Logo
Logo

सरुवामा महानिर्देशकहरुको रुवाबासी


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १० भदौ ।

सरकारले एकैपटक ७६ सहसचिवहरुको सरुवा गरेको छ । यसैहप्ता गरिएको सरुवामा प्रशासन समूहका ५० सहसचिव परेका छन् । सरुवा भएका सहसचिवहरुमा वनसेवाका १०, इन्जीनीयरिङ सेवाका ९ र कृषि सेवाका ७ छन् ।

विनोद सिंह र विष्णु नेपाल

चारै समूहका अधिकांश सहसचिवको प्रदेशमा सरुवा भएको छ । सरुवा हुनेमा आकर्षक मानिने विभागका महानिर्देशकहरु पनि परेका छन् । आन्तरिक राजस्व विभागका महानिर्देशक बिष्णुप्रसाद नेपाल कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएका छन् । भूमिब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडी प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयमा सरुवा भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ३ महिनाअघि मात्र अर्थमन्त्रालयमा सरुवा भई भन्सार विभागको महानिर्देशक भएका रामेश्वर दंगाल गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा खटाइएका छन् । उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा भएका छन् । उनले विभागमा उद्योग मन्त्री मातृका यादवको निर्देशन समेत अटेर गर्दै बाह्रसिंगा बियरको फाइलमा ठूलो रकम घुस लिएको आरोप लागेको छ । मदिरा उद्योगका टाइकुन रवि केसीको बाह्रसिंगा बियरलाई उद्योग विभागका महानिर्देशक सिंहले नै सर्वोच्च अदालतमा रिट हाली नवीकरण गर्न सघाएकोमा मन्त्री यादव रुष्ट थिए । महानिर्देशकको खोजीमा भइरहेको बेला सिंहको सरुवा भएपछि कुचोले बढार्नुपर्ने हावाले उडाइदिएकोमा मन्त्रीलाई हाइसन्चो भएको छ ।

वनस्पति विभागका महानिर्देशक संजीवकुमार राई प्रदेश नम्बर १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका छन् । गुणस्तर तथा नापतौल विभागको महानिर्देशक हुँदा पेट्रोल पम्पमा ठगी मेसिन जडान गर्न छुट दिनेदेखि खरानीजस्तो सिमेन्ट उत्पादन गर्ने उद्योगसँग घुस खाएर उन्मुक्ति दिने सहसचिव रामआधार साह कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा भएका छन् ।

यसैबीच अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे सोमबार अवकाश भएका छन् । उनको अवकाशसँगै राजस्व सचिव पद रिक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्