Logo
Logo

म्याच फिक्सिङ सिआइबीमै हरायो



काठमाडौं । नेपाल टी–२० लिग चलिरहँदा गत साता समाचार आए–म्याच फिक्सिङ भएको सिआइबीको निष्कर्ष । सिआइबीका अधिकारीहरूले सो क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ तथा स्पोट फिक्सिङ भएको बताएका थिए ।

विगत तीन सातादेखि सिआइबीले यसमा अनुसन्धान गरिरहेको छ । तर, उसले कसैलाई पनि पक्राउ गर्न सकेको छैन । किनकि, फिक्सिङ भएको प्रमाण उसले अझै भेट्टाउन सकेको छैन ।

प्रमाण नभेटाए पनि सिआइबी अधिकारीहरूले फिक्सिङ भएको निष्कर्ष निकालेर मिडियामा प्रचार गरेका थिए । त्यतीमात्र होइन विभिन्न खेलाडीहरूको नामसहित नै उनीहरूमाथि उच्च निगरानी गरिएकोसमेत सार्वजनिक ग¥यो ।

नेपाल प्रहरीको बिशिष्टकृत अनुसन्धान निकाय सिआइबीले यसरी अनुसन्धान भन्दा धेरै प्रचार गरेको देखेर प्रहरी अधिकारीले नै अनौठो मानेका छन् । जसकारण सही नियतले सिआइबीले अनुसन्धान गरेकोमा आशंका व्यक्त गरिएको छ ।

सिआइबीले यो घटनामा दुई दर्जन व्यक्तिसँग त्यसबारे कागजसमेत गरेको छ । तर, अहिलेसम्म अनुसन्धान अलमलमै छ । अनुसन्धानमा सिआइबीको नियत वा क्षमता कमजोर भएको भन्ने खुल्न सकेको छैन ।

तर, अनुसन्धानमै रहेको विषयलाई बढी प्रचार गरेर यो प्रकरणमा सिआइबीले आफ्नो छवी भने गुमाएको छ । अर्काेतर्फ विभिन्न खेलाडीलाई म्याच फिक्सरका रुपमा हचुवाकै भरमा प्रचार गरिएको छ ।

यो लिग सुरुदेखि नै विवादित थियो । नेपाल क्रिकेट संघले बिना प्रतिस्पर्धा भारतीय कम्पनी सेभेन थ्रि स्पोर्सलाई लिग आयोजना गर्ने जिम्मा दिएको थियो । त्यसैमा नीतिगत भ्रष्टाचार भएको थियो ।

सो भारतीय कम्पनी यसअघि पनि बेटिङमा मुछिएको थियो । उसले बेटिङ कम्पनी वान एक्सबेटलाई नै लिगको प्रमुख प्रायोजक बनाउन पनि क्यानले अनुमति दिएको थियो । अर्काेतर्फ लाइभ गर्ने जिम्मा फ्यानकोडलाई दिइएको थियो, त्यो कम्पनी पनि बेटिङकै कारण बदनाम छ ।

तर, आफुहरूमाथि छानबिन हुन सक्ने भएकाले निकै गोप्य तरिकाले उनीहरूले फिक्सिङको योजना बनाएको स्रोत बताउँछ । यसमा क्यानका पदाधिकारी जानकार नहुने कुरै भएन । तर, सिआइबीले पनि सतही अनुसन्धान गरेर उन्मुक्ति दिने प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्