Logo
Logo

लोकन्थलीमा पहिरो, सडक भासिँदा ६ घर उच्च जोखिममा


- दृष्टि न्युज/संवाददाता


भक्तपुर, १५ भदौं । मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आइतबार बिहान पुनः पहिरो गएको छ । पहिरोमा सडक भासिएपछि ६ घर उच्च जोखिममा परेको छ ।
मध्यपुरथिमि–१, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्यांकी निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पहिरो गएको हो ।
पानीट्यांकी निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँका यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ ।
पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको हो । पहिरो दुई वटा घरको जगमा पुगेको छ भने ती घरका सामान अन्यत्र सार्नुका साथै बासिन्दासमेत अन्यत्र बसी घर खाली गरेको छ ।


खानेपानी समस्या समाधान गर्न सरकारको रु एक करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्यांकी बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए । भदौ ३ गतेको पहिरोमा चर्काएको ठाउँमा पहिरो रोकथामको प्रयास भइरहँदा त्यससँगै पश्चिमतर्फ पनि पुनःपहिरो गएको उनले बताए । यहाँका घर र पूर्व तथा पश्चिमको कालोपत्र सडकसमेत पहिरोमा भासिने जोखिममा रहेको बताउँदै उनले ३ गते भएको सहमतिअनुसार तत्कालै संरक्षणमा नलागे ठूलो जोखिम व्यहोर्नुपर्ने बताए । ३ गते पहिरो गएको ठाउँमा पहिरो रोकथामका लागि मध्यपुरथिमि नगरपालिकाले टेवा पर्खाल लगाउन शुरु गरे पनि अर्को ठाउँबाट पुनः पहिरो जान थालेको हो ।

प्रतिक्रिया दिनुहोस्