Logo
Logo

जात्रा जिन्दगीको


- श्याम रिमाल


– श्याम रिमाल

यहाँ जात्राविना कोही बाँच्न सक्दैन

मानिसहरु जात्रा चलाएर जीवनको यात्रा चलाइरहन्छन्

र मृतक अनि प्रेतात्माहरु जगाइरहन्छन्

भुतले किसानको भोटो चोरेर लग्यो, भोटो लगाएको भुत भेटेपछि किसानले माग्यो, दिएन , प्रमाण माग्न राजाकहाँ गए, जसको प्रमाण छ लिएर आउनू, त्यही प्रमाण कसैसँग भए लिएर आउनू भनी भोटोजात्रा चलाइयो । इन्द्रले आमाको व्रतका लागि नेपालमण्डलको कसैको बारीमा पारिजात चोरे, समातिए, बाँधिए । ऐरावत हात्ती खोज्न आयो, ऊ पनि बाँधियो, आमा आइन् र कुहिरो अनि मानिसहरुलाई स्वर्ग लाने वाचा गरेर हिँडिन्, अनि इन्द्रजात्रा मनाइयो । गथामुङ्ग, गाईजात्रा, कुमारी रथयात्रा, घोडेजात्रा, सबैमा कथा, मिथक । कुनैमा इतिहास कुनैमा किंवदन्ती । दशैँतिहार पनि त्यस्तै । अरु के कुरा, ऐतिहासिक घटना भनिएको नेपाल संवत्समेत तान्त्रिक शक्तिले बालुवाबाट सुन निकालेर जनताको ऋणमोचन गराई प्रारम्भ भयो ।

श्याम रिमाल

एक सय २५ जातिका जात्रैजात्रा, चाडपर्व, नाचगान, मेलामहोत्सव कति हो कति । नेपालीले मान्ने नयाँ वर्ष नै १० वटा जति होला, विसं, नेपाल संवत्, सोनाम ल्होसार, तमु ल्होसार, ग्याल्बो ल्होसार, माघी वा मकर सकराती, हिजरी संवत्, गेगरियन संवत् । देवीदेवता वा भगवान् भनी मान्ने बुद्धजयन्ती, कृष्णाष्टमी, नौरथा, शिवरात्रि, रामनवमी, सीताजयन्ती, हनुमानजयन्ती, चैतेदशैँ, रक्षाबन्धन, पिता, पितृलाई तर्पण र पिण्ड दिइने कुशेऔँशी र सोह्रश्राद्ध, कीरा र पशुपक्षीलाई गरिने पूजा नागपञ्चमी, काग, कुकुर, गाई, गोरुपूजा, आफैँले आफैँलाई गरिने म्हपूजा, दिदीबहिनी र दाजुभाइको पूजा भाइपूजा वा भाइटीका, राखी, फागुपूर्णिमा । जिल्लैपिच्छे जात्रा कति कति । नागपञ्चमी भनेर नागको पूजा गर्नेले नागनागिना म¥यो भनी बिस्काजात्रा पनि चलाउँछन् । कहीँ नभएको जात्रा पनि चल्छ यहाँ । कतै जिब्रो छेड्ने जात्रा कतै पाठा डुबाउने जात्रा । कारागारबाट निक्लेको लाई अबीर जात्रा गर्ने चलनसँगै धामीधमिनीको सिन्दूरेजात्रा ।

गणेशयात्रा, राधाकृष्ण खटयात्रा, भीमसेन जात्रा, मूपात्र जात्रा, रोपाइँजात्रा, कतै यात्रा कतै जात्रा । त्रिशूल जात्रा, खड्ग साट्ने जात्रा । कोही बुझेर हिँड्छन् कोही नबुझेर लाग्छन् । जङ्गबहादुरको घोडा किन्न हिँड्नेले जङ्गेश्राद्ध गर्दैन । जात्रामै लठ्ठ भएका बेला युद्ध हारेको कान्तिपुर अझै जात्रामा मस्त छ । राज्य हारेको बिर्सिसक्यो उसले र इन्द्रलाई बाँधेजस्तो गरेर आठ दिनसम्म आफैँ बाँधिन्छ जात्रामय भएर । मरेपछि यमराजले पनि सोध्छन् रे, इन्द्रजात्रा हेरेको थिस् ? अनि नहेरी भो त ? मापसे नगरी जात्रा मनाएको स्वाद पनि हुन्न क्यारे । भोज नखाई कसरी जात्रा हुन्छ ? अइला ठोँ मरु सा जात्रा न मरु का । यँया पनि मापसे, घोडेजात्रा पनि मापसे । नेवार बिग्य्रो भोजले राणा बिग्य्रो मोजले रे । भोज नभए मोज कसरी हुन्छ ? जात्रापर्व, चाडबाड, नाचगान नहुँदो त मान्छे (नेपाली) के गर्दा हुन् ? जति पिर परे पनि जात्रा भएकाले नै यहाँ मान्छेले हाँस्न पाएको छ । इन्द्रजात्रामा काठमाडौँ आएका थिम्पुका मेयरले पनि सोधे रे, हैन यतिका मान्छे पनि हुन्छन् र जात्रामा ?

जात्रापर्वले कति काम रोकिएका छन्, कतिमा बाधामा पुगेका छन्, मान्छेलाई मतलब छैन । तरकारी र कवाडी व्यापार छाडेर मधेशको व्यापारी छठ, होली मनाउन मधेश नै पुग्छ । विश्वका विकसित भनिएका देशमा यतिका जात्रा होलान् त ? नाचगानमै भुलेर जीवन बिताउलान् त ? के हामी पछाडि परेको यस्तै जात्रामा अल्झेर हो त ? एउटा कर्मचारी अझै भन्छ, अझै बिदा पुगेन र सरकारलाई सराप्छ पनि बिदा काटेकामा । जीवन रमाइलैसँग पो बिताउनुपर्छ भन्ने दर्शन व्याप्त छ यहाँ । जीवन रोएर काम छैन, हाँसीखुशी गर्नुपर्छ, खानुपर्छ, नाच्नुपर्छ, हाँस्नुपर्छ । न तिनलाई माक्र्स बन्नु छ न बुद्ध । अँ त जीवन उत्सवमय पनि छ, भद्रगोल पनि छ । जीवनमा जात्रा छ, जात्रैजात्रा छ । हो त, जीवन जात्रा हो, शास्त्रमा लेख्न छुटेको मात्र हो ।

भुत, प्रेत, पिशाच र किचकन्नी

ख्या, डाकिनी र शाकिनी

शहरका जात्राभर नाचिरहन्छन् मानिसहरुसँगै

मानिस कतिबेला ख्याक बनिदिन्छ

देवता कतिबेला भुत बनिदिन्छ

भुत मान्छे बनिदिन्छ, मान्छे भुत होइदिन्छ

केही थाहा हुँदैन, पत्तै हुँदैन ।

[email protected]

प्रतिक्रिया दिनुहोस्