Logo
Logo

डेङ्गुको उच्च जोखिममा भक्तपुर, १२ जनामा संक्रमण


- दृष्टि न्युज/संवाददाता


भक्तपुर, १५ भदौं । पछिल्लो समय देशभरि फैलँदै गएको डेङ्गुको संक्रमणबाट भक्तपुर जिल्ला पनि उच्च जोखिममा परेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको बताए ।
भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको संक्रमण फेला परेको छ । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले जानकारी दिएका छन् ।
यहाँ डेङ्गुको संक्र्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यस वर्ष डेङ्गु संक्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान शुरु गरिएको छ ।
कार्यालयले डेङ्गु संक्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको संक्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्