Logo
Logo

जबज र प्रचण्ड


- दृष्टि न्युज/संवाददाता


तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको क्रममा दुवै पार्टीले आआफूले अंगाल्दै आएका मार्गदिर्शक सिद्धान्त स्थगन गरी जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादसम्बन्धी राजनीतिक मान्यतलाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रूपमा अगाडि बढाउने सहमति गरे पनि कम्युनिष्ट आन्दोलनको यो सफलताको जग भनेकै जननेता मदन भण्डारीकै देन हो । उनको अवमूल्यन गरेर कम्युनिष्ट आन्दोलन सफल हुन सक्दैन ।

मदन भण्डारी र जीवनराज आश्रितको दासढुंगामा दुर्घटना हुनु केही दिन अगाडि मात्रै मदन र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चितवनमै भेटघाट हुने कुरा तय भएको थियो । प्रचण्डले ‘जनयुद्ध’को खाका कोरिरहँदा मदन भण्डारी जबजमार्फत पनि शान्तिपूर्ण आन्दोलनबाट राज्यसत्ता कब्जा गर्न सकिन्छ भन्ने सोचका साथ अगाडि बढिरहेका थिए । जबज नेपालको कम्युनिष्ट आन्दोलनका लागि मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनको लागि पनि एउटा प्रयोग थियो । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा रहेको बेला सगरमाथाको देश नेपालमा हँसिया हथौडाको झण्डा फहराइरहेको थियो । यस मानेमा यदि मदन र प्रचण्डको त्यतिबेला भेट भएको भए एमाले र माओवादी नदीका दुई किनार हुने थिएन । अथवा मानौँ, प्रचण्डले ‘जनयुद्ध’ सुरु गर्ने नै थिएनन् । मदन र प्रचण्ड मिलेर त्यतिबेलै कम्युनिष्ट पार्टीलाई आजको उचाइमा पु¥याइसक्ने थिए । त्यसका लागि हजारौँ जनताको बलिदानीको आवश्यकता पर्ने थिएन । जे होस्, ढिलै भए पनि तत्कालीन माओवादी र एमाले आज एक ठाउँ आइपुगेका छन् । पार्टी एकता भएको छ । दुई पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । मदन दिवंगत भए पनि प्रचण्ड आज नेकपाको अध्यक्ष बनेका छन् । अब मदनको सोच र विचारलाई अगाडि बढाउने जिम्मेवारी पनि प्रचण्डको काँधमा आइपुगेको छ । यसर्थ, एकता महाधिवेशनको पूर्वसन्ध्यामा नेकपाको मार्ग निर्देशक सिद्धान्तका बारेमा विवाद गरिरहनु आवश्यक छैन । बरु, मदनले गर्न नसकेका अधुरा काम र सैद्धान्तिक व्याख्या गर्नुपर्ने दायित्व प्रचण्डसँग जोडिएको छ ।

यसबीच कयौँ नेताबीच वैचारिक विषयको विवाद सतहमा देखा परिरह्यो र त्यसलाई छिमल्न नसक्दा सार्वजनिक रूपमै एक नेताले अर्कोमाथि आक्षेप लगाउने अवस्थासम्म बन्यो । पार्टी एकताका पाँचबुदामध्येको यो बुँदामा उल्लेख ‘जनताको जनवाद’को के हो भन्नेबारे स्वयं पार्टी पंक्ति लामो समय बहसमा प्रवेश गर्नै पाएन । किनभने राजनीतिक प्रतिवेदनसमेत लामो समय प्रकाशित हुन सकेन । अब सिंगो पार्टी महाधिवेशनउन्मुख हुन थालेकाले पक्कै आगामी दिनमा वैचारिक बहस थप घनिभूत हुनेछ । त्यो बहसले नै वैचारिक हिसावले पार्टीलाई नयाँ उचाइमा पुग्न मद्यत गर्नेछ । त्यो बहसको केन्द्र भनेको फेरि पनि ‘जनताको बहुदलीय जनवाद’ नै हो ।

२०४६ को राजनीतिक परिवर्तनपछि मुलुक नयाँ मोडमा थियो । संसारभरजस्तै नेपालमा पनि वामपन्थी आन्दोलनको भविष्य अनिश्चित बताउन थालिएको थियो । तर, जब १४ देखि २० माघ २०४९ मा काठमाडौंमा भएको पाँचौँ राष्ट्रिय महाधिवेशनले नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा ‘जनताको बहुदलीय जनवाद’को कार्यक्रम पारित ग¥यो, नेकपा एमालेले कहिल्यै पछाडि फर्कनु परेन । तत्कालीन महासचिव जननेता मदन भण्डारीले अघि सारेको त्यो कार्यक्रम नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्त मात्र होइन, सिंगो राष्ट्रको मार्गनिर्देर्शक सिद्धान्त बन्यो । अर्थात् जबज अब राष्ट्रको सम्पत्ति बनेको छ । त्यसैको बलमा मुलुकमा अहिले कम्युनिष्ट पार्टी नेतृत्वको सरकार छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्षजस्ता राज्यका महत्वपूर्ण पदमा कम्युनिष्ट नेता पुगेका छन् ।

माओले भनेझै बन्दुकको नालबाट राज्यसत्ता बदल्ने, दीर्घकालीन जनयुद्धकै बलमा सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्ने उद्देश्य बोकेर २०५२ सालदेखि सशस्त्र संघर्ष थालेको तत्कालीन नेकपा माओवादी २०६३ सालमा हतियार बिसाएर शान्तिप्रक्रियामा आयो । त्यसक्रममा उसले बहुदलीय प्रतिस्पर्धाको माध्यमबाटै सत्तामा पुग्ने र आफ्ना नीति कार्यक्रम लागू गर्ने कार्यनीति लियो । यसलाई उसले ‘२१औँ शताब्दीको जनवाद र माओवाद’ भन्यो । तर, सारमा यो ‘जबज’कै एक रूप थियो । शब्दावली जे प्रयोग गरे पनि माओवादीले आफूलाई रुपान्तरण गर्न ‘जबज’ले नै ढोका खोलेको थियो । ‘जबज’कै बाटो हिँडेर माओवादी पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बन्यो र प्रचण्ड गणतान्त्रिक नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भए । यतिठूलो उपलब्धि ‘जबज’कै देन थियो भन्ने कुरा प्रचण्डले नहिच्किच्याई आत्मसात गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्