Logo
Logo

‘परिवारवाद’मा ग्रस्त फिल्मी क्षेत्र


- एमपी सुब्बा


काठमाडौ । पछिल्लो समय नेपाली फिल्मी क्षेत्रमा अनमोल केसीलाई ‘सुपर स्टार’ मानिन्छ । एक समयका स्टार भुवन केसीका छोरा अनमोल कसरी भए ‘सुपर स्टार’ ? भन्ने उदाहरण बलिउड अभिनेता सलमान खान एक हुन् । बलिउडमा सलमान ‘सुपर स्टार’ हुनु र नेपाली फिल्मी क्षेत्रमा अनमोल ‘सुपर स्टार’ हुनुको एउटै कारण हो ‘परिवारवाद’ । यस्तो उदाहरण यहाँ थुप्रै छन् ।

भनिन्छ, ‘नेपाली राजनीतिमा परिवारवाद हावी छ ।’ तर, राजनीतिबृतको भन्दा फिल्मी क्षेत्रको परिवारवाद रोचक र डरलाग्दो पनि छ । फिल्मी क्षेत्रप्रति जो–कोही लगाव राख्छ, त्यसले ‘सुपर स्टार’ नै बन्न चाहेको हुन्छ । तर, आफ्नो परिवारको सर्पोट भएन भने त्यो सपना बन्छ । नेपाली फिल्म क्षेत्रकै कुरा गरौँ न, पछिल्लो समय अनमोल केसी र प्रदिप खड्काबीच स्टारडमको प्रतिस्पर्धा छ । तर, अनमोलले प्रदिपलाई ओभरटेक गनलाई समय पक्कै लाग्दैन किनकि, अनमोल र प्रदिपको प्रतिस्पर्धा बलिउडमा आमिर खान र सलमानकै जस्तो हो ।

फिल्मी क्षेत्रको चर्को परिवारवादकै कारण यहाँ प्रतिभा र कला भएकाहरु समेत आउन उक्लन नसकेको थुप्रै उदाहरण छन् । जसले डेब्यू फिल्मबाट वाहवाही पाएर पनि अर्को फिल्म नपाएर थन्किनु परेको अवस्था छ । तर परिवारवादको बल मिचाइँबाट उक्लिएकाहरु जहिले अगाडि माथि परेका छन् । नेपाली फिल्म क्षेत्रमा पल शाह, पुष्प खड्का, सलिमान बानियाँजस्ता ‘राइजिङ स्टार’हरु नभएका होइनन् । तर, किन अनमोलकै मोल र स्टाडमको मात्रै यहाँ चर्चा गरिन्छ ? कारण ब्याकमा भुवन केसी भएरै हो । फिल्म क्षेत्रमा टिकिरहन र चर्को प्रतिस्पर्धालाई कसरी चुनौती दिँदै अगाडि बढ्ने भन्ने राम्ररी बुझेका भुवनले छोरा अनमोलका लागि जे पनि गर्न तयार हुन्छन् । तर, पल, पुष्प र सलिमानहरुका लागि यहाँ त्यस्तो सोच्ने यहाँ कोही छ त ?

नेपाली फिल्मका सदाबहार अभिनेताका रुपमा चिनिएका भुवनले जतिखेर आफ्नै निर्देशनमा फिल्म ‘ड्रिम्स’ बनाए, त्यही फिल्मबाट डेब्यु गराएर अगाडि सारेका छोरा अनमोललाई त्यसयता लगातार हैँसे गर्दै आएका छन् । त्यतिमात्र नभएर एउटा फिल्ममा काम गर्दागर्दै अनमोललाई ‘सपर स्टार’को उपनाम दिन लगाउने पनि उनै हुन् । त्यसयता अनमोलले करिब आधा दर्जन फिल्ममा काम गरिसकेका छन् । तर, उनका फिल्म व्यवसायीरुपमा खाशै सफल मानिएको छैन । बरु, दयाहाङ राई, सौगात मल्ल, दिपकराज गिरिहरुका फिल्म सफल भएका उदाहरण छ ।

परिवारवाद भित्र पर्न नसक्दा फिल्म क्षेत्रमा टिक्न कतिसम्म गाह्रो र चुनौती हुन्छ भन्ने रंगमञ्चबाट पर्दामा उदाएका अभिनेता दयाहाङलाई राम्ररी थाहा छ । केही समयअघि उनले एक अन्तर्वातामा भनेका थिए, ‘काम पाएसम्म गर्ने हो, फिल्ममा नपाए पनि मलाई नाटकमै ठीक छ ।’ दयाहाङको उक्त भनाइको अर्थ के भने ‘आफू अभिनीत फिल्म फ्लप भएमा अन्य निर्माता÷निर्देशकले आफ्नो फिल्ममा लिने छैनन् । र, नाटकमै रमाउन सक्छु ।’ दहाहाङका लागि नाटक विकल्प पनि हो । फिल्मका आउनअघि उनी फिल्मलाई बैकल्पिक मान्थे । तर, अहिले उनका लागि नाटक अनि फिल्म हुन थालेको छ । दयाहाङ थोरै समयमा धेरै सफल फिल्म दिनेमध्येका अभिनेतामा पर्छन् । यी अभिनेतालाई समेत ‘परिवारवाद’कै कारण चुनौती थपिँदै गएको अवस्थामा अन्य ब्याकग्राउण्डमा आफ्ना मान्छे नभएका ‘राइजिङ स्टार’हरुको हविगत कस्तो होला ?

नेपाली फिल्म क्षेत्रमा विशेषगरी अभिनेताहरुलाई चुनौती देखिन्छ । पारिश्रमिकको विषयमा अभिनेता र अभिनेत्रीबीच बेला–बेला मनमुटाव चल्दै आएपनि यहाँ अभिनेत्रीहरुका लागि चुनौती मोल्ने अवस्था कमै छ । तर, उनीहरु पनि ‘परिवारवाद’बाट भने पीडित नै छन् । फिल्ममा टिकिरहन र चर्चामा आउनका लागि अभिनेत्रीहरुलाई निर्देशक र निर्मातासँग सम्झौता गर्नुपर्ने बाध्यता पनि पाइन्छ । पछिल्लो पुुस्तामा त्यो नदेखिएपनि रेखा थापा, करिश्मा मानन्धर, झरना थापाहरु फिल्ममा लगातार टिक्नुको कारण उनीहरुका पति निर्माता भएरै हो । नत्र नन्दिता केसी, शुभेच्छा थापा, पुजना प्रधान, निशा अधिकारीहरु किन सेलाउँदै गए त ? उनीहरुले न निर्माता÷निर्देशकसँग सम्झौता गरे, नत परिवार नै भए । त्यसैले उनीहरु फिल्म क्षेत्रमा संघर्ष गरेर पनि चर्चामा आउन सकेनन् । कुनै समय नायिका तथा मोडल पुजना प्रधानले भनेकी थिइन्, ‘कसैको पत्नी भएर हिरोइन बन्नुभन्दा त व्यापार गर्नै ठीक ।’ त्यो बेला उनी नेटवर्किङ व्यवसायी हर्बोसँग जोडिदै थिइन् ।

बलिउडको उदाहरण

संसारकै दोस्रो ठूलो फिल्म उद्योग हो बलिउड, जहाँ एकसेएक स्टारहरु छन् । तर, अभिनेता सलमान खान नै किन अगाडि त ? सलमानलाई बलिउडमा ‘इद हिरो’ समेत भन्ने गरिन्छ । इदको मौकामा आफ्नो फिल्म प्रदर्शन गर्नु सलमानका लागि विशेषता नै हो । करिब एक दशकयता प्रत्येक इदमा सलमानकै फिल्म रिलिज हुने गरेको छ । त्यसैले पनि उनलाई बलिउड फिल्मकर्मीले ‘इद हिरो’को उपनाम दिएका हुन् ।

चाडपर्व वा सार्वजनिक विदामा फिल्मले राम्रो व्यापार गर्ने भएकाले बलिउडमात्र नभएर हलिउड फिल्मकर्मीसमेत आफ्नो फिल्म रिलिज गर्न मरिहत्ते गर्छन् । यो चलन नेपाली फिल्म क्षेत्रमा पनि पाइन्छ । तर, जो–कोहीले त्यस्ता पर्वहरुमा आफ्नो फिल्म रिलिज गर्न सामाथ्र्य राख्दैनन् किनकि फिल्म क्षेत्र पनि राजनीतिमा जस्तै ‘पैसा’ र ‘डनगिरी’ र परिवारवाद चल्छ ।

इदमा सलमानबाहेक अरु स्टारका पनि फिल्म किन रिलिज हुँदैन ? यो प्रश्न बेला–बेला बलिउडमै पनि उठ्ने गरेको छ । भनिन्छ, ‘समालनले इदको अवसरलाई ‘रिजर्भ’ गर्दै आएका छन् । त्यसैले उनकै मात्र फिल्म रिलिज हुन्छ ।’ सलमान फिल्म रिलिज हुँदा नेपाली फिल्म समेत रिलिज गरिँदैन । योचाहिँ सलमानको स्टारडम पावर हो । तर, त्यो पावर कहाँबाट चल्दैछ सलमानलाई ? कथा परिवारवादमै जोडिएको छ ।

यी बलिउड स्टारका बाबु सलिम खान आफैँ फिल्म वितरक हुन् । जसले गर्दा आफ्ना छोरोको टाउको मात्र भएपनि त्यो फिल्म सलिमले इदको शेड्युलमा राख्छन् । स्मरणीय कुरा के भने बलिउडका अधिकांश् फिल्म सलिमले नै वितरण गर्छन् ।

भनिन्छ, ‘सलमान अहिले जुन स्थानमा छन्, त्यसको श्रेय उनकै बाबुलाई जान्छ । एक त सलिम बलिउडका राम्रो स्क्रिप्ट राइटर हुन् भने अर्को बलिउडकै सबैभन्दा ठूलो फिल्म वितरक । यति भएपछि सलमानलाई के चाहियो र ? सलिमले फिल्म स्क्रिप्टका लागि प्रास्तावको ओइरो लाग्छ । तर, उनले आफ्ना छोराका लागि एकदमै थोरैमात्र स्क्रिप्ट लेख्छन् जबकि, त्यो फिल्म प्mलप नहोस् । यो कुरा उनैले पनि भनेका छन् । हालै अन्तर्वातामा सलिमले भनेका छन, ‘सलमानको फिल्म फ्लप हुन्छ कि भन्ने मलाई डरले लाग्छ । त्यसैले उनी खेल्ने फिल्मको स्क्रिप्टमा म हत्तपत्त हात हाल्दिनँ ।’

त्यो बेला उनले यसो पनि भनेका थिए, ‘मैले लेखेको फिल्म फ्लप भयो भने अपजस जति मेरो टाउकोमा जान्छ । हिट भयो भने सबै क्रेडिट सलमानले लैजान्छ । म यो दुष्चक्रमा फस्न चाहन्न ।’ सलिमले विगतमा सलमानको फिल्म ‘पत्थरके फुल’का लागि स्क्रिप्ट लेखेका थिए । सो फिल्मले राम्रै प्रशंसा कमाएको थियो ।

हुन त नेपाली फिल्म क्षेत्रमा भन्दा बलिउडमा ‘परिवारवाद’को ठूलो खाडल छ । अभिषेक बच्चन, ऋतिक रोशन, सोनाक्षी सिन्हा, आलिया भट्ट, सनी देओल, बबी देओलजस्ता कलाकारहरु त्यहाँ परिवारकै ब्याकग्राउण्डबाट आएका हुन् । जसले गर्दा अन्य कलाकारको दम्भ बलिउडमा अहिलेसम्म देख्न पाइएको छैन । अहिले त्यो पीडा नेपाली फिल्म क्षेत्रले बेहोर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्