Logo
Logo

गीतको कथा : करोड क्लवको सेलिब्रेसन तयारीमा दर्पण (भिडियोसहित)


एमपी सुब्बा


  • एमपी सुब्बा

काठमाडौं, १७ भदौं ।

‘तिमीले खाएको कसम साँचो भाको भए
मैले पलमै तिमीलाई बिर्सन सक्ने भए’

उल्लेखित गीत नसुन्ने र नहेर्ने सायदै होलान् । गीतसंगीतप्रति थोरैमात्र लगाव र चासो राख्नेहरुले यी गीत एकपटक पक्कै सुनेकै हुनुपर्छ किनकि, यो गीतले छोटो समयमै यु–ट्युबमा ८१ लाखभन्दा बढी भ्युअर्स पाइसकेको छ ।
यसअघि ‘तिम्ले बाटो फेरेऊ अरे’ गीत सुनेकै हुनुपर्छ । जुन ‘ब्लकबस्टर’ गीतकै सिक्वेल हो, ‘तिमीले खाएको कसम’ । जसलाई ‘तिम्ले बाटो फेरेऊ अरे–२’का रुपमा सार्वजनिक गरिएको हो । यस गीतका गायिका र गीतकार को हुन् ? भन्ने पनि खाशै भनिरहन पर्दैन । जो नेपाली सांगीतिक क्षेत्रमा गीतकार एवं मोडलका रुपमा चर्चित छन् । ‘तिम्ले बाटो फेरेऊ अरे’जस्तै प्रस्तुत गीत ‘तिमीले खाएका कसम’ पनि गीतकार दर्पण राईको ‘ब्लकबस्टर’ बनेको छ । आधुनिक गीतले रिलिज गरेको छोटो समयमै यु–ट्युबमा विना प्रमोशन ८१ लाख भ्युअर्स पाउनु आफैमा चानचुने होइन ।


संख्यात्मकभन्दा गुणास्तरिय एवं दर्शक÷श्रोताको भावना अनुकुल गीत रचना गर्नु गीतकार दर्पणको विशेषता हो । प्रस्तुत गीतमा पनि त्यही विशेषता झल्किन्छ । यतिमात्र नभएर आफ्नो त्यही विशेषताले उनी गीतकारको भीडमा ‘टप–१०’भित्र पर्न सफल भएका छन् ।
पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र ‘भर्सटायल गायक’ राजेशपायल राईको भिन्न–भिन्नै स्वरमा ‘तिम्ले बाटो फेरेऊ अरे’ गीत रेकर्ड गरेरमात्र उनी चर्चा आएका होइनन् । गीतमा शब्द–शिल्पी र श्रोताको भावनाअनुरुप आफ्नो सिर्जनामा प्रस्तुत हुन पनि दर्पणको खुबी हो । त्यसैले उनका हरेक गीत दर्शक तथा श्रोताले रुचाउँने गरेका छन् । उदाहरणका लागि यु–ट्युबमा ‘तिम्ले बाटोे फेरेऊ अरे’ र ‘तिमीले खाएका कसम’को दर्शक भ्युअर्स हेर्दा स्पष्ट हुन्छ ।
गीतकार दर्पण भन्छन्, ‘म कम गीत लेख्छु, तर जति लेखेँ, ती सबै दर्शक÷श्रोताले रुचाएका छन् । यसरी दर्शकको माया पाउँदा खुसी लाग्छ ।’ उनी दर्शक÷श्रोताको माया र हौसलाकै कारण गीतिकारितामा हौसिएको बताउँछन् ।
म्यु्जिक भिडियो निर्देशनसमेत नयाँ क्रियशन दिन माहिर दर्पण भन्छन्, ‘यो गीत श्रोता र दर्शककै आग्रहमा लेखेको हुँ ।’ यहाँ प्रस्तुत ‘तिमीले खाएको कसम’को भिडियोमा उनी आफै देखिएका छन् । भिडियोको कन्सेप्टसमेत बजारमा आइरहेका भिडियोभन्दा फरक छ ।
साथै, ‘तिम्ले बाटो फेरेऊ अरे’ गीत श्रोता÷दर्शकले रुचाए मात्र होइन, सिक्वेल समेत निकाल्न दर्पण बाध्य भएका थिए । त्यसैले दर्पणले सिक्वेलस्वरुप ‘तिमीले खाएका कसम’ तयार पारेका हुन् । अन्ततः ‘तिम्ले बाटो फेरेऊ अरे–२’ पनि श्रोताले अत्याधिक रुचाएका छन् । कारण गीतको स्टोरी जोडिनु पनि हो ।
सुन्दा केही फरक लागेपनि ‘तिम्ले बाटो फेरेऊ अरे’को स्टोरीसँग ‘तिमीले खाएका कसम’ जोडिएको छ । गीतमा ‘तिम्ले बाटो फेरेऊ अरे’ पछिको सस्पेन्स लभस्टोरी ‘तिमीले खाएका कसम’मा इण्डिङ गरिएको छ ।
फिल्मी शैलीमा गीतमा प्रेमकथा चित्रण गरिएपछि आमदर्शक तथा श्रोताको मनमा ‘तिम्ले बाटो फेरेऊ अरे’ बस्न सफल भयो भने त्यसपछि कथा ‘तिमीले खाएका कसम’ले पूर्णता दिएको छ । यसरी नेपाली गीतको सिक्वेल बनेको सायद सांगीतिक क्षेत्रमा सम्भवतः पहिलोपटक हुनसक्छ ।

‘तिम्ले बाटो फेरेऊ अरे’को सेलिब्रेसनमा राजेशपायल र मेलिनासँग दर्पण । फाइल तस्बिर ।

तीन वर्षको अवधिमा दर्पणले संख्यात्मक हिसाबले थोरै अर्थात आधा दर्जन जति गीत लेखे । तर, ती सबै गीत चर्चामा आउन सफल भयो । तर, ‘तिमीले खाएका कसम’ करोड भ्युअर्स क्लवमा उक्लिन लागेको बेला दर्पणलाई अर्को चुनौती पनि थपिएको छ । त्यो के भने ‘तिम्ले बाटो फेरेऊ अरे’ शीर्षकमै अब फिल्म बनाउनुपर्ने भएको छ । त्यसका लागि तयार रहेको पनि दर्पणले बताए ।
उनले भने, ‘दर्शक÷श्रोताकै अनुरोधमा ‘तिम्ले बाटो फेरेऊ अरे’ फिल्म निर्माण गर्ने घोषणा गरेको छु । तर, त्यसभन्दा अगाडि ‘तिम्ले बाटो फेरेऊ अरे–२’ अर्थात ‘तिमीले खाएका कसम’को करोड भ्युअर्स क्लवको खुसीयाली बाँड्ने सोचमा छु ।’ यसअघि उनले ‘तिम्ले बाटो फेरेऊ अरे’को करोड भ्युअर्स क्लवको खुसीयाली मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्