Logo
Logo

सम्भव होला वैचारिक ध्रुविकरण ?



आमनिर्वाचनको परिणाम लगभग आइसकेको छ । पछिल्लो परिणामअनुसार सत्तारूढ गठबन्धनलाई २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि चाहिने १३८ को जादुगरी संख्याभन्दा केही बढी नै सिट मिलेको छ ।

यसपटकको चुनावमा मुलतः दुई ठूला गठबन्धनबीच नै राष्ट्रव्यापी प्रतिस्पर्धा भयो । काठमाडौँ, चितवन लगायत केही प्रमुख शहरमा राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासित जित निकालेर यथास्थितिको तलाउमा तरङ्ग ल्याउने काम गर्याे । पश्चिम मधेसमा नागरिक उन्मुक्ति पार्टी र पूर्वी मधेसमा जनमत पार्टी पनि काठमाडौंले अनुभूत गर्ने गरी नै देखिए । राप्रपा केही ठाउँमा आफैं जाग्यो, केही ठाउँमा केपी शर्मा ओलीले जगाए र राष्ट्रिय पार्टी बन्यो ।

सत्तारूढ गठबन्धनका लागि यो परिणाम सोचेजस्तो होइन, एक किसिमले अप्रत्यासित नै हो । केही समयअघि सम्पन्न स्थानीय निर्वाचनको अंकगणितका आधारमा यो गठबन्धन मोटो थियो र त्यही आधारमा निर्वाचनको परिणाम पनि आकलन गरिएको थियो । तर, आमनिर्वाचनको परिणामले त्यस्तो देखाएन, सत्तारूढ गठबन्धन धेरै ख्याउटे आकारमा देखियो ।

यसको फाइदा प्रतिपक्षी गठबन्धनले उठायो । त्यसको सबैभन्दा ठूलो घटक एमाले थियो, उसले नै भरपुर फाइदा उठायो । एमालेका कारण केही फाइदा राप्रपाले उठायो । तर, यो गठबन्धनको अर्को दल जनता समाजवादी पार्टी भने अप्रत्यासित घाटा ब्यहोर्न बाध्य भयो । यसको अर्को कारण जनता समाजवादी पार्टीको प्रभाव क्षेत्रमा जनमत पार्टीको प्रवेश पनि थियो । त्यसको ज्वलन्त उदाहरण हो, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पराजय । उनलाई जनमत पार्टीका सिके राउतले किनारा लगाइदिए ।

आमनिर्वाचनको परिणामले दिएको सबैभन्दा ठूलो सन्देश नेपालमा वैचारिक धरातलबिनाको चुनावपूर्वको गठबन्धन सही हुँदैन भन्ने हो । यसलाई असफल बनाउने श्रेय नेपाली कांग्रेस पार्टीभित्र अल्पमतमा रहेका अनेक गुट र ती गुटमा आवद्ध परम्परागत कांग्रेसी मतदातालाई जान्छ ।

यसपटक कांग्रेसीहरूले अन्तरघात गरे । अर्को गुटको उम्मेदवारलाई त मतदान गरेनन् भने अर्को दलको उम्मेदवारलाई मतदान गर्ने त कुरै भएन । त्यसको असर कांग्रेसको समानुपतिकतर्फको मतमा समेत पर्यो । प्रत्यक्षमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस समानुपातिकमा एमालेभन्दा पछि पर्यो ।

आमनिर्वाचनले ओली र उनको ‘बा’मालेलाई पनि राम्रै धक्का दिएको जस्तो देखियो । तर, यथार्थमा त्यस्तो होइन, यो एक किसिमको भाष्य बनाउन मात्र खोजिएको हो । यथार्थमा ओलीले अपेक्षा गरेभन्दा गतिलो परिणाम पाए यसपटक । सत्तारूढ गठबन्धनमा कांग्रेस इमान्दार नहुँदा ओलीलाई मिलेको पुरस्कार हो यो । यस अतिरिक्त यो परिणाम ल्याउन उनको सक्रियता, वाकपटुता र छलकपटले पनि काम गर्यो ।

यो जितसँग ओलीले एमालेलाई उठ्नै नसक्ने गरी वैचारिक स्खलन गराए । नेपालको वाम आन्दोलनलाई छिन्नभिन्न, थिलथिलो बनाए । देशलाई चाहिएको वैचारिक दुईदलीय ध्रुवीकरणको बाटो नै मोडेर अरू केही मौसमी दलहरूको खेती गराए । यसको मूल्य समय क्रममा सबैले तिर्नैपर्छ । दुःखको कुरा देशले पनि तिर्नुपर्ने भयो ।

ओलीकै कुमतिका कारण मुलुकले कम्तीमा अर्को पाँच वर्ष रवि लामिछाने र ज्ञानबहादुर शाहीहरू झेल्नुपर्ने भयो । संसद् अत्यन्तै त्रिशंकु भयो । यसले आउँदो पाँच वर्ष नेपालको संसदीय व्यवस्था नै थेग्छ कि थेग्दैन भन्नुपर्ने अवस्था सिर्जना गरिदियो ।

रवि लामिछानेको चर्चा
अहिले मुलुकमा रवि लामिछाने, घण्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको उधुम चर्चा छ । नेपालका मूलधारका मिडिया र तथाकथित राजनीतिक विश्लेषकहरूले यो विषयलाई चाहिनेभन्दा धेरै नै महत्व दिए । सामाजिक सञ्जालको त कुरै भएन, यसैको खेतीपाती भयो ।

तर, सत्य के हो भने रवि लामिछाने, घण्टी र राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिक्रियाका पुरिया मात्र हुन् । मौजुदा मुलधारे राजनीतिक पार्टी र नेताहरूले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको क्रियाका प्रतिक्रिया । यिनीहरू देशका भविष्य हैनन् ।

रवि त यसै पनि अनेक प्रश्नहरूको घेरामा छन् । नैतिक, चारित्रिक, कानुनीलगायतका अनेक प्रश्नहरू । उनी यी प्रश्नहरूको उत्तर दिँदादिँदै हैरान हुन्छन् र सम्भवतः कानुनको लामो हातले उनलाई जेलको चिसो छिँडीमा पुर्याउन पनि सक्छ ।

जनतासँग सिधा कुराको राप र ताप दुवै सकिएपछि उनका बोलीहरू गफ हुन्छन् । सामाजिक सञ्जालका साइबर सेनाहरूको असभ्य र फोहोरी गालीगलौजमा पनि गन्हाउने फिँज आउन थाल्छ ।

अब रवि लामिछाने संसद् चलेका बेला मात्र बोल्ने अवस्थामा पुगेका छन् । हिजोजस्तो हिट हुनका लागि जे पायो त्यही बोल्ने ठाउँमा होइन, अब सुन्ने र जवाफ दिने ठाउँमा पुगेका छन् । अब उनी बोल्ने भनेको संसद् चलेको बेला कुनै विशेष समय लिएर वा शून्य समयमा मात्र हो ।

एक जना आवाजविहीनको आवाज बनेको मान्छे संसद्मा गएर थन्किनु भनेको धुर्मुस र सुन्तलीले क्रिकेट रंगशाला बनाउने भनेर कलाकारिता नै सखाप पारेजस्तै हो । एक किसिमले रविले पनि त्यही मार्गमा लगेर आफ्नो सञ्चारकर्म सके । यसबाट न रविको भलो हुन्छ न नेपाली आवाजविहीनहरूको । नेपाली आवाजविहीनहरूले त एउटा भरपर्दो आवाज बनेका रविलाई गुमाएका छन् ।

रह्यो घण्टीको कुरा, यो एक किसिमको सरोगेट चुनाव चिह्न हो । यसमा उम्मेदवारी दिने धेरैजसो रविको पार्टीका चौवन्नी सदस्य पनि छैनन् । कति लौरो चुनाव चिह्न नपाएर घण्टीमा गएका छन् । कति कुनै पार्टीले उम्मेदवारी नदिएपछि घण्टीको रालो समाउन पुगेका छन् । ती सत्रथरिका महत्वाकांक्षी मानिसहरू आफैँलाई सांसद भएको हो कि होइन भनेर चिमोट्दै संसद् भवनमा पुग्नेछन् । पार्टी नै बनेको छैन । न पार्टीसँग वैचारिक दृष्टिकोण छ, न अल्पकालीन, दीर्घकालीन कार्यक्रम छ । यसरी विभिन्न व्यक्तिको सरोगेट चुनावचिह्नको गठबन्धन हो यो ।

जनमत पार्टीको उदय
यही क्रममा तराईको क्षेत्रीय र जातीय कुरा उठाएर पूर्वी तराईमा जनमत पार्टी र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टी पनि जन्मे । यिनीहरू प्राविधिकरूपमा राष्ट्रिय पार्टी होलान् तर कहिलै पनि सबै जात, धर्म, वर्ण, भूगोल र क्षेत्रको पार्टी बन्न सक्दैनन् ।

प्रस्तुत पृष्ठभूमिले नेपालको भविष्य फेरि एकपटक प्रश्नचिह्नमुनि राखेको छ । यसको उत्तर भनेको वैचारिक धरातलमा उभिएका सके दुई दल, नसके दुई गठबन्धन बनाएर मुलुकलाई दुई दलीय ध्रुवीकरणमा लैजानु नै हो । यो मात्रै उत्तर होइन, तर यही प्रस्थान विन्दुबाट मुलुकले सही उत्तर पाउन थाल्छ ।

त्यसको प्रारम्भ गर्न सबैभन्दा पहिला पार्टीको मूल नेतृत्वले अब विचारको आधारमा ध्रुवीकरण गरेर मार्गप्रशस्त गर्नुपर्छ । त्यसका लागि कांग्रेसले दक्षिणपन्थी शक्तिहरूको नेतृत्व गर्दै राप्रपा, रास्वपा, लोसपा, जनमतजस्ता पार्टी र त्यही धारको विचार बोक्ने स्वतन्त्र सांसदहरूलाई समेत समेटेर गठबन्धन बनाउनुपर्छ ।

त्यसैगरी आफूलाई वामपन्थी पार्टी भन्ने वा त्यही पृष्ठभूमि भएका पार्टीहरूले वामपन्थी गठबन्धन बनाउनु पर्छ । त्यो गठबन्धनमा नेकपा एमाले, माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, नेमकिपा, नागरिक उन्मुक्ति पार्टी र त्यही पृष्ठभूमिका स्वतन्त्र सांसद समावेश हुनुपर्छ ।

यसो भयो भने मुलुक दुईदलीय ध्रुवीकरणमा जान्छ भन्ने दृष्टिकोण पनि छ । अहिलेलाई जुन गठबन्धनको बहुमत पुग्छ, उसले सरकार बनाउनुपर्छ । सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा त्यस गठबन्धनका लागि मान्य हुने यसअघि प्रधानमन्त्री नभएको व्यक्तिलाई अगाडि सार्न सकिन्छ । त्यस्तो व्यक्ति अझ युवा पनि भयो र बेदाग पनि भयो भने त सुनमा सुगन्ध हुन्छ र अहिले उठेको प्रतिक्रियाको धेरै हदसम्म सम्बोधन पनि हुन्छ ।

यसको सुरूवात वामपन्थी दलहरूले गर्न आवश्यक छ । अहिलेलाई पार्टी एकीकरण गर्नेतिर लाग्यो भने फेरि त्यो पहिलेकै अवस्थामा पुग्छ । त्यसैले अहिलेका लागि मोर्चा बनाएरै अगाडि बढ्नु श्रेयस्कर हुन्छ । यसरी वामपन्थीहरूले मोर्चा बनाउनेबित्तिकै कांग्रेस पनि प्रजातान्त्रिक नाम दिएर दक्षिणपन्थी मोर्चा बनाउन बाध्य हुन्छ । अनि, बीचका दल पनि गठबन्धनमा जान बाध्य हुन्छन् ।

यसो भयो भने मुलुक सही बाटोमा निस्कन्छ, सही बाटोमा निस्केपछि त्यसले विस्तारै गति पनि समात्छ । अनि, हुन्छ समृद्ध नेपाल, बन्छन् सुखी नेपाली । यसका लागि सबै मिडिया र विचार निर्माताहरूले योगदान गरौं । त्यसो गरियो भने आमसञ्चारको काम पनि फत्ते हुन्छ । अहिलेका लागि मात्र होइन, सधैँका लागि मुलुकलाई चाहिएको पनि यही हो ।

प्रतिक्रिया दिनुहोस्