Logo
Logo

एसएसपीमाथि अख्तियार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीमा घुस खाएर नक्कली सवारी चालक खडा गर्ने प्रवृत्ति बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक्सनमा उत्रिएको छ । १० लाख घुस लिएर नक्कली चालक खडा गर्ने इलाका प्रहरी कार्यालयका प्रमुख लोकबहादुर जीसीबिरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

 

नक्कली चालक राखी घुस खानेबिरुद्ध एक्सनमा उत्रिएको अख्तियारले अब सरुवा हुने सिपाही हवल्दारको नाममा टीएडीए निकालेर खानेहरुलाई पनि नछाड्ने भएको छ । सरुवा हुने तल्लो दर्जाका प्रहरीलाई मात्र होइन, उनीहरुका परिवारलाई समेत राज्यले टीएडीए सुविधा दिने गरेको छ । तर कतिपय इन्चार्जले सरुवा भएर जानेहरुको टीएडीए दिए पनि उनीहरुका परिवारको नदिई कीर्ते गरेर खाने गरेको पाइएको छ । २०७१ भदौमा काभ्रे जिल्लाको प्रहरी प्रमुखमा सरुवा भएकी पूजा सिंह र लेखापाल ध्रुव गौतमले सरुवा हुने प्रहरीका परिवारको टीएडीए खाएको पाइएपछि अख्तियारले छानबिन गरिरहेको छ । प्रहरीका परिवारले पाउनुपर्ने टीएडीए खाएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले लेखापाल गौतमलाई लेखापालबाट हटाएको थियो ।

प्रहरीले उनलाई लेखापालबाट हटाएर कारबाही गरेको दाबी गरेको छ । तर जिल्ला प्रहरीका प्रमुख पूजा सिंहलाई कुनै कारबाही नगरेको गुनासोपछि प्रहरीले उनलाई स्पष्टीकरण सोधेजस्तो गरी उन्मुक्ति दिएको छ । हाल संघीय प्रहरी कार्यालय पोखरामा एसपी रहेकी सिंह र लेखापाल गौतम मिलेर टीएडीए खाएको बिषयमा अख्तियारले त्यतिबेला कार्यरत १ सय ५० जनासँग बयान लिइसकेको छ । सरुवा हुने तल्लो दर्जाका सिपाही हवल्दारदेखि कनिष्ट अधिकृतका परिवारको टीएडीए तत्कालीन एसपी सिंह र लेखापाल गौतमले खाइदिएको उजुरीमा अख्तियारले छानबिन गरिरहेको छ ।

सरुवा हुने प्रहरीले बाबुआमा, श्रीमती र २ सन्तानको टीएडीए पाउँछन् । तर एसपी सिंह र लेखापाल गौतमले सही गराएर टीएडीए नदिएपछि अख्तियारमा उजुरी परेको थियो । यस्तो प्रवृत्ति प्रहरीमा बढेपछि अख्तियारले यसमा गम्भीर छानबिन गरिरहेको छ । उपेन्द्रकान्त अर्याल आइजीपी हुँदा काभ्रेको यो घटना एक उदाहरण हो, टीएडीए गोलमाल गर्ने थुप्रै लेखापालमाथि कारबाही भएको थियो । काभ्रेको टीएडीए घोटालामा अख्तियार मुद्दामा जाने संभावना रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्