन प्रवद्र्धनका लागि तीनै तहका सरकार आपसी सहकार्य गरेर अगाडि बढ्ने, बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने किसिमको जलवायु तथा मौसमी विविधता, पर्यटकीय गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्ने निर्णय ।

६. भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई एमालेको निर्देशन, उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुलन, समावेशी र अवसरको न्यायोचित वितरणलाई समेत ध्यान दिन आग्रह, केन्द्रले आवश्यक ठानेमा प्रत्यक्ष वा समानुपातिकतर्फको निर्णयलाई पुनःविचार गर्ने ।

७. सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुने प्रधानमन्त्री शेरबहादुर देउवाको दावी, नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको टिप्पणी, नेपालका अधिकांश सहर योजनाबद्धरुपले बन्न नसकेकाले अव्यवस्थित र पुराना सहरलाई पुनःनिर्माण गरी व्यवस्थित सहरको रूपमा रुपान्तरण गर्न जरुरी भएको भनाइ ।

८. तीजमा पशुपति दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर परिसरको तस्बिर खिचे नगद जरिवाना गराइने, पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही, गर्भगृहको तस्बिर खिचेमा दुई हजार एकसय, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० जरिवाना गरिने ।

९. साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघद्वारा २३ सदस्यीय महिला टोलीको घोषणा, मुख्य प्रशिक्षक कुमार थापाद्वारा ३५ बाट अन्तिम २३ खेलाडीको छनोट, फिफाले शुक्रबार निलम्बन फुकुवा गरेसँगै भारतको पनि साफ च्याम्पियनसिप खेल्ने बाटो खुल्ला ।

१०. भारतका नवनियुक्त प्रधानन्यायाधीश उदय उमेश ललितद्वारा सपथ ग्रहण, चीन र आसियानले वातावरणीय विषयमा कार्यक्रम आयोजना गर्ने, उच्च समुद्रीय जैविक विविधतासम्बन्धी संयुक्त राष्ट्रसंघको बैठक सम्पन्न, सम्झौताको प्रयास विफल, पाकिस्तानमा वर्षाजन्य घटनामा परी पछिल्लो एक दिनमा ४५ जनाको मृत्यु, अत्यधिक वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी ।















