Logo
Logo

काठमाडौंमा मनाइयो गणतन्त्र चीनको स्थापना दिवश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० असोज । राजधानीमा पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइएको छ । चाइना कल्चर सेन्टर काठमाडौंले बिहीबार एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै ७०औँ वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाली नागरिकको तर्फबाट जनवादी गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरे । नयाँ चीन स्थापना भएपछि गरिबी निवारणमा पाएको सफलता र अनुभव नेपालले पनि अवलम्बन गर्नुपर्ने उनले बताए । चीनको हुनान प्रान्त प्राचीन कला, संस्कृति र सभ्यतासँगै आधुनिक विकासमा अघि बढेकोले नेपालजस्तो बहुसाँस्कृतिक देशले यो अनुशरण गर्न योग्य रहेको उल्लेख गरे ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपालमै मनाइएको ७०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । चिनियाँ कलाकारहरु नेपाल आएर र नेपालका कलाकारहरु चीनमा गएर कला प्रदर्शन गर्दा दुई देशबीच सांस्कृतिक आदान प्रदानमा ठूलो योगदान पुगेको उनले बताइन् ।
सांस्कृतिक र प्राकृतिक रुपमा धनी रहेको हुनान प्रान्तका कलाकारहरु यहाँ आएर प्रदर्शन गर्दा सिंगो हुनान नेपाल आएको अनुभव भएको उनले बताइन् । जनगणतन्त्र चीन स्थापनाको वार्षिकोत्सवलगत्तै नेपालमा पनि महान चाड दशैं आउने भएकोले दुवै पर्वको अवसरमा उनले शुभकामना व्यक्त गरिन् ।


हुनान प्रान्तका संस्कृति तथा पर्यटन विभागका अन्वेषकख वेइमियाओले जनगणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा सम्पूर्ण नेपालीमा हुनानका नागरिकको तर्फबाट शुभकामना व्यक्त गरे । उनले नेपाल स्थित चिनियाँ साँस्कृतिक केन्द्रसँग मिलेर हुनान प्रान्तले संस्कृति आदान प्रदानका कार्यक्रम सुरु गरेको बताए ।
आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा चीनको हुनान प्रान्तको कला, संस्कृति, लोकवाजासहितको सांस्कृतिक प्रस्तुती देखाइएको थियो । हुनान सङ एण्ड डान्स थिएटर कम्पनी लिमिटेड र हुनानपपेट एण्ड स्याडो आर्ट प्रोटेक्सन एण्ड इनहेरिटेन्स सेन्टरकाकलाकारहरुले विभिन्न किसिमका नृत्य, वाद्यवादन, कला तथा खेलकुद प्रदर्शन गरेका थिए ।
चिउथा ओउ नामक कलाकारले ‘स्काई रोड’ चिनियाँ गीत र ‘तिरिरी मुरलीबज्यो’ नेपाली गीत गाउँदा दर्शकले हुटिङ गरेका थिए । यसैगरी ‘अल्टिमेट फुटबल’ नामक फुटबलको चामत्कारिक कला देखाउँदा र ‘फेस चेन्जिङ’कला देखाउँदादर्शक आश्चर्य चकित बनेका थिए । सो कार्यक्रमलाई हुनान पर्फर्मिङ आर्ट ग्रुपले आयोजना गरेको हो । कार्यक्रमलाई नेपालस्थित चाइना कल्चर सेन्टर र हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागले संयुक्त रुपमा प्रायोजन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्