Logo
Logo

प्रेम प्रस्तावको वास्तै गदिनँ-संगीता रायमाझी, गायिका


- दृष्टि न्युज/संवाददाता

63
Shares

गायिका संगीता रायमाझी ‘स्टाइलिस’ र ‘भर्सटायल गायिका’ मानिन्छिन् । छोटो समयमै ५० भन्दा बढी गीतमा स्वर तथा संगीत भरेर चर्चामा आएकी संगीता अध्ययनसँगै गायनमा व्यस्त छिन् । काठमाडौं, बुढानिलकण्ठकी २० वर्षीया संगीता भन्छिन्, ‘म सबै प्रकारका गीत गाउँछु । र, संगीत पनि ।’ तर, उनले आफूलाई संगीतकार भन्न भने त्यति रुचाउँदिनन् । सुगम संगीतमार्फत गायनमा पाइला टेकेकी संगीता लोकदोहोरीदेखि तीज गीतसम्म गाउँछिन् । त्यसैले उनलाई ‘भर्सटायल गायिका’ भन्छन् । यसपटक संगीताले ‘चोली तुनाले’ बोलको तीज गीत ल्याएका छन् । तर, उनी तीजमा व्रत बस्न भने बस्दिनन् । ‘भेजटेरियन हुँ’ उनले भनिन्, ‘त्यसैले सधैं व्रत बसेजस्तै लाग्छ । भगवानप्रति आस्था भने राख्छु ।’ स्नातक तेस्रो वर्षको परीक्षा दिएर रिजल्टको प्रतिक्षामा बसेकी संगीताले अध्ययनसँगै गायनलाई अगाडि बढाउने सोच बनाएकी छन् । ‘मेरो मनका दुःखहरु’ बोलको गीत रिलिजको तयारीमा रहेकी संगीतासँग एमपी सुब्बाको जम्काभेट ।

हिजोआज के गर्दै हुनुहुन्छ ?

केही दिनअघि मात्र पोखरामा म्युजिक भिडियो सुटिङ गरेकी आएकी हुँ । मेरो आफ्नै संगीत र स्वर रहेको ‘मेरो मनका दुःखहरु’ बोलको गीतको भिडियो तीजलगत्तै सार्वजनिक गर्दैछु ।

अहिले तीजको सिजन छ । तीज गीत ल्याउनुभएन ?

ल्याएकी छु । केही समयअघि नै यसपालीको तीजका लागि भनेर ‘चोली तुनाले’ बोलको गीत सार्वजनिक गरेकी छु । उक्त गीतको भिडियोमा आफैँले नाचेकी छु ।

अघिल्लो वर्षहरुमा पनि तजि गीत गाउनुहुन्थ्यो ?

पोहोर सालबाट गाउन थालेकी हुँ । त्यसभन्दा अघिचाहिँ गाएकी थिइनँ । तर, सबैले तीज गीत गाउनुपर्छ भनेपछि गाएकी हुँ ।

संगीत क्षेत्रमा लाग्नुभएको कति भयो ?

खासै धेरै भएको छैन । त्यस्तै, अढाई वर्ष जति भयो होला । यो अवधिमा ६० वटा गीतमा स्वर दिएकी छु । केही गीतमा आफैँले संगीत गरेकी छु ।

कस्ता गीत बढी गाउनुहुन्छ ?

मैले बढी गाउने भनेको आधुनिक गीत हो । तर, मैले लोकदोहोरी पनि गाएकी छु । पछिल्लो समय तीज गीत पनि गाउन थालेकी छु ।

मोडलिङ पनि गर्नुहुन्छ है ?

मोडलिङ त गर्दिनँ । आफ्नो गीतको भिडियोमा लिप्सिङ मोडलिङ मात्र गरेकी हुँ । तर, मलाई मान्छेहरुले मोडलिङ गर्दा हुन्छ भन्नुहुन्छ । तर, मलाई मोडलिङमा रुचि छैन । म गायिका हुँ ।

यसपालीको तीजमा के योजना बनाउनु भएको छ ?

कार्यक्रमबाहेक अरु योजना छैन । उपत्यका र काभ्रेमा तीजको कार्यक्रम छ । त्यही साथीहरुसँग नाच्ने रमाउने हो ।

व्रत बस्ने, मन्दिर जाने योजना छैन ?

त्यस्तो योजना छैन । म कहिल्यै व्रत बस्दिनँ । व्रत बस्नेहरुलाई पनि केही भन्दिनँ । एउटा आस्था हो । म पनि भगवानप्रति आस्था राख्छु । तर, व्रत बस्नै पर्छजस्तो लाग्दैन । भेजटेरियन पनि हुँ, त्यसैले सधै व्रत बसेजस्तै लाग्छ ।

तीजमा व्रत बसेर माग्दा चाहेजस्तो ‘वर’ पाइन्छ, पतिको दीर्घायू हुन्छ भन्ने मान्यता छ नि ?

होला, म व्रत नबसेरै सायद अहिलेसम्म नपाएकी होला । यो एउटा आस्थाभित्रको अन्धविश्वास हो । एउटा भ्रम हो । भ्रम र अन्धविश्वास भन्दैमा आस्था नराख्नेचाहिँ होइन । परम्परादेखि चल्दै आएको संस्कारलाई मान्नैपर्छ ।

अहिलेसम्म सिंगल हुनुहुन्छ होइन त ?

होला, सिंगल छु । यो समय भनेको मेरो करिअर बनाउने बेला हो । भर्खरै २० वर्ष ९ महिना लागेँ । मैले अझै धेरै गर्नुछ ।

प्रेम प्रस्ताव गर्नेहरुको भीड नै होला नि ?

ए, प्रेम प्रस्ताव त कति आउँछ–आउँछ । तर, म त्यस्तो प्रस्तावको वास्तै गर्दिनँ । अघि नै भने नि, अहिले मेरो करिअर बनाउने समय हो ।

नेपाली संगीत क्षेत्र कस्तो लागिरहेको छ ?

यो क्षेत्रमा नाम र दामभन्दा पनि रमाइलो हुन्छ भनेर लागेकी हुँ । रमाइलो नै भइरहेको छ । मैले सोचेजस्तै भइरहेको छ । त्यसैले संगीत क्षेत्रबाट म एकदमै सन्तुष्ट छु ।

भविष्यको उद्देश्य के लिनुभएको छ ?

मेरो उद्देश्य भनेको आफूमा आत्मनिर्भर हुनु हो । गायन त छँदैछ । त्यसबाहेक केही विजनेश महिला उद्यमी बन्ने उद्देश्य लिएकी छु ।

प्रतिक्रिया दिनुहोस्