Logo
Logo

डडेल्धुरामा ‘स्क्रब टाइफस’का २७ बिरामी भेटिए


- दृष्टि न्युज/संवाददाता


अमरगढी, १८ भदौं । डडेल्धुरामा २७ स्क्रब टाइफसका बिरामी भेटिएका छन् । १ सय २८ शंकास्पद बिरामी जाँच गर्दा २७ जनामा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुषाल बताए ।
१० दिनको अवधिमा अस्पताल पुगेका १२८ ज्वरोका बिरामीलाई जाँच गर्दा स्क्रब टाइफसबाट २७ संक्रमित भेटिएका हुन् । अस्पताल आउने सुदूरपश्चिम प्रदेशका डडेल्धुरासहित बैतडी, दार्चुला, बझाङ र डोटीका बिरामीसमेत आउने गरेकाले डडेल्धुरा जिल्लाका मात्रै नभएर अन्य जिल्लाका पनि रहेका ल्याब इन्चार्ज भुषालले बताए ।
आर्थिक वर्ष २०७५÷७६ मा जिल्लाको अजयमेरु गाउँपालिकामा पहिलोपटक देखापरेको स्क्रब टाइफसको संक्रमणका कारण दुई जनाको ज्यान गएको थियो । जिल्लामा पनि स्क्रब टाइफसको संक्रमण देखा पर्न थालेको छ । प्रदेशका पहाडी जिल्लामा गत वर्ष ४१ दिनको अवधिमा १३० लाई जाँच गर्दा ५० जनामा स्क्रब टाइफसको संक्रमण देखापरेको अस्पतालको तथ्यांक छ ।
पछिल्लो समय किटजन्य रोगको महामारी पहाडी जिल्लामा फैलिँदै गएको तथ्यांकमा देखिन्छ । स्क्रब टाइफस लागेमा बिरामीलाई समान्यतय ज्वरो आउने, मांशपेशी दुख्ने, अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्नेजस्ता लक्षण देखापर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कँडेलले बताए ।
स्क्रब टाइफसको प्रमुख लक्षण छालामा घाउ देखिने भए पनि सो अस्पतालमा बढी जसो टाउको दुख्ने, आँखाको नानी दुख्ने, सुक्खा खोकी लाग्ने, ज्वरो आउने लक्षणका बिरामी आउने गरेका मेडिकल सुपरिटेन्डेन्ट कँडेल बताए । व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिदाँ यो रोगको संक्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्ने गरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकसँग परामर्श लिन उनले सुझाव दिए ।

के हो स्क्रब टाइफस ?
यो खासगरी कम आयस्रोत भएका देशहरुमा पछिल्लो समय स्क्रब टाइफसको जोखिम बढी देखिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । चिकित्सकहरुका अनुसार स्क्रब टाइफसको समयमा उपचार नगर्दा संक्रमण बढ्दै गएर मुटु, कलेजो, मिर्गाैलामासमेत गम्भीर असर देखिने गर्छ । यो रोगको संक्रमण भएको करिब पाँचदेखि सात दिनसम्म लक्षण देखिन थाल्छ ।
त्यस्तै, स्क्रब टाइफस माइट नामको संक्रमित किर्नाले टोक्दा यो रोग मानिसमा सर्छ । विशेषगरी खेतबारीमा काम गर्ने मानिसमा यो रोगको सम्भावना प्रवल रहेको छ ।

लक्षण

  • टाउको दुख्नु ।
  • शरीर आलस्य हुनु ।
  • एक्कासी ज्वरो आउनु ।
  • शरीरमा एलर्जी जस्तो बिबिरा देखिनु ।
  • खोकी लाग्नु ।
  • खाना अपज हुनु ।
  • वान्ता हुने ।
  • श्वास फेर्न गाह्रो हुने ।

बच्ने उपाय

  • खेतबारीमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउने ।
  • खुट्टामा बुट, हातमा पन्जा र टाउको ढाक्ने कपडा लगाउने
  • भुइँमा बस्दा केही ओछ्याएर मात्र बस्ने ।
  • घर वरपर सफा राख्ने ।
  • माथिका कुनै पनि लक्ष्ण देखिएमा तुरुन्त स्वास्थ्य परिक्षण गर्ने ।

प्रतिक्रिया दिनुहोस्