Logo
Logo

मन्त्री चौधरी टुप्लुक्क झुल्किएपछि स्थानीयमा छायो खुसी


7.6k
Shares

दाङ । सहरी विकासमन्त्री आउने कार्यक्रम वर्षातकै कारण रद्द हुने त होइन भन्ने चिन्तामा थिए स्थानीय । पानी झन्झन् दर्किन थाल्यो । वर्षाैँदेखिका समस्या मन्त्रीसामु राख्ने तरखरमा रहेका स्थानीयबासी तब खुसी भए, जब झरीका बिच मन्त्री टुप्लुक्क झुल्किए ।

‘मन्त्रीज्यू आउनुहुन्न कि भन्ने लाग्या थियो’ स्थानीय महिलाहरु अनुहारमा मुस्कान भर्दै खासखुस गर्दै थिए । फूलमालाले स्वागत गरे स्थानीयले । त्यसपछि खिमा मगरले झरीकैबिच कार्यक्रम सन्चालन गर्न थालिन् । स्थानीयका समस्या राख्न सुन्दर चौधरी अगाडि उभिए ।

‘आजसम्म हाम्रो गाउँमा कुनै मन्त्री आएका थिएनन् । तर सहरीमन्त्री आउनुभयो । धेरै खुसी लाग्यो । ५०औँ वर्षदेखि हाम्रोमा चक्लाबन्दीको समस्या छ । यो नै हाम्रो मुख्य समस्या हो । लालपुर्जा छैन । काम गर्न ऋण पाइएको छैन । १२० बिघा खेतियोग्य जमिन छ तर सिंचाइको समस्या छ’ उनले भने, ‘खरको छाना हटाउने कार्यक्रम हाम्रो गाउँमा आएन । सबै वडाका बाटो कालो पत्रे भए तर हाम्रो गाउँमा राम्रो बाटो पनि छैन । मन्त्रीज्यूले हाम्रो समस्या समाधान गरिदिनुपर्याे ।’

सुन्दर चौधरीले समस्या पस्केपछि मन्त्री मेटमणि चौधरीले खरको छानो हटाउनका लागि तत्काल ४५ हजारका दरले व्यवस्था मिलाउने बाचा गरे ।

‘चक्लाबन्दी तपाईँहरुकै सहमतिमा गर्ने हो । कुन मोडेलमा जाने तपाईँहरु आफैँ सल्लाह गर्नुस् । भोग चलन गरेकै ठाउँ उपयोग गर्ने या पहिला सबै हटाएर नापजाँच गर्ने । सल्लाहमै गर्नुस् । यसका लागि छ महिना लाग्नेछ । तर मैले डिजीसँग कुरा गरिसकेको छु । अब प्रकृया सुरु हुनेछ ।’

घोराही उपमहानगरपालिका–२, बालापुरमा आयोजित भेलामा मन्त्री चौधरीले बाटो, खानेपानी र सिंचाइका लागि समेत तत्काल पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्