Logo
Logo

नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न, उद्यम गर्ने र उद्योगी बन्नेलाई सहयोग गरिने


315
Shares

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको हो ।

बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो । सोही अवसरमा बैंकले उक्त कार्यक्रमको दोस्रो ब्याचका लागि छनोट भएका २० जनालाई पनि स्वागत गरेको छ ।

बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल फोर सोसल आन्टरप्रेनर्स इन्डियाको प्राविधिक सहयोगमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत वर्षदेखि यो कार्यक्रम सञ्चलनमा ल्याएको हो ।

यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुआत गर्न सक्षम बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार बैंकले पहिलो ब्याचमा विभिन्न क्षेत्रमा नवीनतम सोच भएका २० जनालाई छनोट गरेको थियो । तर, १८ जनाले मात्रै उक्त कार्यक्रमलाई पूर्णता दिएका थिए । जसमध्ये १३ जनाले आफ्नो व्यवसायलाई सञ्चालन गरी सेवा र सामाग्री बजारमा प्रवेश गरिसकेका छन् । कार्यक्रममा सहभागीहरूले आफ्ना प्रडक्टहरूको स्टलमा प्रदर्शनी गरेका थिए ।

कार्यक्रममा नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले सहभागीको प्रडक्ट र सेवा देख्दा धेरै खुसी लागेको बताए । बैंकको उद्यमी बनाउने उद्देश्यमा १८ जना सहभागीले उद्यमशीलताको दियोका रूपमा काम गर्ने उनले बताए । ‘यो नै नबिलले समाजमा ल्याएको सकारात्मक परिवर्तनको सुरुवात हो’, उनले भने ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्रा डा डिन डिल्लीराज शर्माले कार्यक्रममा बोल्दै नबिल एसएसईमा सहभागीहरू समाज परिवर्तनका एजेन्ट रहेको बताए । पहिले आफू सामाजिक अभियन्ता मात्र भएको र नबिलको कार्यक्रममा जोडिएपछि आफूले उद्यमीको संज्ञा पाएको फेलोसिप कार्यक्रममा सहभागी भएकी दीक्षा पौडेल बताइन् । धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै उनले भनिन्, ‘मलाई उद्यमशीलताको बारेमा केही थाहा थिएन र म बिजनेस ब्याकग्राउन्डको विद्यार्थी पनि होइन । तर अहिले मलाई यो कार्यक्रमले आफ्नो प्रडक्ट लन्च गर्ने स्टेजमा पु¥याएको छ, अहिले ब्रान्डिङमा काम हुँदैछ’, उनले भनिन् ।

यस्तै इलामका यमबहादुर कार्की बैंकको फेलोसिप कार्यक्रमले आफूलाई अहिले उद्यमीको पहिचान दिएको महसुस गरेको बताउँछन् । ‘हाम्रो समाजमा धेरै समस्या छन्, युवापुस्ता दिनदिनै बिदेसिनु परिरहेको छ । गाउँमै कफी खेतीका माध्यमबाट गाउँमा रोजगारी सिर्जना गरी आर्थिक गतिविधि बढाउने निर्णय गरेँ’, कार्कीले भने ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले उद्यमी पैदा गर्ने आफूहरूको उद्देश्य रहेकाले यो अभियानलाई साकार पार्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले यस्ता तालिमले नेपाली युवालाई उद्यमीको पथदर्शन गराउने र लाखौँको संख्यामा बाहिरिँदै गरेका नेपाली युवालाई नेपालमा रहेका सम्भावना र अवसरको जानकारी दिने बताए ।

सोही अवसरमा दोस्रो चरणको फेलोसिप कार्यक्रम सञ्चालनका लागि नबिल बैंक र त्रिविबीच फेरि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सिइओ ज्ञानेन्द्र ढुंगाना र उपाध्यक्ष निर्वाण चौधरी तथा त्रिविका तर्फबाट उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा र प्राडा डिन डिल्लीराज शर्माले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बैंकका उपाध्यक्ष चौधरीले नबिल बैंक उद्यम र उद्यमी बन्न चाहनेहरुको लागि सहयोग गर्न तत्पर रहेको बताए । उनले भने, ‘उद्यमी बन्न सजिलो त छैन तर नबिलले तपाईँहरुलाई उद्यम बन्न हरेक तवरले सहयोग गर्नेछ ।’ कार्यक्रममा पहिलो चरणमा सहभागी भएकाहरूलाई उपाध्यक्ष चौधरी र प्राडा बाँस्कोटाले प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्