Logo
Logo

सेनाले बनाएको ८६९ घर हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता


 बाराको परवानीपुर गाँउपालिका–४ चैनपुरमा हावाहुरी प्रभावितका लागि नेपाली सेनाले निर्माण गरेको घरको बुधबार स्थलगत अवलोकन गर्ने क्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल । 

वीरगञ्ज, १८ भदौं । हावाहुरी तथा चक्रवातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ ।
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार आयोजित एक कार्यक्रममा बारा पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई घर हस्तान्तरण गरे ।
जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले निर्माण गरेका घरहरु हस्तान्तरण गरिएको हो । गत वर्ष चैत १७ गते साँझ आएको उक्त चक्रवातबाट २७ जनाको मृत्यु हुनका साथै अर्बाै मूल्य बराबरको धनमाल क्षति भएको थियो ।
सरकारले चैत २१ गते क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । नेपाली सेनाको २८ नं बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माणकार्य पूरा गरेको हो । बारा र पर्साका विभिन्न स्थानीय तहमा निर्माण गरिएको जनता आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत नेपाली सेनाले ८६९ घर निर्माण गरेको हो ।
मूल्य अभिवृद्धिकरसहित प्रतिघर रु चार लाख ९४ हजार अठासी रुपैया लागत रहेको उक्त आवास निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएको थियो । उक्त आवास निर्माण कार्यमा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैरसैनिक परिचालन गरिएको थियो ।
उक्त क्षेत्रको पुनःनिर्माण, पुनःस्थापना, सहजीकरण र समन्वय गर्न गठित समितिले साउनको अन्तिम साता जिम्मेवारी पूरा गर्ने लक्ष्य लिएकोमा तराई–मधेशमा आएको बाढी र डुबानका कारण केही दिन निर्माणकार्य स्थगित गर्नुपरेको थियो ।

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रदेश नं ४ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी स्थानीय जनजनप्रतिधिको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्