काठमाडौं । डलरकाण्डले अमेरिकास्थित नेपाली राजदूत श्रीधर खत्री र केही कर्मचारीहरूको जागिर संकटमा परेको छ । पासपोर्ट तथा एनआरएन कार्ड नवीकरणका लागि उठाएको दुई लाख १८ हजार डलर चोरी भएपछि नेपाली दूतावासविरुद्ध अमेरिकाका नेपालीहरूले आक्रोश व्यक्त गरेका छन् ।

घटना ठिक एक महिना अगाडिको हो । वासिङटन डिसीस्थित नेपाली दूतावासका तीन कर्मचारी घुम्ती शिवीर सेवाका लागि टेक्सास राज्यको प्रमुख सहरहरू ड्यालस, अष्टिन र ह्यास्टन पुगेका थिए । टेक्सास अमेरिकामा नेपालीहरूको धेरै बसोबास भएको राज्य हो ।
जुन शिविरमा ९ सय २८ जनाले सेवा लिएका थिए । उनीहरूले पासपोर्ट नवीकरण तथा एनआरएन परिचयपत्र नवीकरणका लागि दुई लाख १८ हजार अमेरिकी डलर(दुई करोड ८७ लाख नेपाली रुपैयाँ) बुझाएका थिए । पासपोर्ट नवीकरणका लागि एक सय ५० तथा एनआरएन परिचयपत्र नवीकरणका लागि पाँच सय २० डलर शुल्क लाग्छ । नगद नभई उनीहरूले मनी अर्डर क्यासिएर चेक दिएका थिए ।
शिविर सकिएपछि कर्मचारीहरू गाडीमा ती चेक राखेर ह्यास्टनको रेष्टुरेन्टमा छिरेका थिए । त्यही क्रममा गाडीको सिसा फुटाएर सबै चेकहरू चोरी भए । एक महिनासम्म पनि चोर पत्ता लाग्न सकेको छैन ।
यता, पासपोर्ट र एनआरएन परिचयपत्र नवीकरणका लागि आवेदन दिएका नेपालीहरूलाई भने दुतावासबाट फोन गरेर दुःख दिन थालिएको छ । कतिपयलाई दुतावासमै आउन भनिएको छ । दुतावासका कर्मचारीले गरेको गल्तीले अमेरिकाका नेपालीले हैरानी खेपेका छन् । अझ फोन गर्दै हप्काउने समेतको काम दुतावासका कर्मचारीबाट भएको भन्दै अमेरिकामा नेपालीहरू आक्रोश व्यक्त गरिरहेका छन् ।
मोटो रकमको चेक सुरक्षामा ध्यान नदिँदा चोरी भएको थियो । चेकको सुरक्षाका लागि उनीहरूले कुनै सावधानी अपनाएका थिएनन् । कतिसम्म भने चेक राख्ने झोलासमेत एनआरएनका प्रतिनिधिले किनेर दिनुपरेको थियो ।
यो घटनाले नेपाली दुतावासमाथि गम्भीर दबाब परेको छ । दुतावास मात्र होइन, परराष्ट्र मन्त्रालयमाथि नै प्रश्न उठेको छ । परराष्ट्रका कर्मचारीहरू आफुलाई निकै स्मार्ट ठान्छन्, तर, कार्यशैली भने हुलाकका कर्मचारीको भन्दा तल्लो स्तरको छ । त्यसरी शिविरमा गएका तीन कर्मचारीलाई फिर्ता बोलाउनुपर्ने माग परराष्ट्रमा उठ्न थालेको छ ।
साथै, राजदूत खत्री पद पनि धरापमा परेको छ । उनी नेपाली कांग्रेसको कोटामा अमेरिकाको राजदुत भएका हुन् । कांग्रेस पनि सरकारबाट हटिसकेको र कार्यशैली पनि विवादमा परेपछि खत्रीलाई हटाउने सम्भावना बढेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ ।











