Logo
Logo

रवि लामिछानेलाई कोरियनको चुनौती



काठमाडौं । नेपालमा धर्मप्रचारको धन्दा कुन तहमा बढेको छ भन्ने कुरा हालै अन्तर्राष्ट्रिय मिडिया बीबीसीले बाहिर ल्याएको छ । विदेशी नागरिकहरू विभिन्न आवरणमा बसेर खुलेआम रुपमा इसाई (क्रिश्चियन) धर्मप्रचार गर्दै आएको बीबीसीको दाबी छ ।

रिपोर्टमा कोरियन नागरिक लगायतले आफुहरू नेपालमा २० वर्षदेखि बसेर धर्मप्रचार गर्दै आएको बताएका छन् । नेपालमा धर्मपरिवर्तन गराउने कामलाई कानुनले अपराध भनेको छ । तर, यसरी खुलेआम प्रचार गराउने विदेशीमाथि गृह मन्त्रालयले एक्सन लिन सकेको छैन । कोरियन नागरिकहरू पाङ्ग चाङ–इन् र ली जियोङ्ग–ही २० वर्षदेखि नेपालमा बसेर क्रिश्चियन धर्म प्रचार गर्दै आएका हुन् । विद्यालयको आवरणमा उनीहरूले क्रिश्चियन धर्म प्रचार गर्दै आएका छन् ।
खासगरी दलित र तामाङ समुदायलाई लक्षित गरी आफुहरूले धर्म परिवर्तन गर्दै आएको उनीहरूको दाबी छ । धर्म परिवर्तन गराउनेहरू विगतमा पक्राउ परेपनि अदालतले कसैलाई पनि दोषी ठहर नगरेकाले पनि आफुहरूको हौसला बढेको उनीहरूले बताएका छन् ।

नेपालमा विदेशी नागरिकहरू व्यापार तथा विद्यार्थीको आवरणमा धर्मप्रचारमा संलग्न रहेको पहिलेदेखि नै खुल्दै आएको छ । तर, नियमन र कारबाही बलियो हुन नसक्दा यस्तो प्रवृत्ति रोकिएको छैन ।

सानो व्यापारको लागि अनुमति लिने र अवैध रुपमा विदेशबाट पैसा ल्याएर धर्मप्रचारमा लगाउने प्रवृत्ति बढिरहेको छ । कतिपय नेपालमा विद्यार्थी भिसामा बसेर यस्तो धन्दा गरिरहेका छन् । अध्यागमन विभागको एक अध्ययनले म्यारिज भिसामा समेत यस्तो धन्दा चलेको देखाउँछ ।

उनीहरूमाथि कारबाही गर्ने प्रमुख निकाय अध्यागमन विभाग नै हो । तर, विभागकै कतिपय कर्मचारीको यस्तो गिरोहसँग मिलेमतो हुने गरेको छ । सोही कारण विभागमा धर्म प्रचार गर्नेविरुद्ध उजुरी परेपनि नदेखेजस्तो गर्दै आएका छन् ।

अध्यागमन विभाग गृह मन्त्रालय मातहतमा पर्छ । यसरी विदेशीहरूले नेपालमा वर्षाैदेखि बसेर धर्मप्रचार गरिरहेको बाहिरिदा पनि गृहमन्त्री रवि लामिछाने यसमा अझै चासो दिएका छैनन् । विभिन्न आवरणमा बसेर नेपालमा धर्मप्रचार गर्ने विदेशीलाई कारबाही गर्न सक्छन् कि सक्दैनन् उनको लागि चुनौतीको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्