Logo
Logo

क्यामरुनका सेना किन मध्यअफ्रिकी गणतन्त्र पठाइए ?


- दृष्टि न्युज/संवाददाता


याउन्डे, १८ भदौ (सिन्ह्वा) । अफ्रिकी मुलुक क्यामरुनले युद्धग्रस्त मध्यअफ्रिकी गणतन्त्र (सिएआर) मा राष्ट्रसंघीय शान्ति सैनिकको रुपमा छैटौं सैन्यदल पठाएको छ । स्थानीय नागरिकको सुरक्षाका लागि ती सैनिक पठाइएका हुन् ।
क्यामरुनको राजधानी याउन्डेमा आयोजित समारोहमा सम्बोधन गर्दै रक्षामन्त्री जोसेफ बेटी अस्सोमोले सिएआरमा शान्ति स्थापनाका लागि क्यामरुनका सैनिकले निर्वाह गर्न सक्ने भूमिकाका बारेमा निर्देशन दिए ।
मन्त्री अस्सोमोले वर्षौंदेखि युद्धमा होमिएको मध्यअफ्रिकी गणतन्त्रका तहसनहस भएका संस्थाहरुलाई सही ठाउँमा ल्याउन अत्यावश्यक रहेको चर्चा गर्दै क्यामरुनले अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम केही वर्षदेखि नियमित रुपमा सेना पठाइरहेको बताए ।
उनले मानव अधिकारलाई उच्च प्राथमिकता दिई निष्पक्षतापूर्वक सेवा गर्न सैनिक जवानहरु समक्ष आग्रह गरेका छन् । क्यामरुनको रक्षा मन्त्रालयका अनुसार पछिल्लो पटक ७५० जना सैनिक र ३५० जना कर्मचारी राष्ट्रसंघीय मिसनमा सहभागी हुँदैछन् ।
मध्यअफ्रिकी गणतन्त्रमा नागरिक सुरक्षाका निम्ति मिनुस्काको गठन सन् २०१४ मा भएको थियो । सशस्त्र समूह सेलेकाले हिंसात्मक द्वन्द्वका आधारमा मध्य अफ्रिकी गणतन्त्रको सत्ता हत्याएपछि सन् २०१३ यता हिंसात्मक द्वन्द्व शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्