Logo
Logo

तुइन हटाएर झोलुंगे पुल


- दृष्टि न्युज/संवाददाता


दमौली, १५ भदौं । तनहुँमा सञ्चालित आठवटै तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गरिएको छ । जोखिमपूर्ण यात्राको रुपमा लिइने तुइन विस्थापित गरी त्यस क्षेत्रमा झोलुंगेपुल निर्माण गरिएको हो ।
तनहँुमा जिल्ला प्राविधिक कार्यालय र गैरसरकारी संस्था समन्वय समितिले तुइन विस्थापित गरी उक्त स्थानमा झोलुंगे पुल निर्माण गरेको जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।
गैरसरकारी संस्था समन्वय समितिलाई तुइन विस्थापित गर्न ‘प्राक्टिल एक्सन’ नामक संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । एक सय २० मिटरभन्दा लामो झोलुंगे पुलको काम तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन र १२० मिटरभन्दा छोटो दूरीका झोलुंगे पुलको काम सम्बन्धित जिल्ला विकास समितिमार्फत निर्माण गरिएको थियो ।
जिल्लाको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ जोड्ने खहरेस्थित सेती नदीमाथिसमेत झोलुंगेपुल केही समय अघि निर्माण गरिएको छ । तुइन विस्थापित भएपछि सर्वसाधारणले जोखिमयात्रा गर्नबाट छुटकारा पाएको गैसस समन्वय समितिका महासचिव राजेश्वर हड्खलेले बताए ।

तनहुँमा देवघाट गाउँपालिकाको बगन्दी र नवलपुर जोड्ने कालीगण्डकी नदी सोही गाउँपालिकाको कोटा र नवलपुर जिल्ला जोड्ने कालीगण्डकी नदी माथि झोलुंगे पुल निर्माण गरिएको छ । उनले भने, ‘देवघाटकै गरम नरम र नवलपुरको बुलिमराङ जोड्ने कालिगण्डकी नदीमा तथा व्यास नगरपालिका–१३ र रिसिङ गाउँपालिकाको सोलुङघाट जोड्ने सेती मादी नदीमा तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गरिएको छ ।’
त्यस्तै देवघाट गाउँपालिका–४ र चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित मुग्लिङ नारायणखण्ड जोड्ने स्थानमा र शुक्लागण्डकी नगरपालिकाको झरौटा र ढोरफिर्दी जोड्ने सेती नदीमा पनि जिल्ला प्राविधिक कार्यालयले तुइन हटाई झोलुङ्गे पुल निर्माण गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्